युएई जाने नेपालीको राहदानीमा गैरकानुनी शर्त, दुई अध्यागमन अधिकृत जिम्मेवारीबाट हटाइए
- BFIS News
- 2026 Apr 20 22:27
काठमाडौँ, वैशाख ७ गते । संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा गैरकानुनी रूपमा शर्त लेखिएको पाइएपछि दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ ।
अध्यागमन विभागले प्रचलित कानुन र विभागीय नीति विपरीत कार्य गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ती अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर छानबिन प्रक्रिया अघि बढाएको हो ।
केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्णतया निषेध गरिएको’ भन्ने बेहोरा लेखिएको फेला परेपछि विभागले कारबाही थालेको हो ।
अध्यागमन विभागका प्रवक्ता एवं निर्देशक टीकाराम ढकालका अनुसार नेपाली नागरिकलाई कुनै पनि प्रकारको शर्त तोकेर प्रस्थान अनुमति दिने विभागको कुनै नीति वा निर्णय छैन । “विभागीय निर्णय र कानुन बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीहरूलाई विमानस्थलको जिम्मेवारीबाट हटाइएको छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार यस विषयमा विभागले गठन गरेको छानबिन समितिले विस्तृत अध्ययन गरिरहेको छ ।
विभागले २०८३ वैशाख ३ गते नै छानबिन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ । प्रचलित कानुन विपरीत कार्य गर्ने जोसुकैलाई पनि छानबिनको दायरामा ल्याई कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।
विमानस्थल अध्यागमनमा यस्ता गतिविधिले नागरिकमा भ्रम र सास्ती सिर्जना गर्ने भएकाले सेवा प्रवाहलाई थप मर्यादित र कानुनसम्मत बनाइने विभागको प्रतिबद्धता रहेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया