Nepal Life

धनकुटामा अमेरिकन फौजी किराको आतंक, मकैबाली नष्ट हुन थालेपछि किसान चिन्तित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 12:40
धनकुटामा अमेरिकन फौजी किराको आतंक, मकैबाली नष्ट हुन थालेपछि किसान चिन्तित

पाख्रीबास (धनकुटा), असार ४ । धनकुटाका किसानले लगाएको मकै खेतीमा अमेरिकन फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन्।

 

Nepal Life
NIMB

पछिल्लो समय मकैबालीसहित अन्य हरिया बालीमा फौजी किराको आक्रमण बढ्दै जाँदा बालीमा क्षति पुगेको किसानहरूले बताएका छन्। किराको प्रकोपका कारण मकैका बोट सुक्ने र ढल्ने समस्या देखिएको छ।

अमेरिकन फौजी किरा करिब सात वर्षअघि अमेरिका, अफ्रिका हुँदै भारतबाट नेपाल प्रवेश गरेको मानिन्छ। नेपालको तराईदेखि पहाडी क्षेत्रसम्मको मौसम यसको फैलावटका लागि अनुकूल रहेको कृषि विज्ञहरूले बताउँदै आएका छन्।

धनकुटाको पाख्रीबास नगरपालिका–५ दियालेका किसान देवेन्द्रबहादुर निरौलाले फौजी किराले मकैबालीमा ठूलो क्षति पुर्‍याएको बताउनुभयो। उहाँका अनुसार बिउ उम्रिन नपाउँदै किराले नष्ट गर्ने र विषादी प्रयोग गर्दा पनि प्रभावकारी नियन्त्रण हुन नसकेको समस्या छ।

“दुःख गरेर लगाएको मकैबाली फौजी किराले बारीमै सुकाइदिएको छ। खानका लागि मात्र होइन, पशुचौपायालाई खुवाउने घाँससमेत समस्या हुने अवस्था आएको छ,” निरौलाले भन्नुभयो।

दियाले क्षेत्रमा करिब १५ घर परिवार फौजी किराको समस्याबाट प्रभावित भएका छन्। त्यस्तै, किसान अमरबहादुर तामाङले करिब १८ रोपनी क्षेत्रफलमा लगाएको मकै खेतीमा पनि क्षति पुगेको बताउनुभयो।

किसानका अनुसार पानी कम परेको समयमा फौजी किराको प्रकोप अझ बढ्ने गरेको छ। घाम लाग्दा लुकेर बस्ने र रातको समयमा सक्रिय हुने यो किराले मकैको गाबो र पात खाएर बोट सुकाउने गर्छ।

धनकुटाका डिकुरे, गैरीगाउँ, दियाले, कटहरे, डडुवा लगायतका क्षेत्रमा फौजी किराको समस्या बढी देखिएको छ। महालक्ष्मी नगरपालिका क्षेत्रका खेतबारीमा समेत मकैका बोट पहेँलिँदै सुक्न थालेको किसानहरूले बताएका छन्।

यता कृषि ज्ञान केन्द्र धनकुटाले कम वर्षा भएको समयमा फौजी किराको संक्रमण बढी हुने जनाएको छ। किसानलाई स्थानीय तहसँग समन्वय गरी विषादी वितरण तथा नियन्त्रणका उपायबारे जानकारी दिइरहेको केन्द्रका प्रमुख नगेन्द्र रानाले बताउनुभयो।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार धनकुटामा करिब १३ हजार ४७० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ। पछिल्लो समय रोग, कीरा तथा जङ्गली जनावरका कारण मकै खेती प्रभावित हुँदै गएको किसानहरूको गुनासो छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया