भारतीय विमानस्थलबाट कामदार पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा
- BFIS News
- 2026 Jul 12 16:48
काठमाडौं, असार २८ वैदेशिक रोजगार विभागले कानुनी व्यवस्था उल्लंघन गर्दै नेपाली कामदारलाई भारतीय विमानस्थलबाट विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ उल्लंघन गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो चरणमा सचेत गराएको जनाएको छ।
विभागले २०८२ चैत १ देखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण संकलन गरी अनुगमन गरेको थियो। सो अवधिमा स्वदेशी विमानस्थलको सट्टा भारतीय विमानस्थल प्रयोग गरी कामदार विदेश पठाइएको पुष्टि भएपछि कारबाही गरिएको विभागले जनाएको छ।
देशभर सञ्चालनमा रहेका १ हजार ११७ इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ कम्पनीले मात्र विभागले मागेको विवरण बुझाएका थिए। तीमध्ये १५९ कम्पनीले विभागको स्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरेको भेटिएको हो।
त्यसैगरी, विवरण नै नबुझाउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै सचेत गराइएको छ। विभागले ती कम्पनीलाई आवश्यक विवरण यथाशीघ्र पेश गर्न निर्देशन दिएको छ।
यसैबीच, पटक–पटक नियम उल्लंघन गर्ने आठ वटा म्यानपावर कम्पनीलाई भने विभागले थप कडा कारबाही गर्दै जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको छ। विभागका अनुसार तीन कम्पनीले पुनः भारतीय विमानस्थलबाट श्रमिक पठाएको भेटिएको थियो भने पाँच कम्पनीले मागिएको विवरण नै उपलब्ध गराएका थिएनन्।
विभागले यसअघि असार २६ गते सूचना जारी गर्दै सबै म्यानपावर कम्पनीलाई श्रमिकलाई कुन विमानस्थलबाट विदेश पठाइएको हो भन्ने विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको थियो। भारतीय विमानस्थल प्रयोग गरी नेपाली कामदार विदेश पठाइने गुनासो बढेपछि अनुगमन तीव्र पारिएको विभागले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया