NIMB Header 2
Nepal Life

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, देशभर एमालेको विरोध

IME LIFE
  • BFIS News
  • 2026 Mar 28 10:47
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, देशभर एमालेको विरोध
United Ajod

काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ। ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न जरूरी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

Nepal Life
NIMB

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार ओलीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै गरिएको छ। “जरूरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिएका हौँ,” उनले बताए।

ओलीका तर्फबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि पक्राउ पुष्टि गर्दै पुर्जीमा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको उल्लेख रहेको जानकारी दिए। उनका अनुसार, उक्त मुद्दा मुलुकी अपराध संहिता, २०७४ को दफा १८१ र १८२ अन्तर्गत पर्छ।

शनिबार सार्वजनिक बिदा परेकाले प्रहरीले ओलीलाई आइतबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराउने तयारी गरेको छ।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन

प्रहरीले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओलीलाई पक्राउ गरेको हो। उक्त प्रतिवेदनले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शुक्रबार उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि ओलीको गिरफ्तारीको तयारी तीव्र भएको थियो।

पक्राउको घटनाक्रम

शनिबार बिहान करिब ६ बजे जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोली भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेको थियो। प्रारम्भमा घरको गेट बन्द गरिएको थियो र केही समय धकेलाधकेलसमेत भएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले सम्मानपूर्वक साथ लैजाने आश्वासन दिएपछि ओलीले आफू तयार भएको बताएका थिए। “बोलाएको भए आउँथेँ होला, सरकारले प्रतिशोध लिन खोज्यो,” उनले प्रहरीसँग भनेका थिए। त्यसको जवाफमा प्रहरीले आफूहरू आदेशअनुसार आएको जनाएको थियो।

ओलीले आवश्यक औषधि झोलामा राखेपछि पत्नी राधिका शाक्यलाई अँगालो हालेर विदाइ गर्दै प्रहरीसँगै बाहिर निस्किएका थिए। उनलाई आफ्नै गाडीमा जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको छ।

स्वास्थ्य जाँच र हिरासत तयारी

पक्राउपछि ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। त्यहाँबाट उनलाई महाराजगन्जस्थित प्रहरी गणमा राख्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

राजनीतिक प्रतिक्रिया र विरोध

ओली पक्राउसँगै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत कार्की आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयलाई “पूर्वाग्रही र प्रतिशोधपूर्ण” भन्दै खारेज गर्न माग गरेका छन्।

एमालेका भ्रातृ संगठनहरूले पनि संयुक्त विज्ञप्ति जारी गर्दै देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्। सुरक्षा निकायले सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै देशभरका प्रहरीलाई ‘अलर्ट’मा राखेको छ।

कानुनी प्रक्रिया

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गर्न अदालतको अनुमति लिएर २५ दिनसम्म हिरासतमा राख्न सकिन्छ। त्यस अवधिमा अनुसन्धान प्रतिवेदन तयार पारेर अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।

दफा १८१ अन्तर्गत लापरवाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। त्यस्तै, दफा १८२ अन्तर्गत हेलचक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान रहेको छ।

हाल ओलीविरुद्धको अनुसन्धान प्रक्रिया अघि बढाइनेछ भने आइतबार अदालतले हिरासतमा राख्ने वा न राख्ने विषयमा निर्णय गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया