NIMB Header 2
Nepal Life

तनहुँ जलविद्युत् आयोजनाविरुद्ध बेलवासवासी आन्दोलित, डुबानको जोखिम बढेको दाबी

IME LIFE
  • BFIS News
  • 2026 Apr 20 21:47
तनहुँ जलविद्युत् आयोजनाविरुद्ध बेलवासवासी आन्दोलित, डुबानको जोखिम बढेको दाबी
United Ajod

तनहुँ, वैशाख ७ गते । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले निर्माण गरेका संरचनाका कारण बस्ती जोखिममा परेको भन्दै व्यास नगरपालिका–१३ बेलवासका स्थानीयवासी आन्दोलित भएका छन् ।

 

Nepal Life
NIMB

आयोजनाको तटबन्धका कारण सेती र मादी नदीको बहाव बस्ती तर्फ मोडिएको र करिब १७० घरधुरी डुबानको उच्च जोखिममा परेको भन्दै सोमबार स्थानीयले जुलुससहित आयोजनाको कार्यालय पुगेर विरोध प्रदर्शन गरेका हुन् ।

डुबान जोखिम सरोकार समितिका अध्यक्ष यमबहादुर आलेले आयोजनाको संरचनागत त्रुटिका कारण बेलवास क्षेत्र जोखिममा परेको बताउनुभयो । विस्तृत अध्ययन प्रतिवेदनले समेत डिजाइनमा कमजोरी देखाएको भए पनि त्यसलाई बेवास्ता गरिएको उहाँको आरोप छ । गत वर्षको बाढीले दुई पटक बस्ती डुबाएर पशुधन र भौतिक संरचनामा क्षति पुर्‍याइसकेको उहाँले जानकारी दिनुभयो । नदीको एकतर्फ मात्र तटबन्ध गर्दा पानीको बहाव सिधै बस्तीतर्फ फर्किएको स्थानीयको भनाइ छ ।

स्थानीयहरूले आफ्ना माग सम्बोधन नभए आयोजनाको काम ठप्प पार्ने र थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरोकार समितिका उपाध्यक्ष बलराम तिवारीले नदीको प्राकृतिक बहाव परिवर्तन नगरी यथास्थानमा व्यवस्थापन गर्ने पूर्वसहमति कार्यान्वयन नभएको गुनासो गर्नुभयो । स्थानीय सिर्जना तिवारीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई न्यायोचित सम्बोधन वा मुआब्जासहित सुरक्षित पुनर्स्थापना हुनुपर्ने माग राख्नुभयो ।

यसैबीच, स्थानीयको ध्यानाकर्षण पत्र बुझ्दै तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्याम भण्डारीले बेलवासवासीको समस्या प्रति आयोजना सकारात्मक रहेको बताउनुभयो । उहाँले विस्तृत प्राविधिक प्रतिवेदन आएपछि थप तटबन्ध वा अन्य सुरक्षात्मक उपायबारे ठोस निर्णय गरिने जानकारी दिनुभयो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया