NIMB Header 2
Nepal Life

पुँजी बजार संकट समाधानका लागि गभर्नरसँग लगानीकर्ता संघहरूको गम्भीर छलफल

Citizen Life
  • BFIS News
  • 2025 Oct 08 19:44
पुँजी बजार संकट समाधानका लागि गभर्नरसँग लगानीकर्ता संघहरूको गम्भीर छलफल
National Life

काठमाडौँ, असोज २२ — पुँजी बजारको स्थायित्व, सुधार र दीर्घकालीन विकासका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग आज विभिन्न लगानीकर्ता संघ–संस्थाका प्रतिनिधिहरूबीच सकारात्मक छलफल सम्पन्न भएको छ।

NIMB

छलफलमा नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जि.सी. तथा नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेल लगायतको उपस्थिति रहेको थियो।

बैठकमा गभर्नर पौडेलले वर्तमान आर्थिक परिवेशमा सबै पक्ष मिलेर जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, सेयर बजारमाथि राजनीतिक तथा सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्ने भएकाले सतर्क र सकारात्मक पहल आवश्यक रहेको बताए।

लगानीकर्ताहरूका प्रतिनिधिहरूले गभर्नरको विचारप्रति समर्थन जनाउँदै, बजारमा आत्मविश्वास फर्काउन र लगानीकर्ताको संरक्षण तथा प्रोत्साहन गर्न नियामक निकायको जिम्मेवार भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए।

छलफलमा सहभागी प्रतिनिधिहरूले बजार सुधारका लागि तत्काल लागू गर्नुपर्ने निम्न सुझावहरू प्रस्तुत गरेका छन्:

१. शेयर धितो कर्जामा सहजीकरण: शेयर धितो कर्जाको मार्जिन ८०/२० कायम गरिनु पर्ने र व्यक्तिगत तथा संस्थागत लगानीकर्तामाथि लागु गरिएको २५ करोडको सीमा पूर्णरूपमा हटाइनु पर्ने।

२. लघुवित्तको लाभांश वितरणमा सहजता: लघुवित्त वित्तीय संस्थाहरूले दिने लाभांशमा तोकिएको सीमा पूर्णरूपमा हटाइनु पर्ने।

३. ब्याज भुक्तानीमा राहत: हालको चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै ब्याज भुक्तानीको अवधि थप गर्नुपर्ने र उक्त अवधिभित्र तिर्दा जरिवाना नलाग्ने व्यवस्था मिलाइनु पर्ने।

४. संस्थागत लगानीकर्ताको सक्रियता: नागरिक लगानी कोष, सञ्चय कोष, बीमा कम्पनीहरू तथा सामाजिक सुरक्षा कोष जस्ता संस्थागत लगानीकर्ताहरूले आफ्ना लगानीयोग्य पुँजीको एक निश्चित हिस्सा सेयर बजारमा अनिवार्य रूपमा लगानी गर्नुपर्ने व्यवस्था गरिनु पर्ने।

५. बजारको पहुँच विस्तार: बैंक तथा वित्तीय संस्था र गैरआवासीय नेपाली (NRN) हरूलाई दोस्रो बजारमा सहज र बिना शर्त पहुँच सुनिश्चित गरिनु पर्ने।

गभर्नर डा. पौडेलले लगानीकर्ताहरूका सुझावहरूलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै, राष्ट्र बैंक पुँजी बजारको सुधार र दीर्घकालीन स्थायित्वका पक्षमा सकारात्मक रूपमा क्रियाशील रहेको स्पष्ट पारे।

छलफलले नियामक निकाय र लगानीकर्ताबीच विश्वास र सहकार्यको नयाँ सम्भावना जन्माएको भन्दै सहभागीहरूले आशावाद व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया