औद्योगिक क्षेत्रबाट करिब २० हजारलाई प्रत्यक्ष रोजगारी
- BFIS News
- 2026 May 28 13:53
काठमाडौं । देशभरका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
सर्वेक्षणअनुसार ती औद्योगिक क्षेत्रभित्र ६३८ उद्योग सञ्चालनमा रहेका छन्, जसबाट उक्त रोजगारी सिर्जना भएको देखिएको छ। कुल ७०६ उद्योग दर्ता भएका मध्ये २६ निर्माणाधीन, १६ बन्द र २६ अन्य संघसंस्था सञ्चालनमा रहेका छन्।
औद्योगिक क्षेत्रका लागि करिब ६ हजार १६ रोपनी जग्गा प्रयोगमा रहेको सर्वेक्षणमा उल्लेख छ। यी क्षेत्रहरू बालाजु, पाटन, भक्तपुर, हेटौँडा, धरान, नेपालगन्ज, पोखरा, बुटवल, वीरेन्द्रनगर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र हुन्।
सरकारले उद्योग स्थापनाका लागि आवश्यक पूर्वाधार एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले यी औद्योगिक क्षेत्र सञ्चालनमा ल्याएको हो। पूर्वाधारअन्तर्गत जग्गा, भवन, सडक, विद्युत्, पानी र ढल सुविधा उपलब्ध गराइँदै आएको छ।
लगानीमैत्री नीतिगत सुधार
आर्थिक सर्वेक्षणमा उद्योग तथा लगानी सहजीकरणका लागि विभिन्न कानुन संशोधन गरिएको उल्लेख छ। औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, कम्पनी ऐन २०६३ तथा विशेष आर्थिक क्षेत्र ऐन २०७३ संशोधन गरी लगानीमैत्री बनाइएको छ।
त्यस्तै, स्टार्टअप प्रवर्द्धनका लागि ‘स्टार्टअप उद्यम नीति २०८१’ र ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८१’ लागू गरिएको छ। नवीन ज्ञान र प्रविधिमा आधारित उद्यमलाई प्रोत्साहन गर्न व्यवसाय सम्वर्द्धन केन्द्र स्थापना गरिएको पनि सर्वेक्षणमा उल्लेख छ।
स्टार्टअप कर्जा कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा ५ हजार १५८ प्रस्ताव प्राप्त भएका थिए, जसमध्ये ६६१ प्रस्ताव सिफारिस भई ६०० उद्यमीलाई कर्जा उपलब्ध गराइएको थियो। चालु आर्थिक वर्षको फागुनसम्म भने १० हजार २४४ प्रस्ताव प्राप्त भएको सर्वेक्षणले देखाएको छ।
बौद्धिक सम्पत्ति र वैदेशिक लगानी
फागुन मसान्तसम्म औद्योगिक बौद्धिक सम्पत्तितर्फ ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन्।
वैदेशिक लगानीतर्फ चीनको हिस्सा सबैभन्दा बढी रहेको सर्वेक्षणमा उल्लेख छ। फागुन मसान्तसम्म स्वीकृत वैदेशिक लगानीमध्ये ४८ प्रतिशत चीनबाट आएको छ। भारतको हिस्सा १७.९ प्रतिशत र अन्य देशहरूको ३४.१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpeg)









प्रतिक्रिया