NIMB Header 2
Nepal Life

कर्जा मिनाहाको भ्रम : ललिपप देखाएर जनतालाई घुमाउने नाथे राजनीतिज्ञको खतरनाक खेल

Muktinath Bank
  • खेम राज ओझा
  • 2025 Dec 06 10:59
कर्जा मिनाहाको भ्रम : ललिपप देखाएर जनतालाई घुमाउने नाथे राजनीतिज्ञको खतरनाक खेल
National Life

काठमाडौं। कर्जा मिनाहाको नाममा फैलाइएको भ्रम कुनै समाधान होइन, केवल राजनीतिक नाटक मात्र हो। जनतालाई ललिपप देखाउँदै आफ्नो वरिपरि घुमाई, भीड बढाई, लोकप्रियता–मास बढाई राख्ने यस्ता नाथे राजनीतिज्ञहरूको खेल वास्तवमै देशको भविष्य खतरामा पार्ने दाउ हो। उनीहरूको भाषण सुन्दा देशले भोलि नै समृद्धि पाउनेजस्तो लाग्छ, तर वास्तविकता भने ठीक उल्टो हुन्छ। यिनै मीठा शब्दहरूको आडमा अराजकता फैलिन्छ, नियम–अनुशासन कमजोर पर्छ, र देशको अर्थतन्त्र भत्कँदै जान्छ।

Shikhar
NIMB

कर्जा मिनाहा भन्ने शब्द जनताको पीडामा मलहम झैँ देखिन सक्छ, तर यस्ता घोषणाले सृजना गर्ने मनोविज्ञान अत्यन्त विनाशकारी छ। नेताहरूले कर्जाको मूल कारण खोज्ने, कृषि र व्यवसाय सुधार्ने, उत्पादन वृद्धि गर्ने, बजार सुनिश्चित गर्ने, वित्तीय साक्षरता बढाउने जस्ता दिगो उपायभन्दा सजिलो बाटो रोज्छन् “हामी आएपछि कर्जा माफ।” उनीहरूको यही भ्रम फैलाउने तरिकाले कर्जा तिर्ने अनुशासनमाथि नै हमला गर्छ। समयमै किस्ता तिर्ने ईमानदार जनताले आफू ठगिएको महसुस गर्छन्, नतिर्नेहरूले पुरस्कृत भएको अनुभूति गर्छन्, र यसरी नै देशको वित्तीय अनुशासन भत्कँदै जान्छ।

यही अराजकता वित्तीय संस्थाहरूमा गहिरोसम्म फैलिन्छ। बैंक, लघुवित्त र सहकारी जस्ता संस्थाहरू विश्वासमा चल्ने संरचना हुन्। यिनै संस्थामाथि शंका बढ्दा बचतकर्ताहरू असुरक्षित हुन्छन्, लगानीकर्ताहरू पछि हट्छन्, ऋण प्रवाह अवरुद्ध हुन्छ, र देशको आर्थिक मेरुदण्ड कमजोर हुँदै जान्छ। राजनीति गर्ने नेताहरूलाई यस्तो संकटले कति गम्भीर असर पार्छ भन्ने थाहा थिएन, छैन, न त उनीहरूले बुझ्ने प्रयासै गर्छन्। उनीहरूको लक्ष्य जनताको भविष्य होइन, चुनावको भोट र भाषणको तालि हो।

यसरी भ्रम फैलाएर जनतालाई उक्साउने, कर्जा नतिर्न प्रेरित गर्ने, नियमभन्दा माथि उभिने राजनीतिक शैली कुनै देशले सहन सक्दैन। स्वतन्त्रता र लोकतन्त्रका नाममा फैलाइने यस्तो अराजकता अन्ततः राष्ट्रलाई नै तहसनहस पार्ने विष बन्छ। कर्जा मिनाहा भन्ने आवाज जित्दै गएर अनुशासन हराउँदै जाँदा, देश विकास होइन, आर्थिक गडबडी र अव्यवस्थाको दलदलतिर बढ्दै जान्छ।

कर्जा तिर्न नसक्ने वातावरण हटाउनु नै प्राथमिकता हुनुपर्थ्यो उत्पादन बढाउन, बजार सुनिश्चित गर्न, मूल्य स्थिर राख्न, सीप र रोजगारी विकास गर्न, वित्तीय अनुशासन मजबुत पार्न। तर नेताहरूका आँखामा ती सब कुरा धुंधलामात्र छन्। उनीहरूलाई चाहिएको छ आजको भोट, हिजोको भीड, र भोलिको सत्ताको स्वाद।

अन्तमा सत्य यही हो कर्जा मिनाहा कुनै चमत्कार होइन; यो केवल भ्रम हो, राजनीतिक ललिपप हो, अराजकता फैलाउने विधि हो, र देशको अर्थतन्त्रलाई भत्काउने खतरनाक चुनौती हो।

देशलाई चाहिएको कर्जा मिनाहा होइन कर्जा तिर्न सक्ने वातावरण, जिम्मेवार नेतृत्व, अर्थतन्त्रप्रति समर्पित दृष्टि र अनुशासित नागरिक चेतना हो।

(लेखक खेम राज ओझा लामो समयसम्म वित्तिय क्षेत्रमा कार्यरत हुनुहुन्छ ।)

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया