स्मार्ट टेलिकम प्रकरणपछि नेपाल इन्भेष्टमेन्ट बैंकको कार्यवाहक सिइओको जिम्मेवारी महेश शर्मा ढकाललाई
- BFIS News
- 2026 May 14 12:46
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ। बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई बैंक सञ्चालन सम्बन्धी सम्पूर्ण कार्य गर्ने गरी पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।
हालका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित मुद्दाको अनुसन्धानको क्रममा रहेकाले बैंकको दैनिक कार्यसम्पादनलाई निरन्तरता दिन ढकाललाई उक्त जिम्मेवारी सुम्पिएको बैंकले जनाएको छ। बैंकले यस निर्णयको जानकारी पत्रमार्फत नेपाल स्टक एक्सचेन्ज लिमिटेड लाई गराइसकेको छ।
बैंकले सार्वजनिक गरेको स्पष्टीकरणअनुसार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो को २०८३ वैशाख ३० गतेको प्रेस विज्ञप्तिअनुसार प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रा.लि. को सम्पत्ति लिलाम बिक्री सम्बन्धी विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उक्त अनुसन्धान लिलामी गरिएका दूरसञ्चार उपकरण जडान भएका घरजग्गा धनीलाई तिर्न बाँकी घरभाडा तथा विद्युत महसुलसँग सम्बन्धित रहेको बैंकले जनाएको छ।
बैंकले प्रचलित कानून, विशेषगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकारअनुसार कर्जा असुली प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ। निक्षेपकर्ताको रकमबाट प्रवाह भएको कर्जा असुल गर्नु बैंकको कानूनी दायित्व भएकाले सम्पूर्ण प्रक्रिया बैंकको कर्जा असुली निर्देशिका अनुसार सञ्चालन गरिएको बैंकको भनाइ छ।
यस सम्बन्धमा अनुसन्धान निकायले माग गरेका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।
बैंकका अनुसार २०८२ असोज ३ गते स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्रीको लिलामी सूचना प्रकाशित गरिएको थियो। सोहीअनुसार भएको लिलामीबाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गतको कर्जा चुक्ता गरिएको बैंकले जनाएको छ। बाँकी रहेको ३८ करोड रुपैयाँ सम्बन्धित निकायबाट खाता रोक्का भएकाले बैंकको ‘अर्नेस्ट मनी अक्सन अकाउन्ट’मा सुरक्षित राखिएको जानकारी दिइएको छ।
उक्त रकम दूरसञ्चार सेवा सम्बन्धी उपकरण जडान भएका घरजग्गा धनीलाई स्मार्ट टेलिकमले तिर्न बाँकी बहाल, विद्युत महसुल लगायतका दायित्व भुक्तानीका लागि रोक्का गरिएको बैंकले जनाएको छ। सम्बन्धित निकायबाट प्रमाणसहित अनुरोध प्राप्त भएपछि सो रकम क्रमिक रूपमा भुक्तानी गरिने पनि बैंकले स्पष्ट पारेको छ।
बैंकले अनुसन्धान प्रक्रियाका कारण दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने भन्दै सम्पूर्ण सरोकारवालालाई विश्वस्त रहन आग्रह गरेको छ। साथै बैंकले निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा नेपाल राष्ट्र बैंक बाट प्राप्त निरन्तर सहयोग, सद्भाव र विश्वासप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया