सुशासनमा अडिग सरकार, ‘ग्रे लिस्ट’बाट नेपाललाई मुक्त गर्ने प्राथमिकता: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- BFIS News
- 2026 Apr 06 12:13
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले पछिल्लो समय सेयर बजार लगायत आर्थिक क्षेत्रमा देखिएको त्रासको वातावरणबारे स्पष्ट पार्दै सरकारले कुनै व्यक्तिविशेषलाई लक्षित गरेर धरपकड नगरेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज सँगको छलफल तथा भेटघाट कार्यक्रममा उनले सरकार सुशासनको एजेन्डामा केन्द्रित रहेको र सोही आधारमा काम भइरहेको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले सरकारले तीन प्रमुख सन्देश दिन चाहेको उल्लेख गर्दै पहिलो प्राथमिकता सुशासन रहेको बताए। “हामी सुशासनको एजेन्डा लिएर आएका हौं। विकास निर्माणका काम केही समय कुर्न सक्लान्, तर सुशासन तत्काल कार्यान्वयन गर्न सकिने विषय हो,” उनले भने। सीमित स्रोत, अपर्याप्त बजेट तथा निजी र वैदेशिक लगानी आकर्षित गर्न समय लाग्ने भए पनि नेतृत्वको स्पष्ट नीति र सफा नियतले छोटो समयमै सकारात्मक संकेत देखिएको उनको दाबी छ।
उनका अनुसार सरकार सुशासनको मुद्दामा कुनै पनि प्रकारको सम्झौता नगर्ने अडानमा छ। “हामी पनि उस्तै रहेछौं भन्ने सन्देश गयो भने त्यो देशका लागि घातक हुन्छ,” उनले चेतावनी दिए।
अर्थमन्त्रीले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट हटाउने कामलाई आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। उनले वित्तीय अपराध, सम्पत्ति शुद्धिकरण र संस्थागत कमजोरीका कारण नेपाल बदनाम भएको उल्लेख गर्दै यसलाई सुधार्न कठोर कदम चाल्न आवश्यक रहेको बताए। “ग्रे लिस्टमा रहेको मुलुकमा गुणस्तरीय लगानी आउँदैन,” उनले भने।
वाग्लेले हाल अघि बढाइएका अनुसन्धानहरू नयाँ नभई विगतदेखि संकलित प्रमाणका आधारमा अघि बढाइएको स्पष्ट पारे। “हामी आएर कसैलाई लक्षित गरेर अनुसन्धान सुरु गरेका होइनौं। वर्षौंदेखि रोकिएका केसहरूलाई कानुनअनुसार अगाडि बढाएका हौं,” उनले भने।
उनले सरकारले दुई विकल्पमध्ये कानुनी प्रक्रियालाई अघि बढाउने निर्णय गरेको बताए। “कसैलाई जोगाउने कि कानुनअनुसार अघि बढ्ने भन्ने विकल्प थियो, हामीले कानुन रोज्यौं,” उनले भने।
अर्थमन्त्रीले वित्तीय अपराधका मुद्दामा अनावश्यक प्रदर्शन वा हतकडी लगाएर अपमान गर्ने नीति नरहेको स्पष्ट पारे। “यो ह्वाइट कलर क्राइम हो, हत्या जस्तो अपराध होइन। मुद्दा चल्छ, जरिवाना हुन्छ, तर अनावश्यक दुःख दिने हाम्रो उद्देश्य होइन,” उनले भने।
निजी क्षेत्रलाई निरुत्साहित नगर्ने प्रतिबद्धता जनाउँदै उनले वास्तविक अपराधीलाई भने उन्मुक्ति दिन नहुने बताए। “दण्डहीनताले नै नेपालको अर्थतन्त्र र राजनीति कमजोर बनाएको हो,” उनले भने।
उनका अनुसार हालै सार्वजनिक भएका केही ठूला सम्पत्ति शुद्धिकरणका मुद्दाहरू अर्बौं रुपैयाँसँग सम्बन्धित छन् र यस्ता गम्भीर विषयमा सरकारले आँखा चिम्लन नसक्ने बताए। यद्यपि, निजी क्षेत्रका अन्य व्यक्तिहरूलाई अनावश्यक रूपमा जेल हाल्ने वा बदनाम गर्ने कार्य रोकिएको उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले सरकार कानुन कार्यान्वयनको चरणमा प्रवेश गरेको उल्लेख गर्दै नैतिक बलका आधारमा काम गरिरहेको बताए। “हामी कसैको प्रभावमा छैनौं, त्यसैले कानुन कार्यान्वयन गर्न सक्षम भएका छौं,” उनले भने। सरकारले सुशासनमार्फत लगानीको वातावरण सुधार गर्दै अन्तर्राष्ट्रिय विश्वास पुनःस्थापित गर्ने लक्ष्य लिएको उनको भनाइ छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल सेयर बजारलाई लिएर फैलाइँदै आएको हल्ला र त्रासप्रति सचेत रहन आग्रह गर्दै साना लगानीकर्तालाई नआत्तिन अपिल गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा उनले बजारमा कृत्रिम रूपमा डर सिर्जना गरेर फाइदा लिन खोज्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यस्तो गतिविधि उपयुक्त नभएको बताएका हुन्।
उनका अनुसार बजारको उतारचढाव माग र आपूर्तिका स्वाभाविक प्रक्रियाबाट निर्धारण हुने भएकाले अर्थमन्त्री दैनिक रूपमा हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारे। “कसैले मूल्य घटाएर किन्न खोजेको हुन सक्छ, कसैले बढेपछि बेच्न खोजेको हुन सक्छ—तर यसलाई लिएर साना लगानीकर्तालाई प्यानिक गराउनु ठीक होइन,” उनले भने।
अर्थमन्त्री वाग्लेले नेपालको स्टक मार्केटलाई आधुनिक र पारदर्शी प्रणालीको उदाहरणका रूपमा प्रस्तुत गर्दै यो पूर्ण रूपमा डिजिटल र पेपरलेस भइसकेको बताए। बैंकिङ प्रणालीमार्फत हुने कारोबार, कर तिर्ने प्रक्रिया तथा लगानीकर्ताको विवरण सहजै ट्र्याक गर्न सकिने व्यवस्थाले यस क्षेत्रलाई विश्वसनीय बनाएको उनको दाबी छ।
उनले भने, “स्टक मार्केट हाम्रो लागि एउटा नजिर हो। यस्तै प्रणाली मालपोत, यातायात लगायत अन्य क्षेत्रमा पनि लागू गर्न चाहन्छौं, जसले घरमै बसेर सम्पत्ति किनबेच गर्न सकिने वातावरण बनाओस्।” प्रधानमन्त्रीको समेत डिजिटलाइजेसनप्रति विशेष जोड रहेको उनले जानकारी दिए।
साथै, कुनै पनि अवैध गतिविधि—जस्तै इन्साइडर ट्रेडिङ वा बजारमा म्यानिपुलेसन भएको पाइएमा कडा कारबाही गरिने चेतावनी उनले दिए। तर सामान्य लगानीकर्तामाथि अनावश्यक दबाब नदिइने उनको स्पष्टोक्ति थियो।
आगामी पाँच वर्षभित्र ठूला आर्थिक सुधार कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिँदै उनले “ओम्निबस” र “बिग ब्याङ” सुधारमार्फत अर्थतन्त्रको दिशा नै परिवर्तन गर्ने लक्ष्य राखिएको बताए। निजी क्षेत्रमैत्री नीति, वैदेशिक तथा स्वदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र प्रतिव्यक्ति आय वृद्धि सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरे।
उनका अनुसार सरकारको लक्ष्य आगामी ५–७ वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पुर्याउनु हो। “यो मेरो लेगेसी बन्ने गरी काम गर्न चाहन्छु,” उनले भने।
अर्थमन्त्री वाग्लेले व्यवसाय गर्न सहज वातावरण निर्माण गर्न कम्पनी दर्तादेखि बन्दसम्मका सबै चरणलाई सरल, छरितो र डिजिटल बनाउने योजना रहेको पनि बताए। गल्ती गर्ने उद्यमीलाई दण्डित गर्नेभन्दा सुधारको अवसर दिनुपर्नेमा उनले जोड दिए।
त्यसैगरी, उनले उदार अर्थतन्त्रको अवधारणालाई स्पष्ट पार्दै नियामक निकायहरू सुदृढ र सक्षम हुनुपर्ने बताए। विगतमा केही व्यक्तिको प्रभावका कारण अर्थतन्त्र र नियामक निकायहरू प्रभावित भएको उल्लेख गर्दै त्यस्ता विकृति दोहोरिन नदिने प्रतिबद्धता जनाए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया