NIMB Header 2
Nepal Life

वाणिज्य बैंकहरुको नाफा घट्यो, ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2025 Nov 07 10:13
वाणिज्य बैंकहरुको नाफा घट्यो, ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा
United Ajod

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्।

Nepal Life
NIMB

प्रकाशित विवरण अनुसार, वाणिज्य बैंकहरुको समग्र नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ।

गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा २० वाणिज्य बैंकले कुल १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकहरुको खुद नाफा घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। यसरी समीक्षा अवधिमा वाणिज्य बैंकहरुको नाफा १८.४७ प्रतिशतले घटेको हो।

२० मध्ये १५ वाणिज्य बैंकको नाफा घटेको र एक बैंक घाटामा पुगेकाले समग्र नाफामा गिरावट आएको हो।

ग्लोबल आइएमई बैंक सबैभन्दा बढी नाफामा

समीक्षा अवधिसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ। बैंकले असोज मसान्तसम्ममा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९२ प्रतिशतले बढी हो।

गत वर्ष पहिलो त्रैमाससम्ममा सर्वाधिक नाफा कमाउने नबिल बैंक यस वर्ष दोस्रो स्थानमा पुगेको छ। नबिलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ।

अर्ब क्लबमा पाँच वाणिज्य बैंक मात्र

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ बैंक मात्र ‘अर्ब क्लब’ मा समावेश भएका छन्। ग्लोबल आइएमई, नबिल, प्राइम, एभरेष्ट र कुमारी बैंकले १ अर्बभन्दा बढी नाफा आर्जन गर्दै क्लबमा स्थान जोगाएका हुन्। गत वर्षको सोही अवधिमा भने ८ बैंक अर्ब क्लबमा थिए। यस वर्ष प्रभु, एनएमबि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक क्लबबाट बाहिरिएका छन्।

एक बैंक घाटामा

असोज मसान्तसम्ममा सिटिजन्स बैंक इन्टरनेसनल घाटामा पुगेको छ। बैंकले सो अवधिसम्ममा २२ करोड ४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

नाफा वृद्धिदरमा राष्ट्रिय वाणिज्य बैंक अगाडि

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा वृद्धि गर्ने बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको छ। बैंकले २९५.७२ प्रतिशतले नाफा बढाएको छ। गत वर्षको पहिलो त्रैमासमा १५ करोड १३ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालु वर्षको सोही अवधिमा ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

१४ वाणिज्य बैंकको नाफा घट्यो

समीक्षाअवधिमा १४ बैंकको नाफा घटेको छ। तीमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी — ९६.९९ प्रतिशतले घटेको हो। गत वर्षको पहिलो त्रैमासमा १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएको बैंकले यो वर्षको सोही अवधिमा ५७ लाख रुपैयाँ नाफा मात्र कमाएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ९६.९२ प्रतिशत र प्रभु बैंकको नाफा ४६.३३ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया