नेपाल राष्ट्र बैंकले आज १ खर्ब २५ अर्ब निक्षेप संकलन गर्दै, बजारमा अधिक तरलता
- BFIS News
- 2026 Apr 10 11:17
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। नयाँ सरकार गठन भएको करिब दुई साता बितिसक्दा पनि बजारमा अधिक तरलता कायम रहेकाले त्यसलाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो।
लामो समयदेखि आर्थिक गतिविधि सुस्त रहँदै आएको अवस्थामा जेनजी आन्दोलनको प्रभावका कारण बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न सकेको छैन। निकट भविष्यमा पनि कर्जा विस्तार तीव्र नहुने आँकलन गर्दै बैंकहरूले निक्षेप आकर्षित गर्ने रुचि घटाएका छन्। यसैका कारण मुद्दती निक्षेपमा ब्याजदर घटाउँदै उनीहरूले निक्षेप वृद्धि निरुत्साहित गरिरहेका छन्।
हाल देशको कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। वित्तीय प्रणालीमा देखिएको अधिक तरलता तथा ब्याजदर सन्तुलन कायम गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत नियमित रूपमा तरलता खिच्दै आएको छ।
आज हुने बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम वितरण गरिने व्यवस्था छ।
यो निक्षेप संकलन प्रक्रिया अनलाइन खरिद प्रणालीमार्फत सञ्चालन गरिनेछ र ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। राष्ट्र बैंकका अनुसार आज संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ साल वैशाख २ गते भुक्तानी गरिनेछ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा भने ५ करोड रुपैयाँका गुणकमा निर्धारण गरिएको छ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय प्रणालीमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न बढीमा ६ महिनासम्म अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ। यही प्रावधानअनुसार राष्ट्र बैंकले समय–समयमा यस्तो उपकरण प्रयोग गर्दै बजारमा ब्याजदर स्थिरता कायम गर्ने प्रयास गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)















प्रतिक्रिया