भन्सार सुधार र व्यापार सहजीकरणका लागि एडीबीले नेपाललाई ५ करोड डलर सहुलियतपूर्ण ऋण दिने
- BFIS News
- 2026 Jul 06 16:43
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मसातो कान्डाले नेपालको भन्सार सुधार तथा व्यापार सहजीकरणका लागि ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब ६० करोड रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउन सहमति जनाएका छन्।
दुईदिने नेपाल भ्रमणमा रहेका एडीबी अध्यक्ष कान्डाले सोमबार अर्थसचिव घनश्याम उपाध्यायसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल सरकार र एडीबीबीच भन्सार प्रशासनको आधुनिकीकरण तथा डिजिटल रूपान्तरणका लागि उक्त ऋणसम्बन्धी सम्झौता गर्ने विषयमा सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त ऋण भन्सार प्रशासनको डिजिटलाइजेसन, व्यापार सहजीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खर्च गरिनेछ। यसअन्तर्गत जोखिममा आधारित परीक्षण प्रणालीको विकास, भन्सार प्रक्रियाको सरलीकरण, सम्बन्धित निकायबीच संस्थागत समन्वय अभिवृद्धि तथा ढुवानी र लजिस्टिक्स प्रणालीलाई सहज बनाउने कार्यक्रम सञ्चालन गरिनेछ।
मन्त्रालयले यस कार्यक्रमबाट भन्सार प्रशासनलाई थप आधुनिक, पारदर्शी र प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया