१० खेलाडीमा सीमित इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा, मेक्सिकोलाई ३–२ ले पराजित
- BFIS News
- 2026 Jul 06 10:41
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले सहआयोजक मेक्सिकामाथि ३–२ को कठिन जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।
दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएर खेले पनि इङ्ग्ल्यान्डले अग्रता जोगाउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
मेक्सिको सिटीस्थित अज्टेका रंगशालामा सोमबार बिहान भएको खेल प्रतिकूल मौसमका कारण करिब एक घण्टा ढिला सुरु भएको थियो। खेलको पहिलो हाफमा जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनले इङ्ग्ल्यान्डलाई बलियो अवस्थामा पुर्यायो।
इङ्ग्ल्यान्डले ३६औँ मिनेटमा अग्रता लिएको थियो। बुकायो साकाको पासलाई सदुपयोग गर्दै बेलिङ्घमले पहिलो गोल गरे। त्यसको दुई मिनेटपछि कप्तान ह्यारी केनको पासमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। बेलिङ्घमका दुवै गोल ९८ सेकेन्डको अन्तरमा भएका थिए।
पहिलो हाफको अन्त्यतिर मेक्सिकोले खेलमा फर्कने संकेत देखायो। निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा जुलियन किन्योनेसले गोल गर्दै अन्तर २–१ मा झारे।
दोस्रो हाफको ५४औँ मिनेटमा इङ्ग्ल्यान्डलाई ठूलो धक्का लाग्यो। डिफेन्डर जारेल क्वान्साहले जेसस गालार्डोमाथि गरेको ट्याकलपछि रातो कार्ड पाएसँगै इङ्ग्ल्यान्ड बाँकी समय १० खेलाडीमा सीमित भयो।
एक खेलाडी कम हुँदा पनि इङ्ग्ल्यान्डले अर्को गोल थप्न सफल भयो। ६०औँ मिनेटमा एन्थोनी गोर्डनमाथि पेनाल्टी क्षेत्रमा फाउल भएपछि प्राप्त पेनाल्टीलाई कप्तान ह्यारी केनले गोलमा परिणत गर्दै टोलीलाई ३–१ को अग्रता दिलाए।
मेक्सिकोले ६९औँ मिनेटमा पेनाल्टीमार्फत पुनः अन्तर घटायो। केनले आफ्नै पेनाल्टी क्षेत्रमा ब्रायन गुटिएरेजलाई फाउल गरेपछि प्राप्त अवसरलाई राउल जिमेनेजले सदुपयोग गर्दै स्कोर ३–२ बनाए।
त्यसपछि घरेलु टोलीले बराबरी गोलका लागि लगातार दबाब सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले महत्वपूर्ण बचाउ गर्दै टोलीलाई थप क्षति हुन दिएनन्। रक्षापंक्तिले पनि अन्तिम समयसम्म संयमित प्रदर्शन गरेपछि इङ्ग्ल्यान्डले एक गोलको अग्रता कायम राख्न सफल भयो।
यस जितसँगै प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ग्ल्यान्डले क्वार्टरफाइनलमा स्थान बनाएको छ। अब उसले सेमिफाइनल प्रवेशका लागि नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेले अन्तिम १६ मा ब्राजिललाई २–१ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)








.jpeg)

.jpeg)

प्रतिक्रिया