सगरमाथा लुम्बिनीको रेटिङमा अपग्रेड: पायो ‘ए’ रेटिङ, दाबी भुक्तानीको कौशलताले बढ्यो साख
- BFIS News
- 2026 Jul 16 17:39
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सालिको) ले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट [ICRANP-IR] A (इश्यूअर रेटिङ ‘ए’) प्राप्त गरेको छ। रेटिङ एजेन्सीले यस भन्दा अगाडीको रेटिङ ‘Watch with Negative Implications’ लाई हटाउदै 'ए' रेटिङ प्रदान गरेको हो।
इक्रा नेपालका अनुसार ‘ए’ श्रेणीको इश्यूअर रेटिङ प्राप्त संस्थाहरू वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता भएका, न्यून कर्जा जोखिम वहन गर्ने तथा समग्र रूपमा सुदृढ वित्तीय अवस्थाका मानिन्छन्। यो रेटिङ कम्पनीको समग्र साख मूल्यांकन हो, कुनै निश्चित ऋण उपकरणको मूल्यांकन भने होइन।
दाबी भुक्तानी क्षमतामा विश्वास बढेपछि निगरानी सूचीबाट हटाइयो
इक्रा नेपालले गएको भदौमा भएको जेन्सी आन्दोलन पछि कम्पनीमा परेको ठुलो दाबी व्यवस्थापनलाई लिएर वाच लिष्टमा राखेको थियो। जेन्सी आन्दोलनका क्रममा सगरमाथा लुम्बिनीमा ९२ करोड भन्दा धेरैको दाबी परेको थियो। त्यसमध्ये कम्पनीको आफ्नै जोखिम हिस्सा करिब २६ करोड १० लाख रुपैयाँ अर्थात् करिब २८ प्रतिशत रहेको थियो। कम्पनीको पुनर्बीमा व्यवस्था, बलियो नेटवर्थ तथा पर्याप्त तरलताका कारण यी दायित्व सहज रूपमा व्यवस्थापन गर्न सफल भएको इक्रा नेपालले जनाएको छ। यद्यपि, यस घटनाले चालु आर्थिक वर्षको नाफामा उल्लेखनीय दबाब पर्ने अनुमान गरिएको छ।
बलियो बजार उपस्थिति र संस्थागत प्रवर्द्धक सकारात्मक पक्ष
प्राप्त रेटिङलाई कम्पनीको लामो सञ्चालन अनुभव, सामान्य बीमा क्षेत्रमा रहेको ठूलो बजार हिस्सा तथा स्थिर वित्तीय आधारले पनि साथ लिएको छ। सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जरपछि स्थापना भएको सालिको हाल नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीमध्ये एक हो।
आर्थिक वर्ष २०८२/८३ (९ महिनासम्म) कम्पनीले कुल बीमा शुल्क (ग्रस प्रिमियम) र खुद बीमा शुल्क (नेट प्रिमियम) दुवैमा करिब १० प्रतिशत बजार हिस्सा कायम गरेको छ।
कम्पनीको प्रमुख प्रवर्द्धकमध्ये श्रीलंकाको सेलिको होल्डिङ्स पीएलसी करिब ११.४ प्रतिशत सेयर हिस्सा सहित रहेको छ। बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव भएको उक्त संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व तथा कम्पनीको अनुभवी व्यवस्थापन टोलीलाई पनि रेटिङको सकारात्मक आधारका रूपमा लिइएको छ।
सुदृढ सोल्भेन्सी र पर्याप्त तरलता
इक्रा नेपालका अनुसार कम्पनीको जोखिममा आधारित पूँजी प्रणालीअनुसार सोल्भेन्सी मार्जिन सन् २०२५ को मध्य जुलाईसम्म ३.३८ गुणा पुगेको छ, जुन नियामकीय न्यूनतम १.३० गुणा भन्दा धेरै माथि हो।
त्यस्तै, सन् २०२६ को मध्य अप्रिलसम्म कम्पनीको तरल सम्पत्ति र खुद बीमा दायित्वबीचको अनुपात करिब २.९ गुणा रहेको छ। हुल दंगाबाट परेको उच्च दाबीका कारण यो अनुपात अघिल्लो वर्षको तुलनामा केही घटे पनि कम्पनीको तरलता अवस्था अझै पर्याप्त रहेको इक्रा नेपालले जनाएको छ।
पुनर्बीमा संरचना प्रभावकारी
कम्पनीले नियमित तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त पुनर्बीमा व्यवस्था कायम गरेको छ। विशेषगरी विपद् जोखिम (Catastrophic Cover) अघिल्लो मूल्यांकनको तुलनामा थप विस्तार गरिएको छ, जसले ठूलो परिमाणका दाबी भुक्तानीमा कम्पनीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीको प्रमुख अन्तर्राष्ट्रिय पुनर्बीमक जीआईसी रि (GIC Re) को सुदृढ वित्तीय अवस्थाले पनि थप विश्वास दिलाएको छ। हुलदंगासम्बन्धी अधिकांश जोखिम भने नेपाल पुनर्बीमा कम्पनी मार्फत व्यवस्थापन गरिएको रेटिङ एजेन्सीले उल्लेख गरेको छ।
चुनौती भने अझै कायम
सकारात्मक पक्षका बाबजुद कम्पनीले केही संरचनात्मक चुनौती सामना गरिरहेको इक्रा नेपालले औंल्याएको छ। बीमा उद्योगमा अझै १४ वटा निर्जीवन बीमा कम्पनी सक्रिय रहनु, मर्जरपछि ठूला प्रतिस्पर्धी कम्पनीहरूको प्रभाव बढ्नु तथा थप लघु बीमा कम्पनीहरूको प्रवेशले प्रतिस्पर्धा तीव्र बनेको छ। यसले बजार विस्तार र प्रिमियम वृद्धिमा दबाब सिर्जना गरिरहेको छ।
त्यसैगरी कम्पनीको अन्डरराइटिङ नतिजा अझै मध्यम स्तरमै रहेको, निक्षेप ब्याजदर घट्दै जाँदा लगानी आम्दानीमा कमी आउन थालेको तथा छोटो अवधिका मुद्दती निक्षेपमा उच्च निर्भरता रहेको विषयलाई पनि रेटिङले चुनौतीका रुपमा उल्लेख गरेको छ।
कम्पनीले आफ्नो जोखिम धारण (Retention Ratio) पनि क्रमशः बढाएर चालु आर्थिक वर्षको नौ महिनामा करिब ५० प्रतिशत पुर्याएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा करिब ४४ प्रतिशत थियो। जोखिम धारण बढेसँगै कमिसन आम्दानी अनुपात घट्दै गएको तथा उच्च दाबी अनुपातका कारण समग्र नाफामा दबाब देखिएको इक्रा नेपालको विश्लेषण छ।
यसका अतिरिक्त कम्पनीको कुल बीमा शुल्कको करिब ३६ प्रतिशत र खुद बीमा शुल्कको करिब ५९ प्रतिशत हिस्सा मोटर बीमाबाट आउने भएकाले यस क्षेत्रमा हुने कुनै पनि नियामकीय परिवर्तनले कम्पनीको व्यवसायमा प्रत्यक्ष प्रभाव पार्न सक्ने उल्लेख गरिएको छ।
भविष्यको मूल्यांकनका आधार
इक्रा नेपालका अनुसार आगामी दिनमा कम्पनीले आफ्नो सञ्चालनको आकार थप विस्तार गर्न सक्ने क्षमता, अन्डरराइटिङ नाफामा सुधार ल्याउने रणनीति तथा बढ्दो जोखिम धारणबीच समग्र नाफा सन्तुलित राख्ने क्षमता नै भावी रेटिङका प्रमुख संवेदनशील पक्ष हुनेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया