NIMB Header 2
Nepal Life

फिदिम नगरपालिकाद्वारा २ करोड ६० लाखभन्दा बढीका कृषि उपकरण वितरण

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 13:04
फिदिम नगरपालिकाद्वारा २ करोड ६० लाखभन्दा बढीका कृषि उपकरण वितरण
United Ajod

फिदिम, जेठ १९ गते । पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ।

 

Nepal Life
NIMB

नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानहरूलाई उपलब्ध गराएको हो। कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ।

नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार वितरण गरिएका सामग्रीमा १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रीनहाउस टनेल, सात थान प्लास्टिक पोखरी, ४० थान नेप्स्याक स्प्रेयर, १ सय १२ थान चाफ कटर, १ सय ६७ थान काउ म्याट, सात थान मिल्क एनालाइजर, २१ थान डिप फ्रिज तथा ६६ थान पानी ट्याङ्की रहेका छन्।

नगरपालिकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कृषिलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन यान्त्रिकीकरण अपरिहार्य भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको नगर प्रमुख काफ्लेले बताउनुभयो।

सार्वजनिक खरिद प्रक्रिया अन्तर्गत ई–बिडिङमार्फत सामग्री खरिद गरी छनोट भएका कृषक तथा कृषक समूहलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ। विशेषगरी मिनी टिलर, कम्बाइन राइस मिल, ग्रीनहाउस टनेल र काउ म्याटको माग बढी रहेको बताइएको छ।

कृषि उपकरणको प्रयोगले खेतबारीमा श्रमको अभाव कम हुने, उत्पादन लागत घट्ने र उत्पादकत्व बढ्ने अपेक्षा गरिएको छ। दुग्ध उत्पादन तथा पशुपालनलाई व्यवस्थित बनाउन मिल्क एनालाइजर, काउ म्याट र डिप फ्रिजजस्ता सामग्री पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पनि तीन करोड रुपियाँभन्दा बढी मूल्यका कृषि औजार तथा उपकरण वितरण गरेको थियो। निरन्तरको लगानीले कृषिलाई परम्परागत अभ्यासबाट व्यवसायिक र प्रविधिमैत्री बनाउन सहयोग पुगेको किसानहरूको प्रतिक्रिया छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया