Nepal Life

कृषि र पर्यटन प्रवर्द्धनका लागि धादिङमा रोपाइँ महोत्सव आयोजना

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jun 29 11:01
कृषि र पर्यटन प्रवर्द्धनका लागि धादिङमा रोपाइँ महोत्सव आयोजना

काठमाडौं । ग्रामीण पर्यटन र कृषि क्षेत्रबीचको सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले धादिङमा रोपाइँ महोत्सव आयोजना गरिएको छ।

Nepal Life
NIMB

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ स्थित सुकौरा फाँटमा आइतबार महोत्सव आयोजना गरेको हो।

भिटोफ नेपालले ‘समुन्नत नेपालको प्राथमिक आधारः पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने नारासहित आयोजना गरेको महोत्सवको उद्देश्य स्थानीय कृषि, संस्कृति, परम्परा तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवर्द्धन रहेको जनाएको छ।

भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले कृषि र पर्यटनलाई एकअर्कासँग जोड्ने यस्ता गतिविधिले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए। स्थानीय मौलिक संस्कृति र कृषि परम्पराको संरक्षणसँगै गाउँ केन्द्रित पर्यटन विकासमा पनि यस्ता कार्यक्रम उपयोगी हुने उनको भनाइ थियो।

कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कृषि र पर्यटन क्षेत्रलाई सँगसँगै अघि बढाउन स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए। गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले पछिल्ला वर्षहरूमा ग्रामीण पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

भिटोफ नेपालका संस्थापक महासचिव शम्भु पाठकले कृषि र पर्यटनसँग सम्बन्धित कार्यक्रमहरूले ग्रामीण विकासमा सकारात्मक योगदान पुर्‍याउने धारणा व्यक्त गरे। उनले पर्यटन प्रवर्द्धनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको पनि बताए।

महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्वअध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी तथा शिव लामिछानेलगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार रोपाइँ महोत्सवले स्थानीय कृषि उत्पादन, संस्कृति र ग्रामीण पर्यटनको प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया