आईपीओ सूचिकरणकै दिनदेखि कारोबार खुला गर्न विश्लेषकहरुको सुझाव
- BFIS News
- 2026 Apr 29 16:59
काठमाडौँ । शेयर बजार विश्लेषक अम्बिका प्रसाद पौडेलले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी विद्यमान व्यवस्थामा सुधार आवश्यक रहेको बताएका छन्। नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तय गर्न सरोकारवालासँग राय/सुझाव आह्वान गरिरहेको सन्दर्भमा उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
पौडेलका अनुसार, बैंक तथा वित्तीय संस्था वा सञ्चालकको हैसियतका कारण नियमले रोक्का गर्नुपर्ने बाहेक अन्य सबै आईपीओ शेयर सूचिकृत भएकै दिनदेखि खरिद–बिक्रीका लागि खुला गरिनु उपयुक्त हुन्छ। उनले यस्तो व्यवस्था लागू गर्न सके बजारका करिब आधा समस्या स्वतः समाधान हुने दाबी गरेका छन्।
हालको व्यवस्थाअनुसार, आईपीओ सूचिकृत भएको तीन वर्षसम्म संस्थापक शेयरधनीको शेयर लकिङमा रहने प्रावधान छ। विशेषगरी बैंक, वित्तीय संस्था र बीमा कम्पनीका शेयर संस्थापक र सर्वसाधारण समूहमा वर्गीकृत गरिन्छ। अन्य कम्पनीमा भने यस्तो वर्गीकरण तीन वर्षसम्म मात्र कायम रहने र त्यसपछि सबै शेयर समान हैसियतमा दोस्रो बजारमा कारोबारयोग्य हुने व्यवस्था रहेको छ।
पौडेलले लकिङ अवधिका कारण बजारमा आपूर्ति कृत्रिम रूपमा सीमित हुने र यसले शेयर मूल्यमा अनावश्यक उछाल ल्याउने गरेको बताए। उनका अनुसार तीन वर्षपछि लकिङ खुल्नेबित्तिकै बजारमा शेयरको आपूर्ति बढ्ने र मूल्यमा गिरावट आउने प्रवृत्ति देखिन्छ, जसको उदाहरणका रूपमा जलविद्युत कम्पनीहरूलाई लिन सकिन्छ।
त्यसैगरी, उनले आईपीओ निष्काशन प्रक्रियामा देखिने विवाद र अन्योल हटाउन छुट्टै सफ्टवेयर प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। हाल आईपीओ निष्काशनसँग सम्बन्धित प्रक्रियामा बारम्बार विवाद हुने र यसले लगानीकर्तामाझ शंका–आशंका उत्पन्न गर्ने गरेको उनको भनाइ छ।
पौडेलले स्पष्ट कार्यविधि (एसओपी) सहित प्रविधिमैत्री प्रणाली लागू गर्न सके आईपीओ बजार अझ पारदर्शी, व्यवस्थित र विश्वासिलो बन्ने विश्वास व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)
.jpg)





प्रतिक्रिया