सानिमा रिलायन्सको बीमा शुल्क, लगानी र नाफामा सुधार, सोल्भेन्सी अनुपात १.५७ कायम
- BFIS News
- 2026 May 13 12:21
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ०.९५ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ। साथै कम्पनीको कुल लगानी २५ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २० अर्ब ९६ करोड रुपैयाँको तुलनामा २२ प्रतिशतले बढी हो।
त्यसैगरी, कम्पनीले चालु आवको चैत मसान्तसम्म ५ अर्ब ४९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो। यस आधारमा कम्पनीको बीमा शुल्क आम्दानी १४.५४ प्रतिशतले बढेको देखिन्छ।
कम्पनीले संकलित प्रिमियम तथा जगेडा कोषमा रहेको रकम दीर्घकालीन तथा अल्पकालीन मुद्रा बजारका उपकरणमा लगानी गरी ब्याज आम्दानी वृद्धि गरेको जनाएको छ। साथै बीमा शिक्षा, बीमा सचेतना र बीमा विस्तारलाई प्राथमिकतामा राख्दै बजारको मागअनुसार नयाँ बीमा योजनाहरू ल्याएर सेवाग्राहीलाई व्यावसायिक बीमा सेवा प्रदान गरिरहेको कम्पनीको भनाइ छ।
कम्पनीको पछिल्लो स्वीकृत एक्चुरियल मूल्यांकन प्रतिवेदनअनुसार सोल्भेन्सी अनुपात १.५७ रहेको छ, जबकि नियामकीय न्यूनतम सीमा १.३० तोकिएको छ।
पुनर्बीमा व्यवस्थापनतर्फ कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा सम्झौता गरेको जनाएको छ। कम्पनीका अनुसार यसले समग्र जोखिम व्यवस्थापनलाई सुदृढ बनाएको छ।
कम्पनीविरुद्ध नियमित व्यावसायिक गतिविधिबाहेक अन्य कुनै कानुनी मुद्दा नरहेको पनि उल्लेख गरिएको छ। साथै नेपाल बीमा प्राधिकरणले जारी गरेको कर्पोरेट सुशासन निर्देशिका पूर्ण रूपमा पालना गरिएको र खर्च अनुपात पनि नियामकीय सीमाभित्र रहेको कम्पनीले जनाएको छ।
कम्पनीले २०७९ चैत ९ गतेदेखि मर्जरपछिको संयुक्त कारोबार सुरु गरेको थियो। कम्पनीले नियामकीय निकायबाट जारी सबै कानुन, निर्देशिका तथा परिपत्रहरूको पालना गर्दै आएको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया