सरकार निजी क्षेत्रको मनोबल बढाउन क्रियाशीलः अर्थमन्त्री खनाल, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सुरक्षामा गम्भीर ध्यानाकर्षण
- BFIS News
- 2025 Oct 07 07:23

काठमाडौं, असोज २१ – अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल उच्च राख्न वर्तमान सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालसँगको भेटका क्रममा मन्त्री खनालले उक्त धारणा व्यक्त गरेका हुन्।
उनले पुनर्निर्माणलाई प्राथमिकता दिँदै सरकारबाट राजस्व छुट, बैंकिङ सहुलियत तथा बीमा सम्बन्धी सहजीकरणका कार्यक्रमहरु सार्वजनिक गरिएको जानकारी गराएका छन्। साथै, भन्सार प्रणालीमा सन्दर्भ मूल्य हटाई अनलाइन डेटाबेस प्रणाली लागू गरिएको बताउँदै यसले बजारमा पारदर्शी कारोबारलाई प्रोत्साहन दिने विश्वास व्यक्त गरे।
निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारका पछिल्ला कदमहरूको प्रशंसा गर्दै नविन अनलाइन डेटाबेस प्रणालीलाई सदस्य र व्यवसायीहरूले सदुपयोग गर्न आग्रह गरेका छन्। असोज ९ गते अर्थमन्त्री खनालद्वारा उद्घाटन गरिएको सो प्रणालीले प्रत्येक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाको विषयमा व्यापारीका गुनासाहरू समाधान गर्ने अपेक्षा गरिएको छ।
सरकारले लागू गरेको नयाँ भन्सार डेटाबेस प्रणाली अन्तर्गत जाँचपास भएका सबै वस्तुको मूल्य विवरण डिजिटल रूपमा संकलन गरिनेछ, जसले विश्लेषण तथा मूल्य पहिचानमा सहयोग पुर्याउने छ।
भेटका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले हालका युवाहरुको आन्दोलनमा भएको घुसपैठ र त्यसबाट उद्यमीमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै, अर्थतन्त्रको ८१ र रोजगारीको ८६ प्रतिशत हिस्सा ओगटेको निजी क्षेत्रमाथि यस्ता गतिविधिले नकारात्मक असर पारिरहेको बताए। घुसपैठ, लुटपाट र आगजनीमा संलग्नमाथि तत्काल कानुनी कारबाही नहुँदा निजी क्षेत्र थप निरुत्साहित हुने भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए।
उनीहरूले निजी क्षेत्र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सिद्धान्तमा अडिग रहेको जनाउँदै, सरकारले उद्यमी व्यवसायीलाई सुरक्षित र निर्बाध वातावरण उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए। साथै, निजी क्षेत्रका मागहरू सरकारद्वारा सकेसम्म तत्काल सम्बोधन भइरहेको अवस्थामा उद्यमी व्यवसायीहरूले पनि व्यावसायिक आचारसंहिताको पूर्ण पालना गर्दै इमान्दारितापूर्वक व्यवसाय गर्नुपर्नेमा जोड दिए।
भेटमा नेताहरुले वर्तमान सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने यो उपयुक्त अवसर भएको भन्दै, लगानी र स्रोत परिचालनका लागि निजी क्षेत्रको अगुवाइमा बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्नुपर्ने सुझाब दिए। साथै, निर्वाचनमार्फत खुला बजार र लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन सकिने भएकाले समयमा नै निर्वाचन सम्पन्न गर्न निजी क्षेत्र पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको जानकारी पनि दिएका छन्।
प्रतिक्रिया