NIMB Header 2
Nepal Life

बोनस शेयरमा कर तिर्नुपर्ने झन्झटको अन्त्य, अब कम्पनीले नै तिर्ने व्यवस्था हुने

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 14 13:52
बोनस शेयरमा कर तिर्नुपर्ने झन्झटको अन्त्य, अब कम्पनीले नै तिर्ने व्यवस्था हुने
Everest Bank

काठमाडौं । लगानीकर्ताका लागि बोनस शेयर प्राप्त गर्ने प्रक्रिया अब सरल हुने भएको छ। नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले बोनस शेयर पाउँदा कर प्रयोजनका लागि छुट्टै रकम तिर्नु नपर्ने व्यवस्था गर्ने तयारी गरेको छ।

Shikhar
NIMB

बोर्डका अनुसार अब सूचीकृत संगठित संस्थाले लगानीकर्तालाई बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्नेछ। यसका लागि बोर्डले निकट भविष्यमै आधिकारिक निर्देशन जारी गर्ने तयारी गरेको छ।

अघिल्ला वर्षहरूमा धेरै कम्पनीहरूले बोनस शेयर पारित गर्दा कर प्रयोजनका लागि रकम लगानीकर्ता आफैंले तिर्नुपर्ने व्यवस्था गर्दै आएका थिए। यसले साना लगानीकर्तालाई झन्झटपूर्ण स्थिति सिर्जना गरेको थियो। १० वा २० कित्ता मात्रै शेयर हुने लगानीकर्ताले ५ वा १० प्रतिशत बोनस शेयर पाउँदा करका लागि एक दुई रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता थियो। त्यस्तो सानो रकम बुझाउन पनि कम्पनीमा पुग्नु पर्ने हुँदा लगानीकर्ताले समय र श्रम दुवै गुमाइरहेका थिए।

पुँजी बजार सुधार सुझाव कार्यदलले लगानीकर्ताको सुझावलाई आधार मानेर सरकारले यो व्यवस्था सुधार गर्नुपर्ने सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार अब बोनस शेयर वितरणका क्रममा कर रकम कम्पनीले नै मिलाएर तिर्नुपर्ने व्यवस्था लागू हुने भएको छ।

बोर्डले जनाएको छ, “अब लगानीकर्ताले बोनस शेयरका लागि छुट्टै कर बुझाउनुपर्ने छैन। कम्पनीहरूले नै उक्त कर मिलाएर लाभांश वितरण गर्नुपर्नेछ।”

अघिल्ला वर्षहरुमा कतिपय कम्पनीहरूले कर रकम नबुझाएको भन्दै लगानीकर्ताको शेयर बन्धक राख्ने कार्य गरेका थिए, जसका कारण लगानीकर्ताले लाभांश र शेयर कारोबारमा समस्या व्यहोर्नुपरेको थियो। नयाँ व्यवस्थाले यस्तो समस्या अन्त्य हुने बोर्डको विश्वास छ।

यस निर्णयपछि बोनस शेयर लिनका लागि लगानीकर्तालाई कर तिर्न दौडधूप गर्नुपर्ने झन्झट हट्नेछ भने पूँजी बजारमा पारदर्शिता र लगानीमैत्री वातावरण बलियो बन्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया