सेबोनको आईपीओ पाइपलाइनमा ६ नयाँ कम्पनी, २ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्दै
- BFIS News
- 2026 Jun 05 16:23
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा विभिन्न क्षेत्रका ६ नयाँ कम्पनी थपिएका छन्। पूँजी बजारमार्फत लगानी जुटाउने उद्देश्यले ती कम्पनीहरूले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि बोर्डमा आवेदन दिएका हुन्।
नयाँ आवेदन दिने कम्पनीहरूमा जलविद्युत क्षेत्रका सुपर हेवा पावर कम्पनी लिमिटेड र रघुगंगा हाइड्रोपावर लिमिटेड रहेका छन् भने उत्पादन तथा प्रशोधन क्षेत्रबाट राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्।
यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरका २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति माग्दै सेबोनमा आवेदन दर्ता गरेका छन्।
राजेश मेटल क्राफ्ट्स लिमिटेडले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न २०८३ जेठ ७ गते आवेदन दिएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
सोही दिन अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १ सय रुपैयाँ बराबरका १० लाख ९ हजार ५ सय ३१ कित्ता शेयर निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत आवेदन दर्ता गराएको छ।
युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि मात्र १६ करोड ५० लाख रुपैयाँ बराबरका १६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्दै जेठ ७ गते नै सेबोनमा आवेदन पेश गरेको छ।
त्यसैगरी, प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत २०८३ जेठ ८ गते बोर्डमा आवेदन दिएको छ।
जलविद्युत क्षेत्रको सुपर हेवा पावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि १९ करोड २५ लाख रुपैयाँ बराबरका १९ लाख २५ हजार कित्ता शेयर जारी गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत जेठ ७ गते आवेदन दिएको छ।
यता, रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरका १ करोड ५० लाख कित्ता शेयर निष्कासन गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्दै जेठ ८ गते सेबोनमा आवेदन दर्ता गराएको छ।
हाल यी सबै कम्पनीहरूको आवेदन धितोपत्र बोर्डमा ‘अनुपालन प्रतिवेदनसहितको आवेदन’ अन्तर्गत प्रारम्भिक समीक्षा चरणमा रहेको छ। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि सम्बन्धित कम्पनीहरूले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने प्रक्रिया अघि बढाउनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)





प्रतिक्रिया