Nepal Life

बालेन बुलको टार्गेट कति हुन सक्ला ?

NMB Bank
  • BFIS News
  • 2026 Mar 09 14:14
बालेन बुलको टार्गेट कति हुन सक्ला ?
National Life

काठमाडौं। प्रतिनिधि सभा निर्वाचन २०८२ पछि बन्ने सम्भावित शक्तिशाली सरकारको संकेतसँगै नेपालकाे शेयर बजारमा नयाँ उत्साह देखिन थालेको छ। दुई तिहाइ बहुमतको सरकार बन्ने लगभग निश्चित देखिएपछि लगानीकर्ताहरूले अब नेप्सेको सम्भावित उच्च विन्दुको अनुमान गर्न थालेका छन्।

Shikhar
NIMB

कतिपय उत्साहित लगानीकर्ताहरूले नेप्से १० हजार अंकसम्म पुग्ने अनुमान गरिरहेका छन् भने धेरैको विश्वास भने अघिल्लो ऐतिहासिक उच्च विन्दु ३१९९ अंक सजिलै पार हुनेमा देखिएको छ।

निर्वाचनको प्रारम्भिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाइ बहुमत नजिक पुगिरहेको छ। यदि पार्टीले दुई तिहाइ बहुमत ल्यायो भने नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली सरकार बन्ने विश्लेषण भइरहेको छ। पुराना राजनीतिक दलहरूप्रति आक्रोशित बनेका मतदाताले रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहसँग जोडिएको राजनीतिक धारलाई बलियो समर्थन दिएको विश्लेषण गरिएको छ।

सोमबार शेयर बजारमा देखिएको उत्साहले पनि लगानीकर्ताको मनोबल बढाएको छ। नेप्से सूचक ६ प्रतिशतले बढ्दै सर्किट लागेपछि कारोबार समयअघि नै बन्द भयो। सूचक १६२ अंकले बढेर २८७५.२३ अंकमा पुगेको छ। बजार विश्लेषकहरूले अहिलेको ट्रेन्डलाई बुलिस संकेतको रूपमा लिइरहेका छन्।

बजारमा अहिले “निलो बुल बनाम हरियो बुल” भन्दै विभिन्न सम्भावित लक्ष्यहरू चर्चा हुन थालेका छन्। केही विश्लेषकहरूले क्रमशः ३०४७, ३२३० र ३४२३ अंकलाई सम्भावित प्रतिरोध क्षेत्रका रूपमा उल्लेख गरेका छन्।

शेयर बजार विश्लेषक नेत्रप्रसाद ढकालका अनुसार नेप्सेको पहिलो लक्ष्य ३७७७ अंक, दोस्रो लक्ष्य ५७७७ अंक र अन्तिम टप ७७७७ अंकसम्म पुग्न सक्ने अनुमान छ।

सामाजिक सञ्जालमा पनि लगानीकर्ताहरूले आ–आफ्ना अनुमान सार्वजनिक गरिरहेका छन्। घनश्याम अधिकारीले “अहिले दुई हल्ट, तेस्रोमा सल्ट” भन्दै बजार अझै माथि जाने संकेत गरेका छन्। शिव थापाले “ज्योतिष बन्नु पर्दैन, माहोल सकारात्मक छ, हेर्दै जाऔँ” भनेका छन्।

दयाराम चौधरीले “बालेन त झुक्दैन, किन्ने मौका नै नदिने हो कि?” भन्दै बजारको तीव्र उकालोबारे टिप्पणी गरेका छन्। तर सबै लगानीकर्ता उत्तिकै आशावादी भने छैनन्। असिम कार्कीका अनुसार “सेन्टिमेन्टका कारण केही दिन बजार बढ्न सक्छ, तर ठूलो बुलका लागि ठोस आधार देखिँदैन।”

अन्य लगानीकर्ताहरूले भने फरक–फरक लक्ष्य दिएका छन्। रमेश ढकालले ४२००, रोशन नायकले ५५००, कृष्णराज पाण्डेले ४१००, युवराज बास्तोलाले ३७०० र विरसिंह खड्काले २० दिनभित्र ३४९९ पुग्ने अनुमान गरेका छन्।

कसैले मजाकमै “बालेनले पाएको भोट जति अंक पुग्ला” भनेका छन् भने केहीले यसलाई “चुनावी बुल” मात्र भएको टिप्पणी गरेका छन्।

यद्यपि केही लगानीकर्ताले सावधानी अपनाउन सुझाव दिएका छन्। लक्ष्मी प्रसाईका अनुसार “नेपालको बजारमा धेरै हौसिँदा उल्टै २२०० सम्म झर्न पनि बेर लाग्दैन।”

२०७८ भदौ २ गते नेप्से सूचक सर्वाधिक धेरै ३१९९ अंक पुगेको थियो। यहि विन्दुबाट ओरालो झरेको शेयर बजार १८३१ अंकसम्म तल झर्यो। आजै नेप्से सूचक २६५४ अंकबाट पहिलो सर्किट लागेको छ। चुनाव अगाडीसम्म सूचकमा हिसावले २६५४ देखिए पनि सूचिकृत कम्पनीको शेयर मूल्य लगभग इतिहासकै न्युन विन्दुमा छ। यहि साढे ४ वर्ष अवधिमा नेप्से सूचक ३ हजार अंकसम्म पुग्यो। २४ सयदेखि २७ सयको विन्दुमा साइडवेज भयो। सूचक स्थिर देखिदै गर्दा यसको पछाडी नयाँ सूचिकृत कम्पनीको सबैभन्दा ठुलो योगदान छ। आधार मूल्य १०० रुपैयाँका कम्पनी बढेर एक हजारसम्म पुग्ने र सूचकलाई घट्न नदिने काम भयो। तर अन्य ठूला पूँजी भएका कम्पनीको शेयर मूल्यमा भने भारी गिरावट आएको छ।

सरकारले वा विश्लेषकले सूचकमा ठुलो गिरावट नदेखेता पनि पुराना शेयरधनी जसले लामो समयदेखि शेयर होल्ड गरेर बसेका थिए उनिहरुको पोर्टफेलियो दुई दशक यताकै न्युन विन्दुमा छ। अझ बैंक वित्तीय संस्थाका शेयरधनीको अवस्था हेर्ने हो भने निकै नाजुक छ।

चार वर्ष अगाडी र अहिलेको शेयर बजार विच तुलना

जतिवेला शेयर बजार उच्चतम विन्दुमा थियो त्यतिवेला सूचिकृत कम्पनीहरुको चुक्ता पूँजी ६ खर्ब ८४ अर्ब रुपैयाँ थियो। अहिले चार वर्ष ६ महिना पछि हेर्ने हो भने ११ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यहाँ ६ खर्ब ८४ अर्बको कम्पनीको सूचक ३१९९ अंक हुँदा ११ अर्ब ३९ अर्बको कम्पनीको सूचक २६५४ अंक रहेको छ। यहीबाट बजारको भ्यालु कतिसम्म तल गिरावट भएको छ भन्ने पुष्ठी हुन्छ। यस हिसावले तत्कालिन समयको ३१९९ अंकको सूचकमा कम्पनीहरुको भ्यालु पाउन अहिलेको पूँजीका हिसावले ५३२६ अंक पुग्नु पर्ने हुन्छ। अनिमात्र तत्कालिन समयका लगानीकर्ताले न्याय पाउन सक्छन्।

तर बजार निर्मम हुन्छ। सबै कम्पनीको मूल्य समावेशी रुपमा सुधार हुँदैन। बजार एकोहोरो बढ्दै जादा कुनै कम्पनीको अस्वभाविक सुधार देखिन्छ भने कुनै कम्पनी बढ्नै सक्दैनन्। यो लगानीकर्ताको मनोबलमा भर पर्छ। त्यसैले यति पुग्दा न्याय पाउन सक्छन् भन्नु पनि स्वभाविक हुँदैन। यद्यपी लगानीकर्ताको पोर्टफेलियो तत्कालिन समयको तुलनामा हाल कतिसम्म गिरेको छ भन्ने कुराको भने पुष्ठी हुन्छ।

अहिलेकै अवस्थामा शेयर बजार निकै तल्लो विन्दुमा छ। यस अगाडीको बुल विगतका बुलको तुलनामा निकै अगाडी आएको थियो। नेपालको सन्दर्भमा ८/८ वर्षको अवधिमा बुल वियरिसको ट्रेण्ड चल्ने गरेको छ। तर कोभिड १९ को विषम परिस्थितिमा नेपालको शेयर बजारले नयाँ उचाइ लियो। त्यो पनि एकदमै छोटो अवधिमा। यसले गर्दा अहिलेसम्म पनि त्यसको पराकम्पन लगानीकर्ताले धानिरहनु परेको छ।

विगतका वर्षको वुल र वियर र्याली

सन् १९९७ देखि २०० को अवधिमा नेप्से सूचक १०० बाट ५४५ अंक पुगेको थियो । त्यति वेला ४० महिनाको अवधिमा नेप्से सूचक ४४५ प्रतिशतले सुधार हुँदै ५४५ पुगेको हो । सन् २००० को नोभेम्बरमा अधिकतम ५४५ अंकबाट १९५ अंकसम्म तल झर्यो । यसका लागि पनि करिव ४० महिना नै लागेको थियो । यस्तो ट्रेण्ड सन् २००४ सम्म चल्यो ।

दोस्रो बुल १९५ अंकबाट सुरु भयो । सन् २००४ देखि २००८ सम्मको अवधिमा नेप्से सूचक १९५ बाट ११७५ अंकसम्म पुग्यो । यस अवधिमा पनि नेप्से सूचक ५०२ अंकले सुधार भएको देखिन्छ । यो बुल करिव ५२ महिना चल्यो ।

दोस्रो बिरियस ट्रेण्ड सन् २००८ देखि २०१२ सम्म चल्यो । यस अवधिमा नेप्से सूचक अधिकतम ११७५ बाट ३०० सयसम्म तल झर्यो । पहिलो बुलको अधिकतम विन्दु भन्दा केहि तल झर्यो । करिव ४२ महिनाको अवधिमा लगानीकर्ताले ठुलो रकम गुमाउनु परेको थियो । यस अवधिमा नेकपा माओवादीबाट अर्थमन्त्री बनेका डा. बाबुराम भट्टराईको अभिव्यक्ति प्रमुख कारण बन्यो ।

तेस्रो बुल सन् २०१२ देखि २०१६ सम्मको अवधिमा चल्यो । यस अवधिमा ३०० अंकको नेप्से सूचक १८८१ अंकसम्म पुग्यो । करिव ५२ हप्ताको अवधिमा ५३० प्रतिशतले शेयर बजारमा सुधार देखियो । अघिल्ला दुई वटा बुलमा पनि नेप्से सूचक ४४५ र ५०२ प्रतिशतले सुधारिएको थियो ।त्यस पछिको तेस्रो वियरिस मार्केटलाई हेर्ने हो भने १८८१ बाट ११०० सम्म तल झर्यो । यसका लागि करिव ४० महिना लाग्यो ।

अहिले शेयर बजारमा चौथो वियरिस चलिरहेको छ । अहिलेको वियरिस ३२०० सयबाट १८३३ अंक भन्दा तल झरेर विस्तारै उकालो लाग्ने क्रममा छ। यसलाई कतिपयले वियरिस सकिएर बुल सुरु भएको संज्ञा दिइरहेका छन्। अवको केहि समय शेयर बजारमा राम्रो सुधार हुने निश्चित छ। तर कहिलेसम्म त्यो भने भन्न सकिदैन। यदि दीर्घकालिन लगानी गर्ने र बुल कुर्ने हिम्मत गर्ने हो भने अवको दिन शेयर बजारका लागि उर्वर छ।

नेपालको शेयर बजारमा विगत ३० वर्षको बुलिस र वियरिस ट्रेण्डलाई हेर्ने हो भने अहिले चौथो वियरिस ट्रेण्डबाट पाचौ बुलको सुरुवातको चरणमा छ । कोभिड १९ को समयमा जसरी प्रयाप्त तरलता थियो। अहिले बैंकिङ प्रणालीमा त्यो भन्दा धेरै तरलता छ। तर यस पटक अधिक तरलता अर्थतन्त्र र बैंकिङ प्रणालीलाई निकै सकसपुर्ण बन्दै गइरहेको छ। यसको प्रमुख कारण निक्षेप संकलनको तुलनामा कर्जा विस्तार निकै कम छ। विस्तार नभएको होइन साढे २ अर्बले निक्षेप बढ्दा साढे २ अर्ब हाराहारीको कर्जा विस्तार भएको छ।

बजारमा सकारात्मक माहोल भए पनि आगामी सरकारले ल्याउने आर्थिक तथा राजनीतिक एजेन्डाले नेप्सेको दीर्घकालीन दिशा तय गर्ने विश्लेषकहरूको भनाइ छ। अहिले भने लगानीकर्ताहरूको एउटै प्रश्न छ— “बालेन बुल” को वास्तविक टार्गेट आखिर कति होला? 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया