शेयर बजारले अहिलेसम्मकै सर्वाधिक विन्दुलाई क्रस गर्न नेप्से सूचक ५३ सय नाघ्नु पर्ने !
- अरुण सापकोटा
- 2026 Feb 28 10:55
काठमाडौं। निर्वाचन अगाडी शेयर बजारमा खासै उत्साह देखिएको छैन। शेयर बजारले जहिले पनि आगामी दिनलाई प्रोजेक्सन गर्छ। भोलि हुन सक्ने सकारात्मक कुरालाई अहिले नै रियाक्ट गर्छ। विगत ४ वर्ष ६ महिनादेखि शेयर बजार वियरिस ट्रेण्डमा छ। २०७८ भदौ २ गते नेप्से सूचक सर्वाधिक धेरै ३१९९ अंक पुगेको थियो। यहि विन्दुबाट ओरालो झरेको शेयर बजार १८३१ अंकसम्म तल झर्यो। हाल नेप्से सूचक २६५४ अंकमा छ।
सूचकमा हिसावले २६५४ देखिए पनि सूचिकृत कम्पनीको शेयर मूल्य लगभग इतिहासकै न्युन विन्दुमा छ। यहि साढे ४ वर्ष अवधिमा नेप्से सूचक ३ हजार अंकसम्म पुग्यो। २४ सयदेखि २७ सयको विन्दुमा साइडवेज भयो। सूचक स्थिर देखिदै गर्दा यसको पछाडी नयाँ सूचिकृत कम्पनीको सबैभन्दा ठुलो योगदान छ। आधार मूल्य १०० रुपैयाँका कम्पनी बढेर एक हजारसम्म पुग्ने र सूचकलाई घट्न नदिने काम भयो। तर अन्य ठूला पूँजी भएका कम्पनीको शेयर मूल्यमा भने भारी गिरावट आएको छ।
सरकारले वा विश्लेषकले सूचकमा ठुलो गिरावट नदेखेता पनि पुराना शेयरधनी जसले लामो समयदेखि शेयर होल्ड गरेर बसेका थिए उनिहरुको पोर्टफेलियो दुई दशक यताकै न्युन विन्दुमा छ। अझ बैंक वित्तीय संस्थाका शेयरधनीको अवस्था हेर्ने हो भने निकै नाजुक छ।
चार वर्ष अगाडी र अहिलेको शेयर बजार विच तुलना
जतिवेला शेयर बजार उच्चतम विन्दुमा थियो त्यतिवेला सूचिकृत कम्पनीहरुको चुक्ता पूँजी ६ खर्ब ८४ अर्ब रुपैयाँ थियो। अहिले चार वर्ष ६ महिना पछि हेर्ने हो भने ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यहाँ ६ खर्ब ८४ अर्बको कम्पनीको सूचक ३१९९ अंक हुँदा ११ अर्ब ३९ अर्बको कम्पनीको सूचक २६५४ अंक रहेको छ। यहीबाट बजारको भ्यालु कतिसम्म तल गिरावट भएको छ भन्ने पुष्ठी हुन्छ। यस हिसावले तत्कालिन समयको ३१९९ अंकको सूचकमा कम्पनीहरुको भ्यालु पाउन अहिलेको पूँजीका हिसावले ५३२६ अंक पुग्नु पर्ने हुन्छ। अनिमात्र तत्कालिन समयका लगानीकर्ताले न्याय पाउन सक्छन्।
तर बजार निर्मम हुन्छ। सबै कम्पनीको मूल्य समावेशी रुपमा सुधार हुँदैन। बजार एकोहोरो बढ्दै जादा कुनै कम्पनीको अस्वभाविक सुधार देखिन्छ भने कुनै कम्पनी बढ्नै सक्दैनन्। यो लगानीकर्ताको मनोबलमा भर पर्छ। त्यसैले यति पुग्दा न्याय पाउन सक्छन् भन्नु पनि स्वभाविक हुँदैन। यद्यपी लगानीकर्ताको पोर्टफेलियो तत्कालिन समयको तुलनामा हाल कतिसम्म गिरेको छ भन्ने कुराको भने पुष्ठी हुन्छ।
अहिलेकै अवस्थामा शेयर बजार निकै तल्लो विन्दुमा छ। यस अगाडीको बुल विगतका बुलको तुलनामा निकै अगाडी आएको थियो। नेपालको सन्दर्भमा ८/८ वर्षको अवधिमा बुल वियरिसको ट्रेण्ड चल्ने गरेको छ। तर कोभिड १९ को विषम परिस्थितिमा नेपालको शेयर बजारले नयाँ उचाइ लियो। त्यो पनि एकदमै छोटो अवधिमा। यसले गर्दा अहिलेसम्म पनि त्यसको पराकम्पन लगानीकर्ताले धानिरहनु परेको छ।
विगतका वर्षको वुल र वियर र्याली
सन् १९९७ देखि २०० को अवधिमा नेप्से सूचक १०० बाट ५४५ अंक पुगेको थियो । त्यति वेला ४० महिनाको अवधिमा नेप्से सूचक ४४५ प्रतिशतले सुधार हुँदै ५४५ पुगेको हो । सन् २००० को नोभेम्बरमा अधिकतम ५४५ अंकबाट १९५ अंकसम्म तल झर्यो । यसका लागि पनि करिव ४० महिना नै लागेको थियो । यस्तो ट्रेण्ड सन् २००४ सम्म चल्यो ।
दोस्रो बुल १९५ अंकबाट सुरु भयो । सन् २००४ देखि २००८ सम्मको अवधिमा नेप्से सूचक १९५ बाट ११७५ अंकसम्म पुग्यो । यस अवधिमा पनि नेप्से सूचक ५०२ अंकले सुधार भएको देखिन्छ । यो बुल करिव ५२ महिना चल्यो ।
दोस्रो बिरियस ट्रेण्ड सन् २००८ देखि २०१२ सम्म चल्यो । यस अवधिमा नेप्से सूचक अधिकतम ११७५ बाट ३०० सयसम्म तल झर्यो । पहिलो बुलको अधिकतम विन्दु भन्दा केहि तल झर्यो । करिव ४२ महिनाको अवधिमा लगानीकर्ताले ठुलो रकम गुमाउनु परेको थियो । यस अवधिमा नेकपा माओवादीबाट अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईको अभिव्यक्ति प्रमुख कारण बन्यो ।
तेस्रो बुल सन् २०१२ देखि २०१६ सम्मको अवधिमा चल्यो । यस अवधिमा ३०० अंकको नेप्से सूचक १८८१ अंकसम्म पुग्यो । करिव ५२ हप्ताको अवधिमा ५३० प्रतिशतले शेयर बजारमा सुधार देखियो । अघिल्ला दुई वटा बुलमा पनि नेप्से सूचक ४४५ र ५०२ प्रतिशतले सुधारिएको थियो ।त्यस पछिको तेस्रो वियरिस मार्केटलाई हेर्ने हो भने १८८१ बाट ११०० सम्म तल झर्यो । यसका लागि करिव ४० महिना लाग्यो ।
अहिले शेयर बजारमा चौथो वियरिस चलिरहेको छ । अहिलेको वियरिस ३२०० सयबाट १८३३ अंक भन्दा तल झरेर विस्तारै उकालो लाग्ने क्रममा छ। यसलाई कतिपयले वियरिस सकिएर बुल सुरु भएको संज्ञा दिइरहेका छन्। अवको केहि समय शेयर बजारमा राम्रो सुधार हुने निश्चित छ। तर कहिलेसम्म त्यो भने भन्न सकिदैन। यदि दीर्घकालिन लगानी गर्ने र बुल कुर्ने हिम्मत गर्ने हो भने अवको दिन शेयर बजारका लागि उर्वर छ।
नेपालको शेयर बजारमा विगत ३० वर्षको बुलिस र वियरिस ट्रेण्डलाई हेर्ने हो भने अहिले चौथो वियरिस ट्रेण्डबाट पाचौ बुलको सुरुवातको चरणमा छ । कोभिड १९ को समयमा जसरी प्रयाप्त तरलता थियो। अहिले बैंकिङ प्रणालीमा त्यो भन्दा धेरै तरलता छ। तर यस पटक अधिक तरलता अर्थतन्त्र र बैंकिङ प्रणालीलाई निकै सकसपुर्ण बन्दै गइरहेको छ। यसको प्रमुख कारण निक्षेप संकलनको तुलनामा कर्जा विस्तार निकै कम छ। विस्तार नभएको होइन साढे २ अर्बले निक्षेप बढ्दा साढे २ अर्ब हाराहारीको कर्जा विस्तार भएको छ।
यस पछि बजारलाई सपोर्ट गर्ने अर्को फ्याक्टर राजनीतिक घटनाक्रम हो। गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनले नेपालको राजनीतिलाई नयाँ मोडमा ल्याइदिएको छ। आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। जवकी हरेक चुनाव अगाडी शेयर बजारले राम्रो रियाक्ट गर्छ तर यस पटक त्यस्तो देखिएको छैन। अहिलेको चुनाव कुनै आर्थिक वा राजनीतिक मुद्दामा केन्द्रित छैन केवल नयाँ र पुरानाको आक्रोशमा केन्द्रित छ। पुराना दलले नयाँ दललाई चटकी भनिरहदा नयाँले ३० औं वर्षदेखि के गरेर बस्यौ भनिरहेका छन्। जवकी अहिले चुनाव व्यक्तिविशेष नभइ मुद्दा केन्द्रित हुनु पर्ने थियो। यहि कारण पनि शेयर बजारले खासै रियाक्ट गर्न सकिरहेको छैन।
भोलि जसले चुनाव जिते पनि देशको मुहार कस्तो हुन्छ भन्ने परिकल्पना समेत भइरहेको छैन। देश पुर्ण रुपमा चुनावमा होमिएको छ। सबै दलहरु आ-आफ्नो घोषणापत्र सहित जनताको घरदैलोमा मतका लागि होमिएका छन्। उनिहरुले प्रस्तुत गरेका घोषणापत्र सँगै उनिहरुको कार्यशैली, नैतिकता र विगतलाई समेत मूल्याङ्कन गरिरहेका छन्। जेनजी आन्दोलन पछि विकसित घटनाक्रमबाट सिर्जित निर्वाचनले दल र उम्मेद्धारको परीक्षण हुँदैछ।
६६ वटा दलले निर्वाचनमा भाग लिएका छन्। १६५ क्षेत्रका लागि स्वतन्त्र ११४३ जना सहित कुल ३४०६ जनाले निर्वाचनमा उम्मेद्धारी दिएका छन्। यस बाहेक समानुपातिक तर्फ ११० जनाका लागि सबै दलहरुले आ-आफ्नो तर्फबाट बन्द सूचिक प्रस्तुत गरेका छन्।
कुल ६६ दल मध्ये अहिले चार वटा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीको चर्चा सबैभन्दा धेरै छ। सम्भवत अव बन्ने संसदबाट सरकारको बागडोर यिनै चार दल मध्येबाट हुने निश्चित छ। नेकपा एमालेको घोषणापत्र, नेपाली कांग्रेसको प्रतिज्ञापत्र, राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र, नेपाली कम्युनिष्ट पार्टीको प्रतिवद्धता पत्र भनेर नाम दिइएको छ।
अहिले यि चार वटा दलले प्रस्तुत गरेका घोषणापत्रमा अर्थतन्त्रलाई पहिलो प्राथमिकतामा राखिएको पाइन्छ। तर जुन हिसावले आर्थिक मुद्दाहरुलाई उठाउन खोजिएको छ ति प्रायः सतही छन्। यहाँ गहिरो अध्ययन र विश्लेषण भने गरिएको छैन। यसले गर्दा आगामी दिनमा कुन दलले निर्वाचन जितेमा नेपालको अर्थतन्त्रलाई कति फाइदा हुन्छ भनेर पुर्वअनुमान गर्न भने सिकिदैन। उद्योगी व्यवसायीदेखि लिएर सारा नेपालीहरुको फागुन २१ को निर्वाचनको परिणामको प्रतिक्षामा छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1760080292_64756700.gif)

















प्रतिक्रिया