स्थानीय तहबाटै नापी–मालपोत सेवा विस्तार: २०७ पालिकाबाट निवेदन, हस्तान्तरण प्रक्रिया सुरु
- BFIS News
- 2026 Apr 30 16:58
काठमाडौं । नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने योजनाअन्तर्गत २०७ वटा पालिकाले चासो देखाएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले इच्छुक स्थानीय तहबाट आवेदन आह्वान गरेको एक साताभित्रै यति संख्यामा निवेदन प्राप्त भएपछि सेवा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयका अनुसार धरान उपमहानगरपालिका लगायत विभिन्न नगरपालिका र गाउँपालिकाले स्थानीय स्तरमै सेवा सञ्चालन गर्न औपचारिक निवेदन दिएका छन्। हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका र कञ्चनपुरको बेलडाँडी गाउँपालिका जस्ता स्थानीय तहले पनि सेवाप्रति रुचि देखाएका छन्। त्यसैगरी घोराही, धरान र धनगढी उपमहानगरपालिका सहित भरतपुर र पोखरा महानगरपालिकाले समेत मन्त्रालयमा आवेदन बुझाएका छन्।
प्राप्त निवेदनमाथि मन्त्रालयले अध्ययन सुरु गरिसकेको छ। चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने नीति अनुसार पहिलो चरणमा सीमित संख्याका पालिका छनोट गरिने तयारी गरिएको छ।
पालिका छनोट गर्दा सेवाग्राहीको चाप, सेवा पहुँच र व्यवस्थापन क्षमता जस्ता सूचकलाई आधार बनाइने जनाइएको छ। कम भीडभाड भएका तथा अत्यधिक सेवा माग रहेका दुवै प्रकारका क्षेत्रलाई प्राथमिकतामा राखिनेछ।
यसैबीच, मन्त्रालयले इच्छुक पालिका रहेका जिल्लाका नापी तथा मालपोत कार्यालयका अधिकारीलाई स्थलगत अनुगमन गर्न निर्देशन दिइसकेको छ। अनुगमनमार्फत स्थानीय तहको तयारी र आवश्यकताबारे प्रतिवेदन संकलन गरिनेछ।
सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक संरचना, जनशक्ति र सामग्री व्यवस्थापन गर्ने तयारी मन्त्रालयले अघि बढाएको छ। साथै सम्बन्धित कर्मचारीलाई तालिम तथा अभिमुखीकरण प्रदान गर्ने योजना पनि बनाइएको छ।
मन्त्रालयले प्रारम्भिक तयारी एक साताभित्र पूरा गरी केही चयनित पालिकाबाटै नापी र मालपोत सेवा सञ्चालन सुरु गर्ने लक्ष्य राखेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









_jEGOtGcTjV.jpg)







प्रतिक्रिया