Nepal Life

सिरहामा १२ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 08 10:04
सिरहामा १२ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृत पक्राउ

सिरहा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सब डिभिजन वन कार्यालय बन्दिपुरका प्रमुख वन अधिकृत रामकेवल राय यादवलाई १२ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

Nepal Life
NIMB

आयोगका अनुसार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयका अनुसार वन अधिकृत यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग विभिन्न स्थानबाट ल्याइएका तीन ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रतिट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ मागेका थिए।

सेवाग्राहीले घुस मागिएको भन्दै आयोगमा उजुरी दिएपछि आवश्यक प्रमाण संकलन गरी निगरानी सुरु गरिएको थियो। सोही क्रममा कर्जन्हा नगरपालिका–४ बाट यादवलाई १२ हजार रुपैयाँ घुस बुझिसकेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको जनाएको छ।

आयोगका प्रवक्ता प्रकाश पोखरेलका अनुसार पक्राउपश्चात घटनास्थलमै मुचुल्का तयार गर्ने, प्रमाण संकलन गर्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक प्रक्रिया पूरा भएपछि थप अनुसन्धानका लागि उनलाई अख्तियारको बर्दिबास कार्यालय लगिने तयारी गरिएको आयोगले जनाएको छ।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको तथा अनुसन्धानपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया