बैंकमा कार्यरत ५० हजार कर्मचारीको सुरक्षाप्रति राज्य गम्भीर हुनुपर्छ: सन्तोष कोइराला
- सन्तोष कोइराला
- 2025 Dec 29 21:55
काठमाडौं। पछिल्लो समय हामीले भोगिरहेका घटनाहरूले बैंकिङ क्षेत्र अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको स्पष्ट देखिन्छ। सबैभन्दा पहिले म एउटा गम्भीर विषयमा प्रष्ट पार्न चाहन्छु, पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूमाथि भइरहेको भौतिक आक्रमणप्रति। तपाईंहरू स्वयंले पनि यस्ता घटनाहरू देखिरहनुभएको छ।
भर्खरै मात्र ज्योति विकास बैंकमा भएको घटनामा, हाम्रो आफ्नै बैंकिङ परिवारका एक सहकर्मी ऋण रिकभरीका क्रममा जाँदा जे-जस्ता अमानवीय व्यवहार भोग्नुपर्यो, त्यसप्रति नेपाल बैंकर्स संघसहित सम्पूर्ण बैंकिङ समुदायको तर्फबाट हामी घोर भर्त्सना गर्दछौं। यस्ता क्रियाकलाप कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैनन्।
नेपाल कानुनी राज्य हो, र कानुनको पालना सबैले गर्नैपर्छ। बैंक तथा वित्तीय संस्थाहरूले ऋण प्रवाहदेखि ऋण असुलीसम्मका सम्पूर्ण प्रक्रिया कानुनद्वारा स्पष्ट रूपमा निर्देशित छन्। यी सबै प्रक्रिया ‘ब्ल्याक एन्ड ह्वाइट’मा स्पष्ट लेखिएका छन्। नेपाल राष्ट्र बैंकका निर्देशन, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, नेपाल राष्ट्र बैंक ऐन तथा बैंकिङ कसूरसम्बन्धी कानुनहरूका अधीनमा रहेर हामीले काम गर्नुपर्छ। यी कानुनी दायित्वबाट हामी अलग हुन सक्दैनौं। यस्ता अवस्थामा कर्मचारीमाथि आक्रमणजस्ता घटनाहरू दोहोरिनु बैंकिङ क्षेत्रको स्थायित्व र प्रगतिका लागि गम्भीर चुनौती हो।
हाम्रो राजनीतिसँग कुनै लेनदेन छैन। कसले कस्तो राजनीति गर्छ भन्ने विषयमा हामी चासो राख्दैनौं। हामी पूर्ण रूपमा व्यावसायिक संस्थाहरू हौं। तर राजनीतिक अभिष्ट पूरा गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि धरपकड, धम्की, त्रास सिर्जना गर्ने, कालोमोसो दल्ने, जुत्ताको माला लगाउनेजस्ता अमर्यादित कार्यहरू भए भने बैंकर्सहरू चुप लागेर बस्न सक्दैनन्। यही कारणले हामी पछिल्लो समय यस्ता विषयहरू सार्वजनिक रूपमा उठाउन बाध्य भएका हौं।
राजनीतिक उद्देश्यका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई लक्षित गरी गरिएका यस्ता सबै क्रियाकलापहरूको हामी कडा विरोध तथा भर्त्सना गर्दछौं। करिब ५० हजार नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको बैंकिङ क्षेत्रका कर्मचारीहरूमा यसले कस्तो मानसिक आघात पुर्याउँछ? उनीहरूका परिवारमा कस्तो असर पर्छ? यही देशभित्र बसेर रोजगारी सिर्जना गरिरहेका संस्थाहरूलाई कमजोर बनाउने यस्ता कार्यहरू नगर्न म नेपाल बैंकर्स संघको तर्फबाट सबैलाई हार्दिक अनुरोध गर्दछु।
लोकतान्त्रिक नेपाल निर्माणमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको पनि महत्वपूर्ण योगदान रहेको छ र रहनेछ। यद्यपि, बैंकिङ क्षेत्रलाई ‘सबैभन्दा खराब’ वा ‘बदमास’ जस्तो चित्रण गर्नु पूर्ण रूपमा गलत हो। आज बैंकिङ क्षेत्रले करिब ७५–७६ खर्ब रुपैयाँको निक्षेप परिचालन गर्दै ५४–५५ खर्ब रुपैयाँ बराबरको ऋण लगानी गरिरहेको छ। हामी अत्यन्त जिम्मेवार र संयमित रूपमा अगाडि बढिरहेका छौं। तर पछिल्ला घटनाहरूले हाम्रो यही संयमतालाई कमजोर पार्न खोजिएको हो कि भन्ने चिन्ता उत्पन्न भएको छ।
यस अवसरमा म बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण सहकर्मीहरूलाई पनि आग्रह गर्न चाहन्छु—हामी कानुनको पालना गर्ने संस्था हौं। कानुन र नियामक निकायले निर्देशित गरेका सीमाभित्र रही, धैर्य र संयमताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नुस्। यदि कसैले गैरकानुनी दबाब, धम्की वा दुर्व्यवहार गर्छ भने प्रशासन, प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिनुस्। नेपाल बैंकर्स संघ तपाईंहरूको साथमा छ, हामी निरन्तर छलफल र पहल गरिरहेका छौं।
राज्य तथा सरकारसँग पनि मेरो विनम्र अनुरोध छ—यस्ता घटनाहरू दोहोरिन नदिन बैंकिङ क्षेत्रको सुरक्षा सुनिश्चित गरिनुपर्छ। बैंक तथा वित्तीय संस्थाहरू अत्यन्त नियमनित र अनुशासित क्षेत्र हुन्। सायद यही अनुशासनका कारण यस्ता आक्रमणहरू भएका हुन सक्छन्। तर यदि यस्ता क्रियाकलापहरू निरन्तर भइरहे र बैंकिङ क्षेत्रमा कार्यरत हजारौं कर्मचारीहरू आत्मरक्षाका बारेमा सोच्न बाध्य भए भने त्यसले कस्तो अवस्था सिर्जना गर्छ भन्ने विषयमा सबै सरोकारवालाहरू गम्भीर र सचेत हुन आवश्यक छ।
भोलिका दिनहरूमा यस्ता गतिविधिहरू निरन्तर रूपमा बढ्दै गए भने, भोलि बैंक तथा वित्तीय संस्था नै बन्द गरेर बस्नुपर्ने अवस्था आयो भने त्यसले कस्तो गम्भीर परिस्थिति सिर्जना गर्ला भन्ने गम्भीर प्रश्न उठ्छ। पछिल्लो समयमा विभिन्न मिडिया, युट्युब च्यानल र टिकटकमार्फत बैंकका कर्मचारीहरूलाई गालीगलौज गर्ने, बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको विषयमा जथाभावी टिप्पणी गर्ने र सम्पूर्ण बैंकिङ क्षेत्रलाई नै आतंकित बनाउने प्रयास भइरहेको देखिन्छ। यस्तो अवस्थामा हामीले आत्मरक्षा गर्नुपर्ने अवस्था आउन सक्ने संकेत देखिएको छ।
त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। यस विषयमा राज्यले पनि आफ्नो तर्फबाट आवश्यक कदम चालेको छ। विगतमा भएका घटनाहरूमा हामीले पनि आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गरेका छौँ र पछिल्ला घटनाहरूमा सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको छ। हामी सबैले आ–आफ्नो दायित्व र प्रक्रियाअनुसार संयमतापूर्वक अगाडि बढ्नुपर्छ। यसमा सम्बन्धित निकायहरूले निरन्तर सहयोग गर्नेछन् भन्ने अपेक्षा हामीले गरेका छौँ।
हामी कानुन मानेर काम गर्ने, कार्यान्वयन गर्ने कर्मचारीहरू मात्रै हौँ। यदि कसैले कानुन नै परिवर्तन गर्ने निर्णय गर्छ भने, त्यसलाई पालना गर्ने जिम्मेवारी पनि हाम्रो नै हुन्छ। तर कानुन तोडेर अगाडि बढ्ने कुनै पनि कार्यलाई हामी समर्थन गर्दैनौँ। यस विषयमा अनावश्यक बहस गर्न हामी चाहँदैनौँ।
दोस्रो कुरा, पछिल्लो समयमा ‘ऋण मिनाहा गरिदिन्छु’, ‘अब तिर्नु पर्दैन’ जस्ता अतिरञ्जित अभिव्यक्तिहरू सार्वजनिक रूपमा सुनिन थालेका छन्। यस्ता घोषणाहरू गर्दा स्रोतको सुनिश्चितता के हो, कसरी कार्यान्वयन गर्ने हो, त्यसको स्पष्ट खाका के हो— यी सबै कुरा ब्ल्याक एन्ड ह्वाइटमा प्रस्ट रूपमा प्रस्तुत हुनुपर्छ। अन्यथा, यस्ता भावनात्मक र उत्तेजक अभिव्यक्तिले सर्वसाधारण जनतालाई उचालेर देशलाई सही दिशामा लैजान सक्छ भन्ने कुरा एक बैंकिङ प्रोफेसनलको हैसियतले मलाई विश्वास लाग्दैन।
यसै सन्दर्भमा, म यस कार्यक्रममार्फत सबैलाई हार्दिक अपील गर्न चाहन्छु— बैंकिङ क्षेत्रमा कार्यरत हामी सबै संयमतापूर्वक अगाडि बढौँ। साथै, यस्ता अभियान सञ्चालन गरिरहनुभएका व्यक्तिहरूलाई पनि आग्रह छ— आधारभूत तथ्य बुझेर, यथार्थलाई आत्मसात् गरेर मात्रै यस्ता विषयमा बोल्नुस्। बैंकर्सहरू अब पीडित भएर चुप लागेर बस्ने, कुटाइ खाने, कालोमोसो दलिने वा जुत्ताको माला लगाइने अवस्थामा छैनन् भन्ने सन्देश पनि म यसै माध्यमबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई दिन चाहन्छु। यस्ता गतिविधिले देशलाई समुन्नत राष्ट्रतर्फ लैजान सहयोग गर्छन् भन्ने मलाई लाग्दैन।
अब बैंकिङ क्षेत्रको समग्र अवस्थाबारे कुरा गर्दा, हाल बजारमा अत्यधिक तरलता रहेको अवस्था छ। करिब ६ खर्ब रुपैयाँ बराबरको तरलता प्रणालीमा उपलब्ध छ। तर सोही अनुपातमा लगानीको माग सिर्जना भइरहेको छैन। यसको पछाडि हालको राजनीतिक परिवर्तन र त्यसले सिर्जना गरेको लगानीकर्ताको आत्मविश्वासको कमी पनि एउटा कारण हुन सक्छ। आगामी दिनहरूमा अवस्था क्रमशः सुधार हुँदै गएपछि लगानीको वातावरण पनि बिस्तारै सकारात्मक बन्दै जाने अपेक्षा गर्न सकिन्छ।
हाल बैंकहरूले सोचेजति लगानी गर्न नसकिरहेको अवस्था यही कारणले हो, जसका कारण उच्च तरलता देखिएको छ। यो अवस्था क्रमशः सुधार हुँदै जानेछ। राष्ट्र बैंकले पनि सुधारात्मक नीतिहरू ल्याउन खोजेको देखिन्छ। विभिन्न प्रतिवेदनहरू कार्यान्वयनको चरणमा प्रवेश गर्दा धेरै समस्याहरू समाधान हुँदै जाने विश्वास छ। ती प्रतिवेदनहरूमा बैंकिङ क्षेत्रबाट उठाइएका धेरै विषयहरू समेटिएको पनि हामीले पाएका छौँ।
आज पत्रकार मित्रहरूको भूमिकाबारे पनि केही भन्न आवश्यक ठानेको छु। पत्रकारितामा जिम्मेवारी अत्यन्त महत्वपूर्ण हुन्छ। समाचार सम्प्रेषण गर्दा व्यक्तिगत लाञ्छना, अप्रमाणित आरोप र नकारात्मक टिप्पणीले सम्बन्धित व्यक्तिको मात्र होइन, उसको परिवार, बालबच्चा र अभिभावकको मानसिकतामा समेत गहिरो असर पार्ने गर्छ। यस्ता नकारात्मक सामग्री निरन्तर प्रकाशन हुनु उचित होइन।
यदि समाचार लेख्ने नै हो भने, प्रमाणित तथ्यका आधारमा, सुरु गरेको विषयलाई अन्त्यसम्म पुर्याएर जिम्मेवार पत्रकारिता गर्नुपर्छ। सेजनजस्तो जिम्मेवार संस्थाको कार्यक्रम भएकाले म पत्रकार मित्रहरूलाई विशेष आग्रह गर्न चाहन्छु— यस्ता गतिविधिलाई प्रोत्साहन नगरौँ। यसले भोलिको पत्रकारिताको दिशा पनि निर्धारण गर्छ। यस सन्दर्भमा सेजनको सक्रिय सहयोगको अपेक्षा पनि म गर्दछु।
(प्रस्तुत लेख आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले दिएको मन्तव्यका आधारमा तयार पारिएको हो।)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)



















प्रतिक्रिया