भगवती हाइड्रोपावरको २० प्रतिशत लाभांश प्रस्ताव, २५औं वार्षिक साधारणसभा कात्तिक २ गते
- BFIS News
- 2025 Sep 28 11:09

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BGWT) ले आव २०८१/८२ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको ६३औं सञ्चालक समितिको बैठकले असोज १० गते बसेर १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस सेयरको रकम ८ करोड ३२ लाख रुपैयाँ र नगद लाभांश ३ करोड ५६ लाख रुपैयाँ बराबर हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी ५९ करोड ४९ लाख रुपैयाँ रहेको छ ।
यस्तै, कम्पनीले कात्तिक २ गते २५औं वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको छ । सभा कास्की, पोखरास्थित अव्या क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
साधारणसभाले आव २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहित नाफा-नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण स्वीकृत गर्नेछ । सोही अवसरमा आव २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २१ गतेदेखि किताब बन्द (बुक क्लोजर) गर्ने निर्णय गरेको छ । त्यसअघि कायम रहेका सेयरधनीहरूले मात्र प्रस्तावित लाभांश पाउने र साधारणसभामा उपस्थित भई सहभागिता जनाउन सक्नेछन् । हाल कम्पनीको अन्तिम कारोबार मूल्य (LTP) ८७३ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया