२४ घण्टामै पुनः अवरुद्ध बीपी राजमार्ग, वर्षासँगै यात्रा अनिश्चित
- BFIS News
- 2026 Apr 29 12:15
काठमाडौँ । पूर्वी नेपाललाई राजधानीसँग जोड्ने बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ।
सोमबार एकतर्फी सञ्चालनमा ल्याइएको सडक मंगलबार साँझको वर्षापछि २४ घण्टा नबित्दै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन्।
गत शुक्रबारको अविरल वर्षापछि आएको पहिरो र रोशी खोलाको बाढीले राजमार्गका विभिन्न खण्डमा सडक र तटबन्ध क्षतिग्रस्त बनाएको थियो। त्यसपछि तीन दिनसम्म यातायात पूर्ण रूपमा अवरुद्ध रह्यो। अस्थायी मर्मत र डाइभर्सनमार्फत सोमबारदेखि सवारी आवागमन सञ्चालनमा ल्याइएको भए पनि मंगलबारको वर्षासँगै सडक फेरि अवरुद्ध भएको हो।
यो राजमार्ग अघिल्लो वर्षको वर्षातपछि पनि निरन्तर समस्यामा परेको देखिन्छ। त्यसयता डाइभर्सन र अस्थायी संरचनाको भरमा सञ्चालन हुँदै आएको सडक प्रि-मनसुनकै सामान्य वर्षामा समेत पटक-पटक बन्द हुने अवस्था देखिएको छ। प्राविधिकहरूको भनाइअनुसार रोशी खोलाको कटान र कमजोर आधार संरचनाका कारण गरिएको अस्थायी मर्मत दीर्घकालीन रूपमा प्रभावकारी हुन सकेको छैन।
पुनःपुनः अवरोधको समस्याले दीर्घकालीन समाधानको आवश्यकता औंल्याएको छ। विज्ञहरूले सडकको संरचनात्मक पुनर्निर्माण, बलियो तटबन्ध निर्माण र जोखिमयुक्त क्षेत्रमा वैकल्पिक प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्। विशेषगरी नदी कटान प्रभावित खण्डमा मजबुत संरचना आवश्यक रहेको उनीहरूको धारणा छ।
यसैगरी, जोखिमपूर्ण क्षेत्रमा सुरुङ मार्ग वा फ्लाइओभर निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने, साथै वैकल्पिक मार्गहरूको पहिचान र स्तरोन्नति गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। केही खण्डमा सडकको रेखांकन परिवर्तन गरी सुरक्षित भेगबाट मार्ग विस्तार गर्ने प्रस्तावसमेत आएको छ।
साथै, प्रभावकारी ढल निकास प्रणालीको अभावले पनि पहिरो र सडक क्षतिको जोखिम बढाएको भन्दै आधुनिक ड्रेनेज प्रणाली जडान गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रि-मनसुनमै यस्तो अवस्था देखिएकाले आगामी वर्षायाममा जोखिम थप बढ्ने संकेत देखिएको छ। सम्बन्धित निकायले दीर्घकालीन समाधानतर्फ ध्यान नदिएमा आवागमनमा समस्या निरन्तर रहने सम्भावना रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया