बीमा अभिकर्ताको हकहितमा सशक्त पहल गर्ने अभिकर्ता संघका महासचिव पाँडेको प्रतिबद्धता
- BFIS News
- 2026 Apr 14 14:47
काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपालको ८औँ महाधिवेशनबाट नव निर्वाचित महासचिव कल्याण विक्रम पाँडेले बीमा अभिकर्ताहरूको हकहित संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अभिकर्ताहरूका मुद्दाहरूलाई स्थापित गर्न बीमा कम्पनीदेखि नियामक निकायसम्म समन्वयकारी भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
महासचिव पाँडेका अनुसार आधुनिक आर्थिक संरचनामा बीमा अभिकर्ताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ। बीमा अभिकर्ताले बीमा कम्पनी र ग्राहकबीच सेतुको रूपमा काम गर्दै ग्राहकको आर्थिक अवस्था, सम्पत्ति तथा सम्भावित जोखिमहरूको मूल्याङ्कन गरी उपयुक्त बीमा योजना सिफारिस गर्ने जिम्मेवारी वहन गर्छन्। जीवन, स्वास्थ्य र सम्पत्तिसम्बन्धी बीमा योजनाहरूको सही छनोटमा ग्राहकलाई सहयोग पुर्याउनु अभिकर्ताको मुख्य कर्तव्य हो।
उनले बीमा योजनाका विशेषता, लाभ, सर्त तथा अपवादहरू स्पष्ट रूपमा जानकारी गराउनु अभिकर्ताको दायित्व भएको उल्लेख गर्दै ग्राहकलाई सचेत बनाउने, जटिल प्रावधानहरूलाई सरल भाषामा व्याख्या गर्ने तथा आवश्यक कागजात व्यवस्थापन गर्ने कार्यसमेत महत्वपूर्ण भएको बताए। साथै, दाबी प्रक्रियामा सहजीकरण गर्दै ग्राहकसँग दीर्घकालीन सम्बन्ध कायम राख्नु पनि अभिकर्ताको प्रमुख भूमिका भएको उनले बताए।
महासचिव पाँडेले व्यावसायिक नैतिकता र पारदर्शितामा जोड दिँदै राम्रो अभिकर्ताले सधैं ग्राहकको आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। “कमिशनभन्दा ग्राहकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्छ,” उनले भने। बीमा योजनाको गलत प्रस्तुतीकरण नगर्ने, निरन्तर अध्ययन गर्ने र नियम–कानुनबारे अद्यावधिक रहने कुरामा उनले विशेष जोड दिए।
उनका अनुसार बीमा अभिकर्ताको आचारसंहिताले इमान्दारिता, निष्ठा र गोपनीयतालाई प्रमुख आधार मान्दछ। सबै ग्राहकलाई समान व्यवहार गर्ने, कुनै भेदभाव नगर्ने तथा प्रचलित कानुनको पालना गर्ने दायित्व अभिकर्तामा रहने उनले बताए। साथै, बीमा योजनाका सर्त, अपवाद, सरेन्डर भ्यालु तथा दाबी प्रक्रियाबारे स्पष्ट जानकारी दिनु अनिवार्य रहेको उनले उल्लेख गरे।
पाँडेले बीमा अभिकर्ताको मुख्य उद्देश्य ग्राहकको आर्थिक सुरक्षा सुनिश्चित गर्नु भएको बताउँदै जोखिमबाट व्यक्ति तथा व्यवसायलाई जोगाउन अभिकर्ताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। ग्राहक सन्तुष्टि, विश्वास निर्माण तथा दीर्घकालीन सम्बन्ध स्थापना गर्नु अभिकर्ताको प्रमुख लक्ष्य भएको उनले बताए।
समाजमा आर्थिक सचेतना फैलाउने र वित्तीय सुरक्षा प्रवर्द्धन गर्ने सामाजिक उत्तरदायित्व पनि अभिकर्ताले वहन गर्नुपर्नेमा उनले जोड दिए। “बीमा अभिकर्ता केवल विक्रेता मात्र नभई वित्तीय सल्लाहकार, सेवा प्रदायक र विश्वासको प्रतीक हो,” उनले भने।
उनले उच्च व्यावसायिकता, नैतिक आचरण र ग्राहक केन्द्रित सेवामार्फत उत्कृष्ट सेवा प्रदान गर्नु नै बीमा अभिकर्ताको अन्तिम लक्ष्य रहेको निष्कर्ष समेत व्यक्त गरे। अभिकर्ता संघले नियमित रुपमा खवरदारी गर्नुका साथै अभिकर्ताको हितमा काम गर्ने उनले प्रतिवद्धता जनाएका छन्। संघले २५ औं वर्षमा खेलेका भुमिकालाई संस्थागत गर्दै आगामी दिनमा थप प्रभावकारी रुपमा अगाडी बढाइने जानकारी दिए। नव वर्ष २०८३ को अवसरमा सम्पुर्ण बीमित, पेशागत बीमा अभिकर्ता संघ नेपालका सदश्य, बीमक समितिका सदश्य, बीमक तथा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया