इप्पानको पहिलो बैठकः गणेश कार्की प्रमुख सल्लाहकार, रामप्रसाद आचार्य एशोसियट सदस्यमा मनोनित
- BFIS News
- 2026 Jun 19 17:35
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवगठित कार्यसमितिको पहिलो बैठकले निवर्तमान अध्यक्ष गणेश कार्कीलाई प्रमुख सल्लाहकार तथा पूर्व उपाध्यक्ष रामप्रसाद आचार्यलाई एशोसियट सदस्यका रूपमा मनोनित गर्ने निर्णय गरेको छ।
इप्पानका महासचिव टीएन आचार्यद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, मोहनकुमार डाँगीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको पहिलो बैठक बिहीबार काठमाडौंमा बसेको हो। इप्पानको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट जेष्ठ २९ गते नयाँ कार्यसमिति निर्वाचित भएको थियो भने जेष्ठ ३१ गते शपथ ग्रहण, प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।
बैठकले संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय प्रभाकर शम्सेर जंगबहादुर राणासहित सम्पूर्ण संस्थापकहरूको योगदानको स्मरण गर्दै हालै सम्पन्न साधारणसभा तथा अधिवेशन सफल बनाउन सहयोग गर्ने अघिल्लो कार्यसमितिका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
त्यसैगरी, साधारणसभामा सहभागी सदस्यहरू, निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत तथा अधिकृतहरू, इप्पान सचिवालयका कर्मचारी, सञ्चारकर्मी र सुरक्षाकर्मीप्रति पनि आभार व्यक्त गर्ने निर्णय बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ।
पहिलो बैठकमा अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरूबीच परिचयात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो व्यावसायिक संलग्नता, अनुभव र क्षमताबारे जानकारी आदानप्रदान गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरूलाई एकताबद्ध बनाउँदै ऊर्जा क्षेत्रका साझा मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले विभिन्न विषयगत समिति तथा विज्ञ–विशेषज्ञहरूको समूह गठन गरी ऊर्जा क्षेत्रका नीतिगत तथा व्यावसायिक विषयमा सक्रिय पहल गरिने बताए।
इप्पान नेपालका निजी क्षेत्रका ऊर्जा उत्पादक तथा लगानीकर्ताहरूको छाता संगठन हो। करिब २६ वर्षअघि स्थापना भएको संस्थामा हाल करिब ७ सय ऊर्जा उत्पादक कम्पनीहरू आबद्ध रहेका छन्। संस्थाले ऊर्जा क्षेत्रका उद्यमीहरूको समस्या पहिचान गरी समाधानका लागि नीति निर्माता, प्रशासन र नियामक निकायसँग समन्वय तथा पहल गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया