NIMB Header 2
Nepal Life

बजेटअघि नेप्सेमा उतार–चढाव, बजारमा अनिश्चितता कायमै

IME LIFE
  • BFIS News
  • 2026 May 22 15:34
बजेटअघि नेप्सेमा उतार–चढाव, बजारमा अनिश्चितता कायमै
United Ajod

काठमाडौँ । बजेट नजिकिँदै गर्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको उतार–चढावले समग्र शेयर बजार पुनः अनिश्चितताको घेरामा पुगेको छ । पछिल्ला दिनहरूमा बजार लगातार घटबढको चक्रमा घुमिरहँदा लगानीकर्ताहरू ‘पर्ख र हेर’ रणनीतिमा बस्न बाध्य भएका छन् । हिजो राताम्य देखिएको बजार आज सामान्य सुधारतर्फ फर्किए पनि समग्र लगानी मनोबल अझै कमजोर देखिएको छ ।

 

Nepal Life
NIMB

बजारमा कारोबार रकममा केही सुधार देखिए पनि समग्र गतिविधि सुस्त रहेको छ । केही समयअघि दैनिक २० अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार अहिले घटेर करिब २ देखि ३ अर्ब रुपैयाँको सीमामा खुम्चिनु गम्भीर संकेतका रूपमा लिइएको छ । यसले बजारमा सहभागिता घट्दै गएको र लगानीकर्ताको सक्रियता उल्लेखनीय रूपमा कमजोर बनेको स्पष्ट देखाउँछ ।

सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन । नीतिगत सुधार र स्थायित्वको अपेक्षा भए पनि व्यवहारिक रूपमा ठोस परिवर्तन नदेखिँदा लगानीकर्तामा सुरुमा देखिएको उत्साह क्रमशः हराउँदै गएको छ । नयाँ खरिद चासो सीमित बन्दै जाँदा बजारको माग पक्ष कमजोर बनेको विश्लेषण गरिएको छ ।

यता पछिल्ला दिनहरूमा केही प्रभावशाली व्यवसायी तथा बैंकिङ क्षेत्रसँग जोडिएका व्यक्तिहरू पक्राउ परेपछि बजारमा थप अनिश्चितता बढेको छ । यसले लगानीकर्ताको विश्वासमा असर पार्दै जोखिम न्यूनीकरणका लागि बिक्री दबाब बढाएको देखिन्छ, जसको प्रत्यक्ष प्रभाव नेप्से सूचकमा परेको छ । राजनीतिक तथा नियामक अनिश्चितताले बजारलाई थप संवेदनशील बनाएको छ ।

यद्यपि दीर्घकालीन आधार भने पूर्ण रूपमा कमजोर देखिँदैन । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश बैंक तथा वित्तीय संस्थाको अवस्था सन्तोषजनक रहेको छ । ब्याजदर घट्दो क्रममा रहनु, तरलता सहज हुँदै जानु तथा आर्थिक गतिविधि विस्तार हुने संकेतले आगामी दिनमा बजारलाई केही समर्थन गर्न सक्ने अपेक्षा गरिएको छ ।

आज नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड ८ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन १२ उपसूचकमा सुधार आएको छ भने व्यापार समूह मात्रै घटेको छ । २०३ कम्पनीको शेयर मूल्य बढेको छ, ५७ कम्पनीको घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया