कालंगा हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2026 May 27 10:02
काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको थियो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकिएको कम्पनीले जनाएको छ।
यसअनुसार १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई तथा ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको थियो। त्यस्तै, १ लाख ९५ हजार कित्ता सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।
दोस्रो चरणअन्तर्गत कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनका लागि गरिएको मूल्यांकनमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्ने बताइएको छ।
कम्पनीले सञ्चालन गरिरहेको १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ। आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यावसायिक विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.२९ वर्ष तथा डिस्काउन्ट गरिएको आधारमा १८.०१ वर्ष रहेको उल्लेख गरिएको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)
.jpg)
.jpg)






प्रतिक्रिया