हिँड काठमाडौं संघर्ष अभियान : लगानीकर्ता दिपेन्द्र अग्रवालद्वारा २८ बुँदे माग सार्वजनिक
- BFIS News
- 2025 Oct 27 09:33
काठमाडौं । नेपाली शेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले “हिँड काठमाडौं संघर्ष अभियान” को घोषणा गर्दै २८ बुँदे माग सार्वजनिक गरेका छन्। अग्रवालले नेपालभरिका लगानीकर्ताहरुलाई काठमाडौंमा भेला हुन आह्वान गर्दै पूँजीबजार सुदृढीकरण, विस्तार र स्तरोन्नतिको माग गरेका हुन्।
उनले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेप्से र सम्बन्धित निकायलाई सम्बोधन गर्दै विगतका आन्दोलनको मर्मलाई ध्यानमा राखी पूँजीबजार सुधारका नीति तथा कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। अग्रवालले भने, “यदि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले यी मागहरू कार्यान्वयन गर्न असमर्थ देखिए, उनले राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्नुपर्छ।”
अग्रवालको नेतृत्वमा सुरु भएको यो अभियानले लगानीकर्ताका हकहितका लागि ठूला संरचनागत सुधार माग गर्दै निम्न २८ बुँदे मागपत्र पेश गरेको छ :
१. पूँजीबजार सुधारका नीति कार्यान्वयन गर्न असमर्थ बोर्ड अध्यक्षले तत्काल राजीनामा दिनुपर्ने।
२. गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा स्वतन्त्र प्रवेश–निर्गमन र समान कर दर लागू गर्नुपर्ने।
३. सेयर बिक्री भुक्तानीमा ढिलाइ भएमा ब्रोकरबाट ब्याज असुल गर्न पाउने व्यवस्था गर्नुपर्ने।
४. बैंकलाई कुल कर्जाको २०% सम्म शेयर धितो कर्जा प्रवाह गर्न दिनुपर्ने।
५. ब्रोकर कमिशनमा ५०% कटौती र अन्य शुल्क पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने।
६. पूँजीगत लाभकर छोटो अवधिका लगानीमा ५% र दीर्घकालीनमा ०% कायम गर्नुपर्ने।
७. बजार समय बेलुका ५ बजेदेखि ९ बजेसम्म सार्नुपर्ने।
८. बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर ६ महिनाभित्र विक्री गर्न नपाउने प्रतिबन्ध हटाउनुपर्ने।
९. कम्पनीको प्रमोटरले कर्जा रहेको अवस्थामा प्रमोटर सेयरलाई पब्लिकमा रुपान्तरण गर्न नपाउने व्यवस्था गर्नुपर्ने।
१०. नेप्से–३० इन्डेक्समा आधारित नयाँ लगानी औजार प्रवर्द्धन गर्नुपर्ने।
११. प्रिमियम र बुक–बिल्डिङ प्रक्रिया लागू गरी, १०० भन्दा कम बुक भ्यालु भएका कम्पनीको आइपीओ बन्द गर्नुपर्ने।
१२. ब्रोकरमार्फत शेयर मार्जिन कर्जा तत्काल सुचारु गर्नुपर्ने।
१३. इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ, स्टक स्प्लिट र डेरिभेटिभ मार्केट सुरु गर्नुपर्ने।
१४. रियल टाइम सेटलमेण्ट लागू गर्नुपर्ने।
१५. हरेक ३ वर्षमा नयाँ ब्रोकर लाइसेन्स थप गरी लगानीकर्ताको पहुँच बढाउनुपर्ने।
१६. सेबोन र नेप्सेको सञ्चालक समितिमा लगानीकर्ताको प्रतिनिधि अनिवार्य समावेश गर्नुपर्ने।
१७. आइपीओ स्वीकृतिमा हुने भ्रष्टाचार अन्त्य गरी “First come, first serve” सिद्धान्त लागू गर्नुपर्ने।
१८. कम्पनीको बजार मूल्य नेटवर्थभन्दा कम भएमा बाइब्याकको अनुमति दिनुपर्ने।
१९. अनलाइन केवाइसी तत्काल लागू गर्नुपर्ने।
२०. प्रादेशिक तथा स्थानीय विदाको कारण शेयर बजार बन्द नगर्नुपर्ने।
२१. एक कम्पनीका लागि एउटामात्र ISIN कोड हुनुपर्ने।
२२. फ्लोटेड इन्डेक्स सुरु गर्नुपर्ने।
२३. FII र FPI प्रवाहका लागि आवश्यक कार्यविधि मन्त्रिपरिषद्बाट स्वीकृत गर्नुपर्ने।
२४. बजारमा १०% वृद्धि र ५% घटबढमा सर्किट ब्रेकर लागू गर्नुपर्ने।
२५. अनलाइन अक्सन प्रणाली लागू गर्नुपर्ने।
२६. म्युचुअल फण्डका लागि आइपीओ आरक्षण हटाई विद्यार्थीलाई दिनुपर्ने।
२७. बैंक तथा वित्तीय संस्थाको डिभिडेण्ड र राइट सेयर प्रस्तावमा कुनै प्रतिबन्ध नराख्नुपर्ने।
२८. ISIN कोड दुरुपयोग र वाइको घोटालामा निष्पक्ष छानबिन हुनुपर्ने।
अग्रवालले भनेका छन्, “शेयर बजार देशको आर्थिक मेरुदण्ड हो। यसको सुधार र स्थायित्वका लागि लगानीकर्ताको आवाज अब सडकसम्म पुर्याउने समय आएको छ।”
हिँड काठमाडौं संघर्ष अभियान आगामी दिनमा देशभरका लगानीकर्ताको सहभागितामा आयोजित हुने बताइएको छ। अग्रवालले लगानीकर्तालाई शान्तिपूर्ण तर दृढ आन्दोलनमार्फत बजार सुधारका माग पूरा गराउन आह्वान गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया