मापदण्डभन्दा बढी फ्याट एसिड भेटिएपछि ‘करेन्ट’ चाउचाउ विवादमा, बजारबाट फिर्ता गर्न निर्देशन
- आयुस बस्नेत
- 2026 May 22 15:16
काठमाडौँ । नेपाली बजारमा अत्यधिक पिरो स्वादका कारण चर्चामा रहेको करेन्ट चाउचाउ अहिले गम्भीर विवादमा तानिएको छ । सरकारी निकायले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता गर्न आदेश दिएपछि उत्पादक कम्पनी यशोदा फुड्स प्रालि दबाबमा परेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले बजार अनुगमनका क्रममा संकलन गरिएका विभिन्न चाउचाउका नमुनाको परीक्षण गर्दा ‘करेन्ट’ र लाली ब्राण्डका चाउचाउमा सरकारले तोकेको मापदण्डभन्दा बढी ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ फेला परेको जनाएको छ । विभागका अनुसार रुपन्देहीको तिलोत्तमास्थित यशोदा फुड्स प्रालिले उत्पादन गरेको १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए तथा ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए गुणस्तर मापदण्ड विपरीत भेटिएको हो ।
सरकारी प्रयोगशालाबाट आएको परीक्षण प्रतिवेदनपछि विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम ती उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । उक्त दफाअनुसार अनुगमन, निरीक्षण वा परीक्षणका क्रममा कुनै खाद्य पदार्थ तोकिएको स्वच्छता, गुणस्तर वा मापदण्ड अनुरूप नभएको वा मानव उपभोगका लागि सुरक्षित नरहेको देखिएमा सम्बन्धित व्यवसायीलाई त्यस्तो खाद्य पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिन सकिने व्यवस्था रहेको छ ।
विभागको निर्देशनपछि उपभोक्तामाझ ‘करेन्ट’ चाउचाउको गुणस्तर र खाद्य सुरक्षालाई लिएर चासो बढेको छ । यद्यपि कम्पनीले भने विज्ञप्तिमार्फत आफ्नो उत्पादन सुरक्षित रहेको दाबी गर्दै आएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया