Nepal Life

बीमा कम्पनीको लगानी सवा ६ खर्ब, मुद्दती निक्षेपमै ७७ प्रतिशत केन्द्रित

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Wed 11:44
बीमा कम्पनीको लगानी सवा ६ खर्ब, मुद्दती निक्षेपमै ७७ प्रतिशत केन्द्रित
Sanima Reliance

काठमाडौं। बीमा कम्पनीहरूले आर्थिक वर्ष (आव) २०७९/८० को अन्त्यसम्म ६ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा ६ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् । प्राधिकरणका अनुसार आव २०७८/७९ को तुलनामा २०७९/८० मा उनीहरूको लगानी १८ दशमलव ९५ प्रतिशतले बढेको छ । कम्पनीहरूले आव २०७८/७९ मा ५ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका थिए । 

NIMB

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बीमा कम्पनीहरूले प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम नै लगानी गरिरहेको बताउँछन् । ‘बीमा कम्पनीहरूले लगानी निर्देशिका बमोजिम नै लगानी गरिरहेका छन् । तर, धेरैजसो कम्पनीहरूले मुद्दती निक्षेपमा नै लगानी गरिरहेको पाइन्छ,’ उनले भने, ‘कम्पनीहरूले भौतिक पूर्वाधार, विकास निर्माण, पर्यटन, कृषिलगायत क्षेत्रमा लगानी गर्न आवश्यक छ ।’ 

पौडेलका अनुसार केही बीमा कम्पनीहरूले एयरलाइन्स, कृषिलगायत क्षेत्रमा लगानी शुरू गरेका छन् । पौडेल भन्छन्, ‘कम्पनीहरूले लगानी गर्दा सुरक्षित र बीमितलाई रिटर्न दिने क्षेत्रमा गर्नुपर्छ । त्यसैले प्राधिकरणले उनीहरूलाई दायरामा बसेर लगानी विविधीकरण गर्न प्रोत्साहन गरिरहेको छ ।’ जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५ खर्ब ६८ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरूले आव २०७८/७९ को अन्त्यसम्ममा ४ खर्ब ७३ अर्ब रुपैयाँ लगानी गरेका थिए । आव २०७८/७९ को तुलनामा २०७९/८० मा जीवन बीमा कम्पनीहरूको लगानी २० प्रतिशतले बढेको हो । 

जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ७७ प्रतिशत लगानी गरेका छन् । यो भनेको ४ खर्ब ३७ अर्ब रुपैयाँ हो । दोस्रोमा उनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ७ प्रतिशत (४१ अर्ब ३४ करोड रुपैयाँ) लगानी गरेका छन् । 

निर्जीवन बीमा कम्पनीहरूले आव २०७९/८० को अन्त्यसम्ममा विभिन्न क्षेत्रमा ५८ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेका छन् । 

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले आव २०७८/७९ को अन्त्यसम्ममा ५३ अर्ब ९१ करोड रुपैयाँ लगानी गरेका थिए । आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा निर्जीवन बीमा कम्पनीको लगानी ९ प्रतिशतले बढेको हो । 

निर्जीवन बीमा कम्पनीहरूले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८० प्रतिशत लगानी गरेका छन् । रकममा यो ४७ अर्ब ४४ करोड रुपैयाँ हुन आउँछ । दोस्रोमा निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत कम्पनीको साधारण शेयरमा झन्डै ५ प्रतिशत (२ अर्ब ८७ करोड रुपैयाँ) लगानी गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया