गृहमन्त्री सुधन गुरुङ राजीनामाको तयारीमा, राजनीतिक दबाब तीव्र
- BFIS News
- 2026 Apr 21 13:42
धितोपत्र कारोबारसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दीपक भट्ट समूहसँग सम्बन्धित लघुबीमा कम्पनीमा गुरुङको संस्थापक सेयर रहेको तथ्य बाहिरिएपछि उनी विवादमा तानिएका थिए। त्यससँगै राजनीतिक वृत्तमा उनको भूमिकामाथि प्रश्न उठ्न थालेको हो। विभिन्न दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले निष्पक्ष छानबिनको माग गर्दै गृहमन्त्रीमाथि दबाब बढाएका छन्।
स्रोतका अनुसार गृहमन्त्री गुरुङले नैतिक आधार कमजोर बनेको स्वीकार गर्दै पद त्याग गरेर अनुसन्धानलाई सहज बनाउने मनस्थितिमा पुगेका छन्। “नैतिक रूपमा प्रश्न उठिसकेपछि राजीनामा दिन तयार छु, राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्छु,” उनको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
यसैबीच गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र प्रमुख सल्लाहकारहरूसँग राजीनामाको विषयमा परामर्श गरिरहेका छन्। अन्तिम निर्णय केही समयमै सार्वजनिक हुन सक्ने संकेत दिइएको छ।
यद्यपि, उनले यसअघि सामाजिक सञ्जालमार्फत आफूविरुद्ध उठेका आरोपबारे स्पष्टीकरण दिइसकेका छन्। उक्त स्पष्टीकरणमा उनले सेयर लगानी गरेको स्वीकार गर्दै त्यसको स्रोत बैंकिङ प्रणालीमार्फत लिएको ऋण भएको बताएका थिए। उनले सम्पूर्ण कारोबार पारदर्शी भएको दाबी गर्दै कानुनी प्रक्रियामा सहयोग गर्ने बताएका छन्।
गृहमन्त्रीको सम्भावित राजीनामाले वर्तमान राजनीतिक अवस्थालाई नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ। अब हुने छानबिनको निष्कर्षले मात्र उनीमाथि लागेको आरोपको सत्यता प्रष्ट हुने देखिन्छ।
यसअघि प्रधानमन्त्री शाहले दीपक कुमार शाह लाई पदबाट मुक्त गरेका थिए। आफ्नी श्रीमतीलाई नियुक्ति गरेको विवादपछि उनलाई राजीनामा गराइएको थियो। सो घटनासँग तुलना गर्दै प्रमुख प्रतिपक्षी दलहरूले गृहमन्त्रीको प्रकरण झन् गम्भीर रहेको दाबी गरेका छन्।
गृहमन्त्रीसँग सम्बन्धित विषय प्रधानमन्त्रीका लागि थप नैतिक चुनौती बनेको छ। आफूले रोजेका गृहमन्त्रीलाई राजीनामा गराउनुपर्ने अवस्था आएमा बालेन्द्र शाह राजनीतिक संकटमा पर्न सक्ने आकलन गरिएको छ। अबको गृहमन्त्री चयनमा नयाँ शक्ति सन्तुलन देखिन सक्ने विश्लेषण भइरहेको छ, जसले सरकारको कार्यशैली र गति कस्तो रहनेछ भन्ने प्रश्न अझै खुला नै रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया