कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
- BFIS News
- 2026 Apr 05 10:27
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (चैत २२ गते) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट सम्पन्न भइसकेपछि कम्पनीले दोस्रो चरणअन्तर्गत सर्वसाधारणमा आईपीओ जारी गरेको हो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकिएको छ।
दोस्रो चरणमा कम्पनीले ४१ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित राखेको छ। बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि निष्काशन गरिएको छ, जसको कुल मूल्य ६ करोड ८४ लाख ७५ हजार रुपैयाँ रहेको छ।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। निष्काशन छिटोमा चैत २५ गते बन्द हुनेछ भने मागअनुसार पूर्ण आवेदन नपरेमा ढिलोमा २०८३ वैशाख ६ गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २९ वर्ष ५ महिना बाँकी रहेको छ। परियोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा छुट दरमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष निर्धारण गरिएको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












.jpg)


प्रतिक्रिया