NIMB Header 2
Nepal Life

कुलमान, बालेन र सुमनाले रञ्जु दर्शनाको नेतृत्वमा दल दर्ता गर्दै, चुनावको नेतृत्व भने कुलमानले गर्ने

National Life
  • BFIS News
  • 2025 Nov 05 15:39
कुलमान, बालेन र सुमनाले रञ्जु दर्शनाको नेतृत्वमा दल दर्ता गर्दै, चुनावको नेतृत्व भने कुलमानले गर्ने
Sanima Reliance

काठमाडौं। जेन–जी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने प्रयास तीव्र बनेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ, पूर्व सांसद सुमना श्रेष्ठ र युवा नेतृ रञ्जु दर्शनाको अग्रसरमा नयाँ राजनीतिक दल दर्ताको तयारी भइरहेको खुलेको छ।

Shikhar
NIMB

स्रोतका अनुसार प्रारम्भिक चरणमा रञ्जु दर्शनाको नेतृत्वमा दल दर्ता गरिनेछ भने आगामी चुनावको समय कुलमान घिसिङले अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ। बालेन, घिसिङ र सुमना श्रेष्ठसहितको कोर टिमबीच हाल दैनिक छलफल भइरहेका छन्।

घिसिङ हालै अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ सभामा सहभागी भएर भारतको दिल्लीबाट स्वदेश फर्किसकेका छन्। केही दिनभित्र नयाँ दलको औपचारिक दर्ता र पदाधिकारी घोषणा हुने तयारी भएको बुझिएको छ।

सुरुवाती चरणमा बालेन–घिसिङ समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्य गर्ने प्रयास गरेको थियो। तर, रास्वपाका सभापति रवि लामिछानेले पार्टी नेतृत्व आफैंले गर्नुपर्ने अडान लिएपछि त्यो प्रयास असफल भएको स्रोतले जनाएको छ।

लामिछानेले “बालेन स्वयं सभापति बन्न आए पद छोड्न तयार” भने पनि बाहिरका नेताका लागि शीर्ष पद नछाड्ने सन्देश पठाएपछि दुवै पक्षबीचको संवाद रोकिएको बताइएको छ। बालेन पक्षले घिसिङलाई रास्वपाको सभापति बनाउने प्रस्ताव गरेको थियो, तर लामिछानेले त्यसलाई अस्वीकार गरेका थिए।

नयाँ दलमा रास्वपाका असन्तुष्ट नेताहरू तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाललगायतलाई समेट्ने तयारी भइरहेको छ। साथै, जेन–जी आन्दोलनका प्रतिनिधि, विवेकशील–साझा पार्टीका पूर्व कार्यकर्ता, र नेपाली कांग्रेस तथा एमाले छाडेका युवा नेताहरू समेत नयाँ दलमा जोडिँदै छन्।

विशेषतः जेन–जी आन्दोलनमा सक्रिय कलाकार निश्चल बस्नेतलगायत केही सांस्कृतिक अभियन्तालाई पनि नयाँ दलमा सामेल गराउने प्रयास भइरहेको छ।

धरानका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपी हमाल र जेन–जी अभियन्ता मिराज ढुंगाना समूहसँग पनि छलफल जारी रहेको स्रोतले जनाएको छ।

बालेनले आफ्ना नजिकका सहयोगीहरू कुमार बेन, सुमना श्रेष्ठ, भुपदेव शाह र सन्तोष गिरीलाई संगठन र नीति निर्माणको जिम्मेवारी दिएका छन्। सन्तोष गिरीलाई संगठन विभाग प्रमुख बनाउने प्रस्ताव अघि सारिएको छ।

बालेन जनप्रतिनिधिको हैसियतले प्रत्यक्ष रूपमा दल सञ्चालनमा नदेखिए पनि आफ्ना नजिकका नेतामार्फत रणनीति तय गरिरहेका छन्।

स्रोतका अनुसार नयाँ दलले जेन–जी आन्दोलनको भावना, सुशासन, पारदर्शिता र युवाको नेतृत्वलाई मुख्य एजेन्डा बनाउँदै वैकल्पिक राजनीतिक शक्ति निर्माणमा अग्रसर हुनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया