अस्तित्व संकटबाट प्रतिस्पर्धी बैंकसम्म, राष्ट्रिय बाणिज्य बैंकका सिइओ खनालसँगको अन्तर्वार्ता
- BFIS News
- 2026 Jan 31 09:02
काठमाडौं। नेपाल सरकारको पुर्ण लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकले ६१ वर्षको यात्रामा कहिले अस्तित्वकै संकट सामना गर्नु पर्यो भने केहि अन्य प्रतिस्पर्धी बैंक मध्येकै सर्वाधिक अगाडी पनि देखियो। कोभिड १९ पछिको जटिल आर्थिक अवस्थालाई सामाना गरिरहेको बैंकले प्रविधिमा पनि आफुलाई अझ शशक्त रुपमा अगाडी बढाइरहेको छ। राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवका अवसरमा प्रकाशित स्मारिका 'उपहार-२०८२' का लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालसँग लिइएको अन्तर्वार्ता:
कुनै पनि संस्था त्यस बेलासम्म जीवन्त रहन्छ, जबसम्म उक्त संस्थामा काम गर्ने जनशक्ती क्रियाशील हुन्छन्, जीवन्त हुन्छन् र गतिशील हुन्छन् । त्यस कारणले हाम्रो अहिलेको अवस्था भनेको युवाहरूले युवाकै आवाजलाई सम्बोधन गर्नुपर्ने हो । यस अर्थमा अहिलेको बदलिँदो परिस्थितिमा युवाका चाहनाहरूलाई सम्बोधन गर्न सक्ने भनेको राष्ट्रिय वाणिज्य बैंक हो र प्रतिस्पर्धी बैंकहरूको भन्दा राष्ट्रिय वाणिज्य बैंकको जनशक्तिले त्यसलाई पुरा गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं । त्यसै कारणले हामीले युवावर्गको चाहनालाई हाम्रो प्राथमिकतामा राखेका छौं ।
सर्वप्रथम राष्ट्रिय वाणिज्य बैंकले आफ्नो ६० औं वर्ष पार गरी ६१ औं वर्ष प्रवेश गर्न लागेको सुखद् उपलक्ष्यमा यहाँलाई हार्दिक शुभकामना व्यक्त गर्दछौँ। बैंकले ६ दशकको यात्रा पार गरिसकेको सन्दर्भमा बैंक स्थापनाकालमा कस्तो अवस्थामा थियो, यसबिचमा बैंकले झेलेका प्रमुख उतारचढावहरू के हुन् र बैंक हाल कस्तो अवस्थामा आइपुगेको छ ?
वि.सं.२०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक २०८२ माघ १० गतेदेखि स्थापनाको ६० औं वर्ष पार गरी ६१ औं वर्षमा प्रवेश गर्दै छ। तत्कालीन राष्ट्रिय वाणिज्य बैंक ऐन, २०२१ अनुसार स्थापना भई पछि वाणिज्य बैंक ऐन, २०३१ अनुसार सञ्चालनमा रहेको यस बैंकले स्थापनादेखि आजको दिनसम्म आइपुग्दा धेरै उत्तारचढावहरू पार गरेको छ । सरकारले लिएको खुला बजारको अवधारणाअनुसार वित्तीय क्षेत्रमा निजी लगानी खुला गरेपछि ४० को दशकदेखि नेपालमा निजी लगानीका बैंकहरूको पनि स्थापना हुन थाल्यो। निजी लगानीका बैंकहरूको स्थापना र सञ्चालनसँगै यो बैंक पनि प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।
देशको दोस्रो वाणिज्य बैंकका रूपमा स्थापना भई सञ्चालनमा रहेको यो बैंक ६० को दशकमा आइपुग्दा तत्कालिन असहज अवस्थाको कारण धरमराएको अवस्थामा रहेको थियो । यस अवस्थामा विदेशी दातृ निकायबाट नेपालको वित्तीय क्षेत्रको अवस्था विश्लेषण गरी वित्तीय क्षेत्र सुधार कार्यक्रममार्फत विदेशी विज्ञहरू संलग्न समूहबाट यस बैंकको समेत व्यवस्थापन सञ्चालन सुरु भयो । त्यसबेला यो बैंकको निष्क्रिय कर्जा (NPA) ६० प्रतिशतको हाराहारीमा पुगेको थियो । बैंकको वित्तीय स्वास्थ्य निकै खराब रहेकाले त्यसबेला यो बैंक नै रहने वा नरहने अवस्थाबाट गुज्रेको थियो । तर विदेशी व्यवस्थापन समूहको नेतृत्वमा बैंकमा सुधारका कार्यहरू सुरु भए । कर्जा असुली कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाइयो । नयाँ पद्धतिबाट कर्जा लगानीको कार्य सुरु भयो। नयाँ जनशक्ति नियुक्तिको प्रक्रिया सुरु भयो। यसबाट बैंकले विस्तारै आफ्ना क्रियाकलापहरू अगाडि बढाउँदै लग्यो। ७० को दशकमा आइपुग्दा बैंकले चुनौतीपूर्ण १० वर्षको अवधि पार गरी निजी लगानीका बैंकहरूसँग प्रतिस्पर्धा गर्न सक्ने सक्षम बैंकको रूपमा आफुलाई स्थापित गर्न सफल भयो । बैंकले अहिलेको अवस्थामा बैंकीङ क्षेत्रमा अब्वल र प्रतिस्प्रर्धी बैंकका रुपमा स्थापीत रहँदै आफूलाई अग्रस्थानमा राखेर व्यवसायको
विस्तार गर्दै हाल आइरहेको छ। सबै जिल्ला, जिल्ला सदरमुकाम, सबै प्रदेशहरूमा र देशका दूरदराजमा आफ्ना समावेशितासहित वित्तीय पहुँच अभिवृद्धि जस्ता उद्देश्यहरूलाई साथमा लिएर सरकारका कार्यक्रमहरू समेत सञ्चालन गरिरहेको छ।
ग्रामीण जनताहरूको आर्थिक-सामाजिक उन्नतिका लागि बैंक सधैं अगाडि छ र सर्वसाधारणको विश्वास पनि त्यही रूपमा लिई आज सबैको बैंक, सबै नेपालीको बैंकका रूपमा रहेको छ । यस अवस्थामा म यस बैंकको प्रमुख कार्यकारी अधिकृतका हैसियतले गर्वका साथ सम्बन्धित सबै सरोकारवालाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जसले धेरै विश्वास गरेर यस बैंकलाई आजको दिनसम्म साथ दिनुभएको छ। यसका लागि म सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
नेपालको बैंकिङ क्षेत्रमा हाल बैंकहरूले आफ्नो व्यवसाय विस्तार गर्न कठिनाइ झेलिरहेका छन्। एकातर्फ खराब कर्जाको अनुपात बढ्दो छ भने अर्कोतर्फ नयाँ कर्जा मागमा पनि कमी आएको देखिन्छ । यस्तो चुनौतीपूर्ण अवस्थाको सामना गर्न बैंकले के कस्ता उपाय अपनाएको छ ?
यहाँले भन्नुभएको स्वाभाविक हो। पछिल्लो समयमा बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि बैंकिङ व्यवसाय त्यति चलायमान हुन नसकेको देखिन्छ । कोभिडजस्तो अवस्थाबाट गुज्जिएर भरखरै लयमा फर्कन लागेको वित्तीय क्षेत्रलाई पुनः विभिन्न घटनाक्रमले गर्दा बैंकप्रतिको विश्वास र व्यवसायीहरूको आत्मबल बढ्न नसकेको अवस्थाले विगतजस्तो बैंकिङ व्यवसाय सक्रिय हुन नसकेको यथार्थ हो । तैपनि सधैं यस्तो अवस्था रहँदैन । पछिल्लो समयमा व्यवसायीहरूको आत्मविश्वास कसरी बढाउन सकिन्छ, नयाँ प्रोडक्टमार्फत कसरी व्यवसायीहरूलाई बैंकप्रति आकर्षित गर्न सकिन्छ भनी बैंक लागिपरेको छ। विभिन्न दृश्य अदृश्य घटनाक्रमहरूले व्यवसायीहरूलाई व्यवसाय गर्न अप्ठ्यारो पारेको अवस्था छ।
यो बैंक नेपालको बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रूपमा सञ्चालन भइरहेको छ। यस बैंकको लक्ष्य देशको समग्र अर्थतन्त्रको उन्नतिमा टेवा पुऱ्याउने रहेकाले हामीले ग्रामीण क्षेत्रका व्यवसायीहरूलाई कसरी आर्थिक, सामाजिक अभिवृद्धि गर्न सकिन्छ, त्यहाँको स्रोतसाधनको परिचालन कसरी गर्न सकिन्छ, आफ्नै ठाउँमा रहेर उद्यमी बन्ने, उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने जस्ता कुराहरूमा सर्वसाधारणलाई कुन माध्यमबाट वित्तीय सहयोग उपलब्ध गराउन सकिन्छ भनी नयाँ नयाँ प्रोडक्टहरूको विकास गरेका छौं। जस्तै किसानसँग राष्ट्रिय वाणिज्य बैंक, किसान सरल कर्जा, साना तथा मझौला कर्जामा न्यून ब्याजदरमा सरल प्रक्रियाबाट कर्जा प्रवाह गरिरहेका छौं। म यस अवसरमा सम्बन्धित सबै व्यवसायीहरूलाई बैंकको सेवासँग जोडिन, आफ्नै व्यवसायबाट उद्यमी बन्न, अन्यलाई रोजगारीका अवसर सृजना गर्न, उत्पादनलाई बढावा दिन अपिल गर्न चाहन्छु। हाम्रा सबै शाखा सञ्जालहरूमा समेत यो सन्देश प्रवाह गरिसकेका छौं। हाम्रा शाखाहरूमा कार्यरत कर्मचारी साथीहरू पनि यस कार्यमा उत्साहित हुनुहुन्छ। सर्वसाधारण सबैलाई यस बैंकले प्रदान गर्दै आएका विभिन्न सेवाहरू उपयोग गर्न अपिल गर्न चाहन्छु ।
अर्को कुरा, हाम्रो जस्तो अल्पविकसित देशमा हाम्रो अहिलेको जुन आय छ, जुन संरचना छ, यसले हाम्रो यो अल्पविकसित देशलाई पुग्दैन। हामी यदि विकासशील रूपमा अगाडि बढ्ने हो भने, हामीले हाम्रो स्रोतको अधिकतम् परिचालन गर्ने पर्छ। त्यस कारणले म उद्यमीहरूसँग पनि के अपिल गर्न चाहन्छु भने, व्यापार व्यवसायभन्दा पनि उद्योग व्यवसायमा हाम्रो ध्यान जानुपर्छ र हामी कसरी आत्मनिर्भर अर्थव्यवस्था तयार गर्न सक्छौं भन्नेतर्फ ध्यान दिनुपर्छ । किसान दाजुभाइलाई पनि म अपिल गर्न चाहन्छु कि आफ्नो ठाउँमा के उत्पादन गर्न सकिन्छ, र त्यो उत्पादनबाट कसरी मूल्य शृङ्खलामा जोडिएर नयाँ-नयाँ व्यवसाय गर्न सकिन्छ ? यसतर्फ ध्यानदिऔं ।
हामी दुईवटा खुला अर्थव्यवस्था भएका मुलुकको बिचमा छौं। हामी ठुला उद्योगहरू बनाएर ती उद्योगहरूबाट यहाँ प्रतिस्पर्धा गर्न सक्दैनौं, त्यो यथार्थ हो। जति ठुलो परिमाणमा हामी उत्पादन गर्न सक्छौं, त्यति उत्पादन लागत कम लाग्छ। यस कारण हाम्रो मात्र आवश्यकतालाई हेरेर उत्पादन गरेर ठुला अर्थतन्त्र भएका छिमेकी मुलुकहरूका बिचमा हामीले सफलता हासिल गर्न सक्दैनौं। तर हामी के हासिल गर्न सक्छौं भने गुणस्तरीय वस्तु उत्पादन गरी व्यवसाय गर्न, त्यस्ता उत्पादनलाई मूल्य शृङ्खलामा जोड्न र हाम्रा आवश्यकतालाई पूरा गर्न सक्ने स्थानीयस्तरका वस्तु उत्पादन गर्न सक्छौं। त्यस्ता वस्तु उत्पादन गर्न सकियो भने पक्कै पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्छौं र वर्तमानको आयातमा निर्भर अर्थतन्त्रलाई केही सहज बनाउन सक्छौं । त्यसतर्फ सबै उद्योगी, व्यवसायी लाग्नुहुने छ भन्ने हामीले विश्वास लिएका छौं। त्यसैअनुरूप यस बैंकले पनि ७ वटै प्रदेशमा फरक फरक प्रोडक्टको व्यवस्था गरी व्यावसायिक कृषि उद्यमलाई वित्तीय सहयोग उपलब्ध गराउने रणनीति लिएको छ।
राष्ट्रिय वाणिज्य बैंक त सरकारी बैंक हो। यस बैंकमा खासै समस्या हुँदैन, केही समस्या आइहाले पनि सरकारले जिम्मा लिइहाल्छ नि भन्ने आम सर्वसाधारणको बुझाइ छ । यसप्रति यहाँको धारणा के छ ?
सरकारी स्वामित्वको बैंक भएकाले सर्वसाधारणले त्यस्ते धारणा राख्नु एक हदसम्म त स्वाभाविक पनि हो। तर राज्य तथा नियामक निकायको सबै बैंक तथा वित्तीय संस्थालाई हेर्ने नजर भने एकै हुन्छ। सरकारी बैंक भएका नाताले संस्थागत सुशासन र सरकारको स्वामित्वको बैंक भएकाले सर्वसाधारणको विश्वास अधिक भएकै कारण निक्षेप सङ्कलनमा बैंकले उल्लेखनीय उपलब्धि हासिल गरिरहेको छ र सोहीअनुसार कर्जा प्रवाह पनि भइरहेको छ। सर्वसाधारणको भरोसा र विश्वास नै हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो र यसका लागि हामी सबैप्रति अनुग्रहित छौं।
गत भदौ २३ र २४ मा जेन-जी आन्दोलन जुन भयो, त्यसले राष्ट्रिय वाणिज्य बैंकमा के-कस्तो प्रभाव पार्यो ?
स्वाभाविक रूपमा भदौ २३ र २४ गतेको घटना र विशेषतः २४ गतेको घटनाले राष्ट्रिय वाणिज्य बैंकका धेरै शाखाहरूमा क्षति पनि भयो । विशेषत मुख्य क्षति हाम्रो महत्त्वपूर्ण शाखा कार्यालय रुपमा रहेको वानेश्वरमा भयो । संसद् सचिवालय परिसरभित्र नै रहेको हुनाले त्यो शाखा कार्यालय सबै कुराले सुरक्षित शाखा कार्यालयका रूपमा रहने हाम्रो बुझाइ थियो, तर त्यसो हुन सकेन । २० वर्षदेखि सञ्चालन भइरहेको उक्त शाखा कार्यालयमा भदौ २४ गते केही उद्दण्ड व्यक्तिहरूबाट बैंकमा रहेको नगद र सर्वसाधारणले धितोका रूपमा राखेको सुन लुटपाट गरी बैंकलाई क्षति पुग्न गयो। क्षति भएको नगद र सुनको तकालीन बजार मूल्यको हिसाब गर्दा करिब ३८ करोड बराबरको क्षति बैंकले व्यहोर्नुपर्यो। साथै बैंकको भौतिक संरचना, फर्निचर, उपकरण लगायतका सामानहरू समेत जलेर नष्ट भए। यस्तै प्रकारको आक्रमण भैरहवा भन्सार कार्यालयमा रहेको हाम्रो शाखामा र अन्य विभिन्न स्थानमा भएको क्षतिसमेत गरी बैंकलाई करिब ४२ करोड बराबरको नोक्सानी भयो। यसका अतिरिक्त अभौतिक रूपमा पनि बैंकलाई ठुलो क्षति भएको छ। अप्रत्यक्ष रूपमा हाम्रा कर्जाका ग्राहकहरूलाई समेत आन्दोलनले असर पुऱ्याएकोछ। बैंकमा समेत आफ्नो सम्पत्ति सुरक्षित हुन नसक्ने भनी सर्वसाधारणको चिन्ता बढेको छ । यसबाट उद्योगी, व्यसायी, सर्वसाधारण र बैंक तथा वित्तीय संस्थाहरूमा पनि एक प्रकारको त्रास फैलिएको छ। तर पनि हामीले आवश्यक व्यवस्थापन गरी पुनः आफ्नो व्यवसाय सञ्चालनलाई निरन्तरता दिन सफल भएका छौं।
उक्त जेन-जी आन्दोलनबाट बैंकिङ क्षेत्रले कस्तो पाठ सिक्नुपर्छ र सेवा प्रवाहमा के-कस्ता सुधारहरू गर्नुपर्छ भने लाग्छ ?
यस्ता घटनाबाट बैंकिङ क्षेत्रले निश्चय नै धेरै पाठ सिक्नुपर्छ। यो एकदम स्वाभाविक कुरा हो। हाम्रा सेवाग्राही भनेका सबै आमनागरिक हुनुहुन्छ । नागरिकले चुस्तदुरुस्त हिसाबले सेवा प्रवाह खोज्नुहुन्छ । त्यस कारणले हामीले गर्ने सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता हुनु एकदम जरुरी छ। कुनै पनि कामका लागि सेवाग्राहीले अनुरोध गर्दा हामीले गर्न सक्ने, गर्न मिल्ने र गर्न हुने कामका लागि तत्कालै उहाँहरूलाई बताइदिन जरुरी छ। बैंकिङ सेक्टरले पनि यो कुरालाई आत्मसात् गर्न जरुरी छ । नयाँ पुस्ताका नयाँ चाहना छन् । नयाँ पुस्ताका चाहना र आवश्यकतालाई बुझेर हामीले सेवा प्रवाहलाई त्यही हिसाबले गतिमा लैजानु जरुरी छ। अहिलेको पुस्ताले परिवर्तन चाहेको छ, जसले छिटोभन्दा छिटो सेवा चाहेको छ। अब हाम्रो ग्राहक भनेकै त्यही पुस्ता हो। त्यस कारणले हामीले त्यो पुस्ताको भावनालाई कदर गर्दै काम गर्ने शैलीमा पनि परिवर्तन गर्न जरुरी छ। यो बैंक सरकारी बैंक भएकाले यसमा सरकारी ढाँचामा काम गर्ने परिपाटी छ भन्ने धारणालाई हामीले परिवर्तन गर्न जरुरी छ। हामीले गर्ने व्यवसाय व्यावसायिक हिसाबमा, व्यावसायिक धर्ममा रहेर सञ्चालन गर्नुपर्छ र आमनागरिकको चाहनालाई आत्मसात् गरेर सेवा प्रवाहलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा हामीले सिक्न जरुरी छ।
पछिल्लो समय मुलुकमा भएको राजनीतिक घटनाक्रमसँगै आर्थिक गतिविधिमा सुस्तता देखिएको छ। व्यवसायीहरू नयाँ लगानी गर्न त्यति उत्साहित देखिँदैनन् । यस्तो अवस्थामा सरकार र समग्र बैंकिङ क्षेत्रले व्यवसायीहरूलाई कसरी उत्प्रेरित गर्न सक्छ र त्यसमा राष्ट्रिय वाणिज्य बैंकले कस्तो भूमिका खेल्न सक्छ ?
शान्ति, सुरक्षाको अवस्था सुदृढ र मजबुत बनाउन सकेमा लगानीमैत्री वा व्यवसायमैत्री वातावरण सृजना हुन्छ। विगतमा पनि अर्थतन्त्रले कठिन परिस्थिति सामना गर्नुपरेको र त्यसलाई विस्तारै लयमा फर्काउन सफल भएको हुँदा यस प्रकारको स्थिति पनि केही समयपछि सामान्य बन्छ भन्ने विश्वास लिन सकिन्छ । तर त्यसका लागि राजनीतिक स्थायित्व, शान्ति, सुरक्षाको ग्यारेन्टी हुनु जरुरी छ । देशमा शान्ति सुरक्षा र नीतिगत स्थायित्व कायम हुने हो भने अर्थतन्त्र चलायमान हुन्छ। अर्थतन्त्रको गतिशीलतामा भूमिका खेल्ने
सबै प्रकारका व्यापार, व्यवसाय, उद्योग, सेवा क्षेत्रका गतिविधि एकअर्कामा परिपूरक हुने र अर्थतन्त्रको चक्रमा समावेश हुने हुनाले एउटा क्षेत्रलाई असर परेमा सिङ्गो अर्थतन्त्रमा असर पर्छ। राज्यले अहिलेको विषम परिस्थितिमा व्यवसायीहरूका लागि राहतका कार्यक्रमहरू ल्याएको छ । बैंक कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधामार्फत प्रभावित कर्जाका ग्राहकहरूका लागि राहत प्रदान गर्ने व्यवस्था गरेको छ। यस बैंकले पनि अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमका सहुलियतका प्याकेजहरू सञ्चालन गरिरहेको छ।
राष्ट्रिय वाणिज्य बैंकले ६१ औं वार्षिकोत्सव मनाउन लागिरहेको सन्दर्भमा बैंकलाई अरू बैंकभन्दा अझ सशक्त, जिम्मेवार, प्रतिस्पर्धी र सेवाग्राहीमैत्री बनाउन बैंकले के-कस्ता योजनाहरू अगाडि सारेको छ ?
हामी ६० वर्ष पूरा गरेर ६१ औं वर्षमा प्रवेश गर्दैछौं । ६१ वर्ष भन्दा यो बैंक पुरानो बैंक हो कि भन्ने सर्वसाधारणको मनमा लाग्न सक्छ, तर यथार्थमा त्यो होइन। हामी उमेरले त्यति भयौं तर यहाँ काम गर्ने जनशक्ति योग्य, क्षमतावान र युवा जोस, जाँगर भएको जनशक्ति छ। अहिले बैंकमा ३२-३४ वर्षको सरदर उमेर भएका कर्मचारीहरू कार्यरत छन्। योग्य र सक्षम जनशक्ति लोकसेवा आयोगको परीक्षा पास गरी प्रतिस्पर्धाबाट छानिएर आएका छन् ।
कुनै पनि संस्था त्यस बेलासम्म जीवन्त रहन्छ, जबसम्म उक्त संस्थामा काम गर्ने जनशक्ती क्रियाशील हुन्छन्, जीवन्त हुन्छन् र गतिशील हुन्छन् । त्यस कारणले हाम्रो अहिलेको अवस्था भनेको युवाहरूले युवाकै आवाजलाई सम्बोधन गर्नुपर्ने हो। यस अर्थमा अहिलेको बदलिँदो परिस्थितिमा युवाका चाहनाहरूलाई सम्बोधन गर्न सक्ने भनेको राष्ट्रिय वाणिज्य बैंक हो र प्रतिस्पर्धी बैंकहरूको भन्दा राष्ट्रिय वाणिज्य बैंकको जनशक्तिले त्यसलाई पुरा गर्न सक्छ भन्नेमा हामी विश्वस्त छौं। त्यसै कारणले हामीले युवावर्गको चाहनालाई हाम्रो प्राथमिकतामा राखेका छौं।
वर्तमान जनशक्तिबाट हामीले बैंकको कार्यशैलीलाई समयानुकूल बनाई निर्धारित योजनाहरू सम्पन्न गर्न सक्षम छौं। यसलाई अरू बैंकभन्दा अझ सशक्त, जिम्मेवार, प्रतिस्पर्धी र सेवाग्राहीमैत्री बनाउन हामीले गर्ने क्रियाकलापहरूलाई प्राथमिकतापूर्वक राखेर सम्पन्न गर्ने योजनामा छौं। हामीले प्रत्येक वर्ष वार्षिक कार्यक्रम र योजना तर्जुमा गरी कार्य गर्ने गरेका छौं। सोअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ का लागि पनि हामीले विभिन्न ७ वटा योजनाहरूलाई मुख्य प्राथमिकतामा राखेर कार्य गर्दै आएको छौं। हाम्रो पहिलो प्राथमिकता भनेको व्यवसाय विस्तार गर्ने र निष्क्रिय कर्जा व्यवस्थापन नै हो। दोस्रो प्राथमिकताका रूपमा सूचना प्रविधिको विकास, डिजिटल सेवामा विस्तार, साइबर सेक्युरिटीमा सुदृढीकरण र व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित बनाउने रहेको छ। त्यसै गरी जनशक्ति विकास गर्ने तेस्रो, कार्यकुशलता अभिवृद्धि र सम्पत्तिको व्यवस्थापन चौथो, संस्थागत सुशासन, कम्प्लायन्स, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढीकरण गर्ने पाँचौं, Business Process Re-engineering चैटौं र कर्पोरेट ब्रान्डिङ तथा रणनीतिक बजारीकरणलाई सातौं प्राथमिकतामा रूपमा राखेर कार्य गर्दै आएका छौं। उल्लिखित प्राथमिकताहरूलाई केन्द्रमा राखेर बैंकको व्यवसाय वृद्धि, मानव संसाधनको विकास, सूचना प्रविधिको उच्चतम प्रयोग, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रणमा जोड दिँदै आएका छौं।
राष्ट्रिय वाणिज्य बैंकले तर्जुमा गर्न लागेको रणनीतिक योजना, २०२५-२०३० मा प्राथमिकताका क्षेत्रहरू के-के छन् ?
हामीले ५ वर्ष अगाडि पनि बैंकको रणनीतिक योजना, २०२०-२०२५ तर्जुमा गरी कार्यान्वयन गरिसकेका छौं। यसै वर्षदेखि हामीले बैंकको रणनीतिक योजना, २०२५-२०३० तर्जुमा गरी कार्यान्वयनतर्फ अगाडि बढिरहेका छौं । यस योजनामा हामीले आगामी ५ वर्षमा यस बैंकलाई कहाँ पुऱ्याउने भन्ने भिजन तय गरेका छौं र सो भिजन हासिल गर्न विभिन्न प्राथमिकताहरू निर्धारण गरेका छौं । पहिलो प्राथमिकता व्यवसायको विस्तार हो । हामीले सूचना प्रविधिको अधिकतम प्रयोग गरी बैंकमा कार्यरत कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै सुरक्षित र समयानुकूल गुणस्तरीय बैंकिङ सेवा सुविधाहरू ग्राहकलाई उपलब्ध गराउने रणनीति लिएका छौं। यो बैंक नेपाल सरकारको स्वामित्व भएको सबै सर्वसाधारणको बैंक भएकाले आमनागरिकप्रतिको जवाफदेहितालाई निर्वाह गर्ने र जोखिमलाई न्यूनीकरण गरेर व्यवसायलाई अब्बल तरिकाले विस्तार गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित छ। साथै, देशका ऐन, नियम, कानुनको पूर्ण परिपालना गरेर नेपाल सरकार र नेपाल राष्ट्र बैंकले दिएका निर्देशनलाई पालना गरेर अधिकतम सेवा प्रवाह गर्ने विषयमा हामी कटिबद्ध रहेका छौं। हाम्रो लक्ष्य यस बैंकलाई नेपालको बैंकिङ क्षेत्रमा एउटा पायनियर बैंकका रूपमा विकास गरि परिचित गराउने रहेको छ।
मैले हरेक पटक हाम्रा गोष्ठीमा, कर्मचारी मित्रहरूसँगको भेटघाटमा र उच्च व्यवस्थापनका हरेक बैठकमा भन्ने गरेको छु कि अहिले हामीसँग यो सुवर्ण अवसर छ, यो अवसर अब यसभन्दा पछाडि नआउन पनि सक्छ । यो अहिलेको अवसर भनेको हामीसँग जति कर्मचारी मित्रहरू आउनुभएको छ, सबै नयाँ ऊर्जा लिएर आउनुभएको छ, नयाँ सोच लिएर आउनुभएको छ। उहाँहरूले अबको यो चार-पाँच वर्षको बिचमा यस बैंकलाई जति माथि लैजानुपर्ने छ, त्यो अप्टिमम हो। त्योभन्दा पछाडि फेरि नयाँ कर्मचारीको इन्टेक हुन सक्ने अवस्था छैन, किनभने डिजिटाइजेसनको युगमा हामी हुन्छौं, डिजिटाइजेसनमा जाने बित्तिकै अहिलेको जस्तो शाखा सञ्जाल नहुन सक्छ, शाखा सञ्जाल कम हुने बित्तिकै त्यहाँ नयाँ भर्ना हुन सक्ने अवस्था रहँदैन । यस अर्थमा कर्मचारी साथीहरूलाई मैले सधैं उत्प्रेरित गरिराखेको छु कि यो अवसर हो र यस अवसरलाई हामीले कसरी उपयोग गर्ने र बैंकलाई सबभन्दा पायनियर बैंकका रूपमा स्थापित गर्ने भन्ने विषयमा हामी गम्भीर हुन जरुरी छ। हामीले सेवा प्रवाह राम्रो गर्न सक्यौं भने मात्रै बैंक पायनियर हुन्छ । गुणस्तरीय ग्राहक सेवा हाम्रो प्राथमिकता हो भनेर त्यसतर्फ हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।
राष्ट्रिय वाणिज्य बैंकले हालसम्म सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छैन । यस बैंकलाई पूर्ण सरकारी स्वामित्व दिइनुपर्छ भन्ने एकथरी बैंकिङ विश्लेषकको तर्क छ भने अर्काथरीले बैंकको सेयर पूँजी वृद्धि गर्न, बैंकलाई थप मजबुत बनाउन र यसको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सर्वसाधारणलाई सेयर निष्कासन गर्नुपर्ने तर्क राख्छन् । बैंकले विगतमा यस सम्बन्धमा निर्णय पनि गरेको थियो। यो प्रक्रिया के हुँदै छ ?
तत्कालीन बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ ले बैंक तथा वित्तीय संस्थाहरू पब्लिक लिमिटेड कम्पनीका रूपमा दर्ता हुनुपर्ने र कम्तीमा ३० प्रतिशत सेयर पब्लिकलाई जारी गर्नुपर्ने व्यवस्था थियो। सोअनुसार अन्य सबै बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गरी सर्वसाधारणको स्वामित्व निश्चित गरका छन्। तर यो बैंक स्थापनाकालदेखि नै नेपालर सरकारको पूर्ण स्वामित्वमा स्थापना भएकाले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने कार्य हुन सकेको थिएन। यस सम्बन्धमा वि.सं. २०७१ सालमा मन्त्रिपरिषद्बाट निर्णय पनि भएको हो, तर वि.सं. २०७३ सालमा उक्त ऐनमा नेपाल सरकाले चाहेको अवस्थामा सर्वसाधारण सेयर निष्कासन गर्नुपर्ने व्यवस्था बाध्यकारी नहुने गरी संशोधन भयो । मेरो व्यक्तिगत विचारमा बैंकले सेयर सर्वसाधारणका लागि निष्कासन गरी पुँजीको आधार सुदृढ गर्नु उपयुक्त नै हुन्छ भन्ने लाग्छ। तर यो कुराको निर्णय चाहिँ सरकार आफैले गर्ने हो।
सरकारको अधिकांश स्वामित्व रहेका नेपाल बैंक लि. र कृषि विकास बैंक लि. मा पनि सर्वसाधारणको सेयर रहेको छ, तर ती बैंकहरूले पनि सरकारका कार्यक्रमहरूलाई कार्यान्वयन गरी नै राखेका छन् । अझ नेपालमा स्थापना भई सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरू नेपालको विद्यमान ऐनअन्तर्गत रहने हुँदा त्यस्ता सबै बैंक तथा वित्तीय संस्थाले सरकारका वित्तीय नीति कार्यान्वयनमा सहयोग गरी नै रहेका छन्। त्यसैले सरकारका नीति नियमहरूलाई कार्यान्वयन गर्न अब पहिला जस्तो सरकारको पूर्ण स्वामित्वको कुनै बैंक नै हुनुपर्छ जस्तो मलाई लाग्दैन ।
पछिल्लो समय डिजिटल बैंकिङ कारोबार बढ्दै जाँदा विभिन्न किसिमका डिजिटल ठगी तथा जालसाजीका घटनाहरू पनि बढ्दै गइरहेका छन् । साइबर अपराधजन्य घटनाबाट बैंक र यसका ग्राहकहरूलाई जोगाउन बैंकले के-कस्ता प्रविधि र सुरक्षा प्रबन्ध गरिरहेको छ ?
अहिलेको युग प्रविधिको युग हो। बैंकिङ क्षेत्रमा प्रविधिको अझ धेरै प्रयोग हुन्छ। हामीले पनि बैंकिङ कारोबार सञ्चालन गर्न आधुनिक प्रविधिको प्रयोग गरिरहेकै छौं। प्रविधिले छिटोछरितो र यथार्थ कारोबार गर्न मद्दत त गर्छ, तर यसको सही किसिमले उपयोग गर्न नसकेमा विभिन्न जोखिमसमेत हुने भएका कारणले हामीले आवश्यक सुरक्षा प्रबन्धलाई अझ बलियो बनाएका छौं।
प्रविधिको प्रयोगमा उत्पन्न हुन सक्ने जोखिमका सम्बन्धमा बैंक मात्र नभई ग्राहकहरू पनि सुसूचित हुनु आवश्यक हुन्छ। पछिल्लो समयमा बैंकहरूले प्रयोग गरेका सफ्टवेयरहरूमा विभिन्न प्रकारका अट्याकहरू हुने, ह्याकिङ हुने, थ्रेटहरू आउने गरेको सुनिन्छ। त्यसै गरी ग्राहकले गर्ने डिजिटल कारोबारमा पनि विभिन्न प्रकारका ठगी र जालझेलहरू हुने गरेको देखिएको छ। यस प्रकारका जोखिमबाट बच्न बैंकले साइबर सेक्युरिटीसम्बन्धी व्यवस्थालाई सुदृढ गर्नुपर्ने र ग्राहकहरूले पनि सतर्कतापूर्वक डिजिटल कारोबार गर्नुपर्ने देखिन्छ । बैंकहरूले ग्राहकहरूलाई यस्ता ठगीहरूबाट जोगिन अपनाउनुपर्ने उपायहरूका सम्बन्धमा सुसूचित गर्नुपर्छ। हामीले ग्राहकहरूमा वित्तीय कारोबारमा अपनाउनुपर्ने सावधानीका सम्बन्धमा सुसूचित गराउने कार्यमा जोड दिएका छौं। त्यसै गरी बैंकले प्रयोग गरेका सफ्टवेयरहरूलाई साइबर आक्रमणबाट जोगाउन विभिन्न प्रकारका सुरक्षा प्रबन्धहरू गरेका छौं। फलस्वरूप हालसम्म त्यस्ता घटना हुन पाएका छैनन् ।
प्रविधिको दुरुपयोगमा आन्तरिक रूपमा कर्मचारीको समेत भूमिका रहन सक्ने कुरा केही घटनाहरूले पुष्टि गरेको हुँदा हामी सो सम्बन्धमा सूक्ष्म रूपमा निगरानी गरिरहेका छौं। कोर बैंकिङ सिस्टममा भएका अस्वाभाविक कारोबारहरूको अनलाइन अनुगमनको समेत व्यवस्था गरिएको छ। यस्ता सबै सुरक्षा व्यवस्थाबाट प्रविधिको प्रयोगमा उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ।
अबको बैंकिङ व्यवसायको प्रतिस्पर्धा कृत्रिम बुद्धिमता (AI) को प्रयोगमार्फत हुने देखिन्छ । नेपाल राष्ट्र बैंकले पनि AI सम्बन्धी मार्गदर्शन जारी गर्ने तयारी गरिरहेको छ । यस सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले AI को प्रयोगमार्फत सञ्चालन लागत न्यूनीकरण गर्न र बैंकको उत्पादकत्व वृद्धि गर्न कस्ता नीति तथा योजना अगाडि बढाएको छ ?
कृत्रिम बुद्धिमता (AI) नयाँ Technology का रूपमा आएको र बैंकहरूमा प्रयोग पनि भइरहेको अवस्था छ। हामी पनि यस्तो प्रविधिको प्रयोगबाट कसरी कारोबारलाई चुस्तता दिन सकिन्छ, यसको प्रयोगमा कस्ता प्रकारका सुरक्षा चुनौतीहरू आउन सक्छन र तिनीहरूलाई हामी कसरी रोक्न सक्छौं भन्ने बारेमा छलफलका क्रममा छौं। यद्यपि अहिलेसम्म हामीले यसलाई कुन क्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने निष्कर्षमा पुग्न सकेका छैनौं। तर AI लाई प्रयोग गरेर हाम्रा कारोबारहरूलाई कसरी समयमानुकूल अद्यावधिक गर्न सकिन्छ भन्नेमा छौं। यस विषयमा नेपाल राष्ट्र बैंकबाट कस्तो निर्देशन आउँछ र कसरी जान सकिन्छ भन्नेमा हामी छौं।
नेपालको सबैभन्दा धेरै ग्राहक सङ्ख्या भएको राष्ट्रिय वाणिज्य बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट कस्तो सह्योगको अपेक्षा गरेको छ ?
स्वाभाविक रूपमा नेपाल सरकारको करिब शतप्रतिसत सेयर भएको बैंक र नेपालमा सर्वाधिक स्थानमा बैंकिङ सेवा प्रवाह गरिरहेको बैंक भएको नाताले यस बैंक, नेपाल सरकार र नेपाल राष्ट्र बैंकबिच विशेष सम्बन्ध रहेको छ । सरकारका नीतिहरूको कार्यान्वयनमा नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा भूमिका निर्वाह गरिरहेको हुन्छ भने हाम्रो बैंकलगायत अन्य बैंक तथा वित्तीय संस्थाले पनि महत्त्वपूर्ण सहयोग पुऱ्याइरहेका हुन्छन् । नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट विगतदेखि नै यस बैंकलाई विभिन्न विषयमा बारम्बार सहयोग पुग्दै आएको छ। नेपाल राष्ट्र बैंकले दिएका निर्देशनहरूलाई पूर्ण पालना गरेर जाने कुरामा हामी सबै बैंक तथा वित्तीय संस्थाहरू प्रतिस्पर्धी रूपमा एउटै ऐनको व्यवस्थाबमोजिम सञ्चालित छौं। अन्य बैंक तथा वित्तीय संस्थाहरू जस्तै हामी पनि त्यही रूपमा प्रतिस्पर्धामा जान्छौं र गरिरहेकै पनि छौं। नियमनकारी निकायका नजरमा हामी सबै बैंक तथा वित्तीय संस्थाहरू समान छौं। तर पनि सरकारी बैंक भएको हुनाले हामीले धेरै ठाउँमा सरकारी कारोबार पनि सञ्चालन गर्दै आएका छौं । सरकारी कारोबारसँगै नोटकोष पनि हामी चलाइराखेका छौं ।
सरकारको बैंकका रूपमा हामी उपस्थित भएर थप जिम्मेवारीका साथ काम गरिरहेका छौं । त्यसैले अन्य बैंक तथा वित्तीय संस्थाहरूभन्दा फरक र विशेष जिम्मेवारीका कारण हामी नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट विद्यमान ऐन कानुनको व्यवस्थाभित्रै रहेर हामीलाई काम गर्नलाई थप सहजीकरण हुने अपेक्षा गर्दछौं। हालसम्म नेपाल सरकार र नेपाल राष्ट्र बैंकबाट हामीले पाएको सहयोग र मार्गदर्शनका लागि हार्दिक आभार व्यक्त गर्दछु र हार्दिक धन्यवाद भन्न चाहन्छु।
अन्त्यमा, यस बैंकको ६१ औं वार्षिकोत्सवका अवसरमा बैंकका सेयरधनी, नियामक निकाय, कर्मचारीहरू, ग्राहक वर्ग, शुभेच्छुक, सरोकारवालालगायत आम सर्वसाधारणलाई के कस्तो सन्देश दिन चाहनुहुन्छ ?
आम सर्वसाधारण महानुभावहरूमा यो निवेदन गर्न चाहन्छु कि यहाँहरूको सहयोग, सुझाव, समन्वय र योगदानबाट बैंक आज देशको अग्रणी बैंकका रूपमा स्थापित हुन पुगेको छ। बैंकले आज राम्रो प्रतिष्ठाका साथ मुलुकका ७ प्रदेश, ७७ वटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ। यहाँहरूलाई निरन्तर सेवा प्रदान गर्ने जुन अवसर हामीलाई दिनुभएको छ, यहाँहरूले जुन सहयोग गर्नुभएको छ, त्यसप्रति बैंक व्यवस्थापनसहित समग्र बैंक परिवार आभार व्यक्त गर्दछ र यहाँहरूको उत्तरोत्तर प्रगति हुँदै जाँदा बैंकको पनि उत्तरोत्तर प्रगति हुन्छ भन्ने कामना गर्दछौं। यहाँहरू बैंकसँग जोडिनुस्, आफ्नो व्यवसायलाई विस्तार गर्नुस्, नयाँ व्यवसायहरू गर्नुस्, उद्यमी बन्नुस्, रोजगारीका अवसरहरू सिर्जना गर्नुस्, यही देशमा केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावनाका साथ काम गर्नुस् भन्ने सबैमा हार्दिक अनुरोध छ।
अन्त्यमा, राष्ट्रिय वाणिज्य बैंक लि. ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रवेश गर्न लागेको यस सुखद् अवसरमा म बैंकका समस्त ग्राहक वर्ग, बैंकको अभिभावकका रूपमा रहेका नेपाल सरकार, बैंकका सेयरधनीहरू, नेपाल राष्ट्र बैंकलगायत अन्य नियामक निकाय, कर्मठ एवम् लगनशील कर्मचारी वर्ग, क्रियाशील ट्रेड युनियनलगायत अन्य सरोकारवाला सङ्घ संस्था, निकाय, व्यक्ति सबैमा हार्दिक आभार एवम् शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको सहयोग, सुझाव, समन्वय र योगदानबाट बैंकले आज राम्रो प्रतिष्ठाका साथ मुलुकका सातै प्रदेशका सतहत्तरवटै जिल्लामा शाखा विस्तार गरी सेवा प्रवाह गरिरहेको छ। आगामी दिनमा समेत यहाँहरूबाट यस्तै साथ र सहयोग प्राप्त हुने छ भन्ने विश्वास लिएको छु। साथै, बदलिँदो समयसँगै यस बैंकका सेवा सुविधाहरूमा समयानुकूल परिमार्जन गर्दै देशको आर्थिक विकासको पथमा दरिलो सारथीको भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)













.jpeg)



प्रतिक्रिया