धान उत्पादन बढे पनि नेपाल अझै आत्मनिर्भर छैन : प्रा.डा. विष्णु विलास अधिकारी
- BFIS News
- 2026 Jun 29 10:35
‘धानबाट अत्यधिक मदिरा उत्पादन हुँदा खाद्यान्नको दुरुपयोग भइरहेको छ’
काठमाडौं । धान उत्पादनमा पछिल्ला वर्षहरूमा उल्लेख्य सुधार भए पनि नेपाल अझै धान तथा चामलमा आत्मनिर्भर बन्न नसकेको धानबाली विज्ञ प्रा.डा. विष्णु विलास अधिकारीले बताएका छन्।
उनले खेतीयोग्य जमिन घट्दै जानु, सीमित सिंचाइ, जलवायु परिवर्तन, रासायनिक मलमा बढ्दो निर्भरता तथा कृषि नीतिगत कमजोरीका कारण खाद्य सुरक्षामा दीर्घकालीन चुनौती थपिएको बताएका छन्।
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नेपालमा धान उत्पादन बढे पनि बढ्दो मागका कारण आयातमा निर्भरता कायम रहेको उल्लेख गरे।
उनका अनुसार नेपालीहरूको खानपानको बानी परिवर्तनसँगै धानको उपभोग निरन्तर बढिरहेको छ। विगतमा मकै, गहुँ, कोदो र फापरजस्ता अन्न बढी प्रयोग हुने गरे पनि अहिले अधिकांश नेपालीको मुख्य भोजन धानमा आधारित भएकाले माग पनि उल्लेख्य रूपमा वृद्धि भएको उनले बताए।
प्रा.डा. अधिकारीका अनुसार धान खेती हुने क्षेत्रफल निरन्तर घट्दै गएको छ। पहिले करिब १५ लाख हेक्टरमा धान खेती हुने गरेकामा अहिले त्यो क्षेत्रफल घटेर करिब १४ लाख २० हजार हेक्टरमा सीमित भएको छ। घडेरी निर्माण, सडक विस्तार, बस्ती विकास र खेतीयोग्य जमिन बाँझो छाड्ने प्रवृत्तिले धान खेतीको क्षेत्र संकुचित हुँदै गएको उनको भनाइ छ।
यद्यपि पछिल्ला वर्षमा उत्पादनमा भने सुधार देखिएको उनले बताए। गएको आर्थिक वर्षमा करिब ५९ लाख ६० हजार टन धान उत्पादन भएको र औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ टन पुगेको जानकारी दिँदै उनले अनुकूल वर्षा र केही क्षेत्रमा सिंचाइ सुविधा विस्तार हुनु उत्पादन वृद्धिको मुख्य कारण रहेको स्पष्ट पारे।
उनले नेपालमा उत्पादकत्व अझै अपेक्षाकृत कम रहेको उल्लेख गर्दै कृषि उत्पादन अझै पनि मनसुनमा अत्यधिक निर्भर रहेको बताए। उनका अनुसार देशको करिब ३० देखि ३५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र सुनिश्चित सिंचाइ सुविधा पुगेको छ भने बाँकी क्षेत्र वर्षाको भरमा खेती गर्न बाध्य छ।
जलवायु परिवर्तन र मल व्यवस्थापन मुख्य चुनौती
प्रा.डा. अधिकारीले जलवायु परिवर्तनले धान उत्पादनमा गम्भीर असर पारिरहेको बताए। समयमा वर्षा नहुनु, रोपाइँका बेला सुख्खा पर्नु तथा बाली भित्र्याउने समयमा अत्यधिक वर्षा हुनुले उत्पादनमा प्रत्यक्ष असर परेको उनको भनाइ छ।
उनले नेपालमा रासायनिक मल उत्पादन गर्ने उद्योग नहुँदा आयातमै निर्भर रहनुपर्ने अवस्था रहेको उल्लेख गरे। समयमै मल उपलब्ध नहुने र किसानहरू युरियाको असन्तुलित प्रयोगमा बढी निर्भर हुँदा माटोको गुणस्तर कमजोर बन्दै गएको उनको विश्लेषण छ।
माटोको उर्वराशक्ति जोगाउन गोठे मल, कम्पोस्ट, हरियो मल तथा जैविक मलको प्रयोग विस्तार गर्नुपर्नेमा उनले जोड दिए। माटोमा प्राङ्गारिक पदार्थको मात्रा घट्दै गएकाले त्यसको सुधारबिना दीर्घकालीन रूपमा उत्पादन बढाउन नसकिने उनको भनाइ छ।
हरेक वर्ष अर्बौं रुपैयाँको धान–चामल आयात
उनका अनुसार नेपालले हरेक वर्ष करिब ४५ देखि ५० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गर्दै आएको छ। उत्पादन बढे पनि बढ्दो मागका कारण देश अझै आत्मनिर्भर बन्न नसकेको उनले बताए।
भारतले सुगन्धित बाहेक अन्य धानको निर्यातमा कडाइ गर्दै गएको उल्लेख गर्दै उनले भविष्यमा पैसा भएर पनि आवश्यक खाद्यान्न आयात गर्न कठिन हुन सक्ने चेतावनी दिए।
नेपाललाई आत्मनिर्भर बनाउन सरकारले सिंचाइ विस्तार, स्वदेशमै मल उद्योग स्थापना, गुणस्तरीय बीउ वितरण तथा किसानलाई आधुनिक प्रविधिसम्बन्धी तालिमलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ। उन्नत बीउको प्रयोगबाट मात्रै पनि १५ देखि २५ प्रतिशतसम्म उत्पादन वृद्धि सम्भव हुने उनले बताए।
कृषि निकायबीच समन्वय अभाव
प्रा.डा. अधिकारीले कृषि अनुसन्धान परिषद्, कृषि विभाग र विश्वविद्यालयबीच प्रभावकारी समन्वयको अभाव रहेको बताए। किसानहरू कुन निकायबाट सेवा लिने भन्ने अन्योलमा पर्ने अवस्था अन्त्य गर्न साझा लक्ष्यसहित समन्वयात्मक ढंगले काम गर्नुपर्ने उनले बताए।
युवालाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नु अहिलेको आवश्यकता रहेको उनको धारणा छ। विदेशिएका युवालाई आधुनिक कृषि प्रविधिसहित उत्पादनमा फर्काउन सके कृषि क्षेत्रले नयाँ गति लिन सक्ने उनले बताए।
धानमा मात्र निर्भरता घटाउन आग्रह
उनले खाद्य सुरक्षाका लागि धानसँगै मकै, गहुँ, कोदो, फापर र चिनोजस्ता वैकल्पिक अन्नबालीको उत्पादन तथा उपभोग बढाउनुपर्ने सुझाव दिए।
धानबाट अत्यधिक मदिरा उत्पादन गरी खाद्यान्नको दुरुपयोग भइरहेको भन्दै त्यसतर्फ पनि राज्य र समाज गम्भीर हुनुपर्ने उनले बताए।
नेपालमा जुम्ली मार्सी, छुम्रुङलगायतका स्थानीय धानका बहुमूल्य जातहरू रहेको उल्लेख गर्दै उनले ती जातको संरक्षणसँगै उन्नत जातको प्रयोग विस्तार गर्नुपर्ने बताए। सुगन्धित, चिसो तथा सुख्खा सहन सक्ने स्थानीय जातहरूको संरक्षणले खाद्य सुरक्षा र जैविक विविधता दुवैलाई बल पुग्ने उनको विश्वास छ।
हाइब्रिड बीउ र किसानको लागत बढ्दो चिन्ता
प्रा.डा. अधिकारीका अनुसार किसानहरू अहिले उच्च उत्पादन दिने हाइब्रिड धानप्रति आकर्षित भइरहेका छन्। तर नेपालमा हाइब्रिड बीउको विकास सीमित रहेकाले अधिकांश बीउ भारत र चीनबाट आयात गर्नुपर्ने अवस्था छ। यस्ता जातले उत्पादन बढी दिए पनि लागत पनि उच्च हुने उनले बताए।
हाइब्रिड खेतीसँगै रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति कमजोर हुँदै गएको उनको चेतावनी छ। जैविक मलको प्रयोग घट्दै जानु दीर्घकालीन कृषि उत्पादनका लागि चुनौतीपूर्ण हुने उनले बताए।
नेपालमा मनसुन धान र चैते धान गरी दुई प्रमुख खेती प्रणाली रहेको उल्लेख गर्दै उनले मनसुन धानका लागि धेरै जात उपलब्ध भए पनि चैते धानका जात सीमित रहेको बताए।
किसानले उत्पादनको उचित मूल्य पाउनुपर्छ
उनले किसानको उत्पादन लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसार मूल्य निर्धारण नहुने समस्या रहेको बताए। वास्तविक लागत अध्ययनबिना मूल्य निर्धारण गर्दा किसान निरुत्साहित हुने भएकाले वैज्ञानिक आधारमा समर्थन मूल्य निर्धारण गर्नुपर्ने उनको सुझाव छ।
कृषि क्षेत्रलाई अझै पनि राज्यले पर्याप्त प्राथमिकता दिन नसकेको टिप्पणी गर्दै उनले किसानलाई सम्मानित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीय धान जातको संरक्षण, उन्नत बीउ विकास, सिंचाइ विस्तार, मल व्यवस्थापन सुधार तथा अन्नबालीको विविधीकरणमार्फत मात्रै नेपालको खाद्य सुरक्षा दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिने उनको निष्कर्ष छ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)










.jpeg)

प्रतिक्रिया