एक लाखको बीमाले बन्यो जीवनको सहारा: दुर्घटनापछि मासिक भुक्तानी र प्रिमियम छुटले मानबहादुरलाई राहत
- BFIS News
- 2026 Jul 05 17:33
काठमाडौं । समाजमा बेला–बेलामा "बीमा गर्दा कम्पनीले एउटा कुरा गर्छ, दाबी गर्दा अर्कै व्यवहार गर्छ" भन्ने गुनासा सुनिने गर्छ। तर बीमा आफैँमा कानुनी करार भएकाले त्यसमा उल्लेख भएका सर्त र सुविधाहरू कार्यान्वयन गर्नु बीमा कम्पनीको दायित्व हुन्छ। सही योजना छनोट गरेर आवश्यक जोखिमसमेत समेटिएको बीमा गरिएमा कठिन परिस्थितिमा त्यसले परिवारलाई ठूलो आर्थिक सहारा दिन सक्छ।
यसको एउटा उदाहरण बनेका छन् बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका मानबहादुर बुढा। उनले सन् २०११ मा नेपाल लाइफ इन्स्योरेन्सबाट १५ वर्ष अवधिको 'सुरक्षित जीवन बीमा–१५' अन्तर्गत एक लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गरेका थिए। सावधिक जीवन बीमासँगै दुर्घटना जोखिमसमेत समेटिएको उक्त पोलिसीले अहिले उनको जीवनमा महत्वपूर्ण राहत प्रदान गरिरहेको छ।
बीमा गरेकै केही समयपछि २०७८ साल फागुन २२ गते कोहलपुरबाट चिसापानीतर्फ मोटरसाइकलमा जाँदै गर्दा कोहलपुर–२ सालको बुटा क्षेत्रमा भएको सवारी दुर्घटनामा उनी गम्भीर घाइते भए। दुर्घटनामा उनको मेरुदण्ड भाँचियो र उनी स्थायी रूपमा पूर्ण अशक्त बने। हाल उनी पूर्ण अशक्त (रातो कार्ड) प्राप्त अपाङ्ग व्यक्तिका रूपमा जीवन बिताइरहेका छन्।
यद्यपि, दुर्घटनापछि उनले २०७९ माघ १ गतेदेखि उनले नेपाल लाइफबाट अशक्तता सुविधाअन्तर्गत मासिक ८३३ रुपैयाँ प्राप्त गरिरहेका छन्। यससँगै बीमा अवधिभर उनले वार्षिक ६ हजार ८११ रुपैयाँ बीमा शुल्क (प्रिमियम) तिर्न नपर्ने सुविधा पनि पाएका छन्। उनले अव बीमा पोलिसी परिपक्व भए सँगै एक मुष्ठ रुपमा बीमाङ्क र अन्य सुविधाहरु प्राप्त गर्नेछन्।
नेपाल लाइफका वरिष्ठ एजेन्सी म्यानेजर जुहारी लाल चौलागाईंका अनुसार मानबहादुरले थोरै रकम भए पनि राहात प्राप्त गरेका छन्।उनका अनुसार यदि बीमाङ्क रकम बढी भएको भए अशक्तता सुविधाअन्तर्गत प्राप्त हुने मासिक रकम पनि उल्लेखनीय रूपमा बढ्ने थियो। यसले आवश्यकता र आर्थिक क्षमताअनुसार पर्याप्त बीमा सुरक्षा रोज्नुको महत्व स्पष्ट पार्ने उनले बताए।
हाल मानबहादुरले नेपाल लाइफबाट मासिक ८३३ रुपैयाँका साथै बैजनाथ गाउँपालिकाबाट अपाङ्गता भत्ताबापत मासिक ४ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन्। तर उपचार, औषधोपचार, दैनिक जीवनयापन तथा अन्य आवश्यक खर्चका लागि यो रकम पर्याप्त नभएको बुढा बताउँछन्।
उनका अनुसार अहिले सबैभन्दा ठूलो आवश्यकता इलेक्ट्रिक ह्वीलचेयरको रहेको छ। इलेक्ट्रिक ह्वीलचेयर प्राप्त भएमा अरूको सहाराबिना केही हदसम्म हिँडडुल गर्न, सामाजिक गतिविधिमा सहभागी हुन तथा दैनिक जीवन सहज बनाउन सकिने उनको भनाइ छ। तर कमजोर आर्थिक अवस्थाका कारण आफैंले खरिद गर्न नसक्ने अवस्था रहेको उनले बताएका छन्।
त्यसैले मानबहादुरले देश तथा विदेशमा रहेका नेपाली, समाजसेवी, संघसंस्था तथा सहयोगी मनहरूलाई आफ्नो अवस्थालाई बुझेर सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्। उनका अनुसार सानो सहयोगले पनि आफ्नो जीवनमा ठूलो राहत र नयाँ आशा थप्नेछ।
जीवन बीमा केवल मृत्यु जोखिमको सुरक्षा मात्र नभई दुर्घटनापछि दीर्घकालीन आर्थिक संरक्षणको माध्यम पनि बन्न सक्ने यो एउटा राम्रो उदाहरण हो। बीमाविज्ञहरूका अनुसार आफ्नो आय, जिम्मेवारी र जोखिमको मूल्याङ्कन गरेर पर्याप्त बीमाङ्कसहितको बीमा योजना छनोट गर्न सके भवितव्यको कठिन घडीमा त्यसले परिवारको आर्थिक आधार जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया