स्याङ्जामा बिरामी र अशक्तका लागि निःशुल्क अटो सेवा : पुष्प चन्द्र ट्रष्टको मानवीय अभियानमा सारथी बन्दै अटो व्यवसायीहरु
- BFIS News
- 2026 Jul 18 07:24
स्याङ्जा । समाजमा "सेवा नै धर्म हो" भन्ने भनाईलाई चरितार्थ गर्दै स्याङ्जाको पुतलीबजार नगरपालिकास्थित प्रदेश अस्पताल (साबिक जिल्ला अस्पताल) मा उपचारका लागि जाने गरिब, अशक्त र बिरामीहरूको सहजताका लागि उदाहरणीय मानवीय सेवा सुरु भएको छ। "पुष्प चन्द्र ट्रष्ट"को विशेष पहलमा सुरु भएको यस अभियानमा स्थानीय अटो (टेम्पो) ब्यवसायीहरुले आफ्नो रोजीरोटीको पर्वाह नगरी निःशुल्क यातायात सेवा प्रदान गर्न थालेका छन्।
आर्थिक अभाव वा यातायातको असुविधाका कारण कोही पनि बिरामीले समयमा उपचार पाउनबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यका साथ ट्रष्टले यो अभियान अगाडि बढाएको हो। यस महान अभियान सहितको पवित्र कार्यमा हाल दुई जना अटो (टेम्पो) ) ब्यवसायीहरु निस्वार्थ रूपमा जोडिएर समाजका लागि सच्चा हिरो बनेका छन्।
उनीहरूले हप्ताको दुई दिन बिहान ७:०० बजेदेखि दिउँसो १:०० बजेसम्म तोकिएका रुटहरूबाट प्रदेश अस्पतालसम्म बिरामीलाई निःशुल्क ओसारपसार गरिरहेका छन्।
यस्तो छ सेवाको रुट र समयतालिका:
हरेक सोमबार : अटो ब्यवसायी मुनिन्द्र मान श्रेष्ठले आफ्नो अटोमार्फत बाडखोला, गैरीखेत, प्रगतिनगर, घुम्ती, देवीथान, स्याङ्जा लामागेदेखि प्रदेश अस्पताल (कुमाल गाउँ) सम्मका बिरामीलाई सेवा दिइरहेका छन्। आपतकालीन अवस्थामा बिरामीले उनलाई ९८६३४१८३३६ मा सम्पर्क गर्न सक्नेछन्।
हरेक मंगलबार : अटो ब्यवसायी विशाल शेरचनले पुतलीबजार नगरपालिका वडा नं. १३ का विभिन्न स्थानहरू— लामागे डाइभर टोल, कुलबाद, स्वारा, हल्ले खोला, लामपाटा, तोरीखोला, बिसौना र बिर्ता लगायतका सम्पूर्ण ठाउँबाट प्रदेश अस्पतालसम्म निःशुल्क सेवा प्रदान गरिरहेका छन्। सेवाग्राहीले उनलाई ९८४९२९३८५१ मा सम्पर्क गर्न सक्नेछन्।
अन्य व्यवसायीलाई पनि जोडिन आह्वान
पुतलीबजार नगरपालिका-३ मा स्थापित 'पुष्प चन्द्र ट्रष्ट' ले निस्वार्थ सेवाभावका साथ सुरु गरेको यो अभियानले स्थानीय स्तरमा निकै प्रशंसा पाइरहेको छ। ट्रष्टले यस मानवीय कार्यमा जोडिएर समाजप्रतिको उत्तरदायित्व पूरा गर्ने अटो ब्यवसायीहरु मुनिन्द्र र विशालप्रति उच्च सम्मान प्रकट गरेको छ।
"व्यापार र व्यवसायले हामीलाई जीवन धान्न सिकाउँछ, तर सेवाले हामीलाई बाँच्न सिकाउँछ," ट्रष्टको सन्देशमा भनिएको छ, "समाजले हामीलाई धेरै दिएको छ, अब समाजलाई केही फर्काउने बेला हाम्रो हो।"
यसै सन्देशलाई आत्मसात् गर्दै, पुष्प चन्द्र ट्रष्टले पुतलीबजार र वरपरका अन्य टेम्पो व्यवसायी, यातायात व्यवसायी तथा मनकारी उद्योगी/व्यापारीहरूलाई पनि यस पवित्र कार्यमा हातेमालो गर्न हार्दिक आह्वान गरेको छ। आफ्नो क्षमता र समयअनुसार हप्ताको कुनै एक दिन वा केही घण्टा मात्रै पनि यसरी सेवामा समर्पित हुन सके स्याङ्जाका सयौं गरिब र अशक्त बिरामीहरूले ठूलो राहत पाउनेछन्।
विपन्न वर्गको आँसु पुछ्ने र अनुहारमा मुस्कान ल्याउने यस अभियानमा जोडिन चाहने संघसंस्था वा व्यक्तिले पुष्प चन्द्र ट्रष्टसँग सम्पर्क गर्न सक्नेछन्।
साथै, आफ्नो टोल वा छिमेकमा कोही गरिब तथा अशक्त बिरामी भएमा उल्लिखित नम्बरहरूमा सम्पर्क गरी यो निःशुल्क सेवाको लाभ लिन पनि ट्रष्टले सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)






.jpeg)




प्रतिक्रिया