Nepal Life

पोखरा बसपार्क क्षेत्रका घर–टहरा हटाउन सुरु, खाली भएको क्षेत्रमा सम्याउने काम तीव्र

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 18 13:44
पोखरा बसपार्क क्षेत्रका घर–टहरा हटाउन सुरु, खाली भएको क्षेत्रमा सम्याउने काम तीव्र

लेखनाथ, असार ४ । पोखरा महानगरपालिकाले वडा नम्बर ९ मा पर्ने पोखरा बसपार्क क्षेत्रका घर तथा टहरा हटाउन सुरु गरेको छ।

 

Nepal Life
NIMB

महानगरले आफैं संरचना हटाउन दिएको समयसीमा सकिएपछि खाली भएका घर, टहरा भत्काएर बसपार्क क्षेत्र सम्याउने काम सुरु गरेको हो।

जग्गाधनी पुर्जा भएका तथा सुकुम्बासीले समेत आफैं खाली गरेका संरचना हटाउन बिहीबार बिहानदेखि डोजर परिचालन गरिएको छ। बसपार्क क्षेत्रमा रहेका संरचना हटाएर सरसफाइ, व्यवस्थापन तथा सम्याउने काम अघि बढाइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो।

उहाँका अनुसार बाँकी रहेका सटर, कवल तथा छाना भने सम्बन्धित पक्षको अनुरोध र आपसी सहमतिअनुसार असार ६ गतेदेखि हटाइनेछ।

बसपार्क क्षेत्रमा रहेका सुकुम्बासीलाई भने व्यवस्थापन गरेपछि मात्रै हटाउने महानगरको तयारी छ। पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि अहिले करिब २६ रोपनी मात्रै खाली रहेको छ।

बसपार्क व्यवस्थापनका लागि महानगरले तीन वटा समिति गठन गरेको छ। जग्गा खोजी समितिले पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न महानगरका विभिन्न ६ स्थानका जग्गा प्रयोग गर्न सकिने सिफारिस गरेको छ।

महानगरले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई व्यवस्थापन गर्ने र अव्यवस्थित बसोबासीलाई हटाउने तयारी गरेको जनाएको छ।

हाल जग्गाधनीको विवरण, क्षेत्रफल यकिन गरी सिफारिस गर्ने न्यायिक निरूपण समिति तथा सुकुम्बासी पहिचान गर्ने समितिले अध्ययन गरिरहेका छन्। दुवै समितिको म्याद असार १७ गतेसम्म थप गरिएको छ।

महानगर प्रमुख आचार्यका अनुसार जग्गा सिफारिस समितिले पेश गरेका केही जग्गामा प्राविधिक समस्या देखिएकाले थप अध्ययन र परीक्षणका लागि समितिलाई १० दिनको अतिरिक्त समय दिइएको छ।

सिद्धार्थ राजमार्ग र पृथ्वी राजमार्ग जोडिने पोखराको पृथ्वीचोकमा २०३२ सालदेखि सुरु भएको बसपार्क निर्माण अभियान पाँच दशक बितिसक्दा पनि पूर्ण हुन सकेको छैन। हाल उक्त क्षेत्रमा करिब ५७५ सुकुम्बासीका टहरा रहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया