दुर्गा कुमारी कंडेलको ‘अर्थ सङ्ग्रह’ सार्वजनिक, आर्थिक ज्ञान र गजलको संगम
- BFIS News
- 2026 Jan 16 21:43
काठमाडौँ । अर्थतन्त्रका विविध आयामलाई चिरफार र विश्लेषणात्मक ढंगले प्रस्तुत गरिएको दुर्गा कुमारी कंडेलको पुस्तक ‘अर्थ सङ्ग्रह’ सार्वजनिक भएको छ। यो पुस्तकमा बैंकिङ, आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित लेख रचनाहरूको संकलन गरिएको छ।
कान्तिपुर, गोरखापत्र लगायत विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भएका लेखहरूलाई समेटेर तयार पारिएको यस कृतिमा बैंक तथा वित्तीय संस्था, वित्तीय प्रणाली र समग्र अर्थतन्त्रको सेरोफेरोमा केन्द्रित ७१ वटा लेख रचनाहरू समावेश छन्। पाठकलाई आर्थिक विषयवस्तु बुझ्न सहज हुने गरी पुस्तकलाई विश्लेषणात्मक शैलीमा प्रस्तुत गरिएको छ।
विशेषगरी बैंकिङ, आर्थिक तथा वित्तीय क्षेत्रका विषयसँग सम्बन्धित पाठ्यक्रम अध्ययन गर्ने तथा विभिन्न प्रतियोगी परीक्षामा सहभागी हुने परीक्षार्थीहरूका लागि यो पुस्तक उपयोगी हुने विश्वास गरिएको छ। साथै, आर्थिक विषयमा चासो र जिज्ञासा राख्ने पाठकहरूका लागि पनि यसले जानकारीमूलक सामग्री प्रदान गर्नेछ।
पुस्तकको अर्को विशेषता भनेको करिब ५० वटा लेख रचनाका सारलाई गजलका शेरमार्फत स्पष्ट पार्ने प्रयास गरिएको छ। जसले साहित्यप्रेमी पाठकहरूलाई समेत आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसरी आर्थिक विषय र साहित्य (गजल) को संयोजनले पुस्तकलाई फरक र रोचक बनाएको छ।
लेखिका कंडेलले यो आफ्नो पहिलो प्रयास भएकाले पुस्तकमा रहेका कमी, कमजोरी तथा त्रुटिहरू औंल्याइदिन पाठकसमक्ष आग्रह गरेकी छन्। ती सुझावका आधारमा आगामी दिनमा सुधार गर्ने अवसर मिल्ने अपेक्षा पनि उनले व्यक्त गरेकी छन्।
पुस्तकको मुद्रणको जिम्मा ग्लोबल प्रिन्ट कलेक्सन प्रा.लि. ले लिएको छ भने प्रकाशन तथा वितरण मकालु ग्रुप अफ कम्पनी प्रा.लि. ले गरेको हो।
दुर्गा कुमारी कंडेल
चितवन जिल्ला, भरतपुर महानगरपालिका-४, लङ्कमा जन्मेहुर्केकी दुर्गा कुमारी कडेल (छत्कुली) ले माध्यमिक, उच्च माध्यमिक र स्नातक तहसम्मको शिक्षा स्थानीय विद्यालय तथा क्याम्पसबाट उत्तीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसबाट व्यवस्थापन सङ्कायअन्तर्गत एमबिएस, जनप्रशासन सङ्कायबाट एमपिए, कानुन सङ्कायबाट एलएलबि र शिक्षाशास्त्र सङ्कायबाट बिएडसमेत उत्तीर्ण छत्कुली २०५९ सालदेखि प्राध्यापन पेशामा आबद्ध भएकी हुन् ।
खुल्ला प्रतियोगिताद्वारा २०६१ सालदेखि नेपाल बैङ्क लिमिटेडमा अधिकृत तहबाट बैङ्किङ क्षेत्रमा प्रवेश गरी विभिन्न शाखाहरूमा शाखासञ्चालनसम्बन्धी काममा आफुलाई निखार्दै गइन् । नेपाल बैङ्क लिमिटेडमा करिब १४ वर्षसम्म काम गरी प्रबन्धकका रूपमा रहँदा लोकसेवा आयोगको खुल्ला प्रतियोगिताबाट २०७५ सालमा राष्ट्रिय वाणिज्य बैङ् कमा दशौं तहको मुख्य प्रबन्धक पदमा छनोट भएकी हुन् ।
हाल सोही बैङ्कको उपकार्यकारी अधिकृतको जिम्मेवारीमा रही बैङ्कको व्यवस्थापन समितीका सदस्य साथै आरविवि मर्चेन्ट बैङ्किङ लिमिटेडको सञ्चालक समितीका सदस्य भई बैङ्कको केन्द्रीय कार्यालयमा कार्यरत यिनले विद्यार्थीकालदेखि नै गीत, गजल र कविताका अतिरिक्त आर्थिक तथा समसामयिक विषयमा लेखरचना सिर्जना गर्दै आफ्नो अब्बल परिचय स्थापित गरेकी छिन् । वर्तमान समयमा यिनका साहित्यिक सिर्जना तथा विभिन्न विषयका आर्थिक तथा गैरआर्थिक लेखरचनाहरू कान्तिपुर, गोरखापत्र, अरुणोदय, मिर्मिरेलगायत अन्य विद्युतीय समाचारपत्रहरूमा प्रकाशित भइरहेका छन् ।
'अर्थ सङ्ग्रह' यिनको प्रकाशित पहिलो कृति हो जसमा प्रायःजसो लेखका सारलाई गजलका शेरमा समेटिएको छ। समसामयिक विषयको सङ्ग्रह 'समय सन्दर्भ', बैङ्क तथा वित्तीय संस्थाका शाखाहरूको प्रभावकारी व्यवस्थापन विषयकेन्द्री 'शाखा सञ्चालनका सूत्र', औपन्यासिक रचना 'अव्यक्त प्रेमीहरू', गजलमा सबाल जबाफ 'सबाल-सुर', गीत, गजल एवं कविता आदिका सङ्ग्रहकृतिहरू प्रकाशोन्मुख रहेका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)







प्रतिक्रिया