कच्चा पदार्थ अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
- BFIS News
- 2026 Apr 24 13:15
बागमती, वैशाख ११ — लामो समयदेखि आर्थिक सङ्कट झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थको अभावका कारण बन्द भएको छ।
गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले आवश्यक कोइला र ढुङ्गालगायत कच्चा पदार्थ नपाएपछि उत्पादन रोकिएको हो। उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि रकम अभावका कारण ठेकेदारले ढुवानी गर्न नसकेपछि उद्योग बन्द गर्नुपरेको हो।
उहाँका अनुसार हाल उपलब्ध कच्चा पदार्थबाट करिब ५ हजार टन क्लिङ्कर उत्पादन गरिएको छ भने अहिले सिमेन्ट प्याकेजिङको काम मात्र भइरहेको छ। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।
क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा समस्या देखिएपछि मर्मत कार्य पनि भइरहेको उद्योगले जनाएको छ। आर्थिक सङ्कटका कारण कर्मचारीहरूले १० महिनादेखि तलब पाएका छैनन्।
उद्योगमा १६६ जना स्थायी कर्मचारी, १०० दैनिक ज्यालादारी कामदार र ५२ जना सुरक्षाकर्मी कार्यरत छन्।
वि.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको यो उद्योगले २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया