सरकारको सक्रियतासँगै शेयर बजारमा उत्साह, बालेनको छलफल सुरु भएसँगै नेप्सेमा हरियाली
- BFIS News
- 2026 Jul 20 15:14
काठमाडौं । सरकारको सक्रियता र पूँजीबजार सुधारका विषयमा उच्चस्तरीय पहल सुरु भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक प्रभाव देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबारदेखि पूँजीबजारका लगानीकर्ता, नियामक निकाय तथा अन्य सरोकारवालासँग छलफल सुरु गरेसँगै लगानीकर्ताको मनोबल बढेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित छलफलमा पूँजीबजारमा देखिएका समस्या, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उपाय तथा बजार सुधारका सम्भावित नीतिगत व्यवस्थाबारे विस्तृत छलफल भइरहेको छ। सरकार स्वयंले पूँजीबजारलाई प्राथमिकतामा राखेर संवाद सुरु गरेपछि बजारमा सकारात्मक सन्देश गएको विश्लेषकहरूको भनाइ छ। उनले केहि समयदेखि उद्यमी व्यवसायीहरुलाई पनि लगातार भेटवार्ता गरिरहेका छन्। सरकार प्रति चर्को आलोचना सुरु भए सँगै उनि केहि हच्किएका छन्। उनले सरकार प्रतिको आलोचना कम गर्न पनि शेयर बजारमा ध्यान दिएका हुन्।
यसै सकारात्मक मनोविज्ञानबीच साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उल्लेख्य अंकले बढेको छ। बजारमा अधिकांश उपसमूह हरियाली देखिएका छन् भने लगानीकर्ताको खरिद चाप पनि बढेको छ। कारोबार रकममा समेत सुधार देखिएको छ, जसले बजारमा नयाँ उत्साह फर्किन थालेको संकेत गरेको छ। सोमबार नेप्से परिसूचक ४७.७० अंकले बढेर २७१९.२४ अंक पुगेको छ। आज २३९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ३२ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ।
विशेषगरी बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी तथा बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। उत्पादन तथा प्रशोधनमुलक कम्पनीको सुचक ३.२१ प्रतिशतले बृद्धि भएको छ। म्युचुअल फण्ड बाहेक सबै सूचकमा सुधार आएको छ। बजारमा खरिदकर्ता सक्रिय हुँदा कारोबारको गति पनि अघिल्ला दिनको तुलनामा बढेको देखिएको छ। आज ५ अर्ब ५१ करोडको कारोबार भएको छ। एभरेष्ट कलर र रिज इनर्जीको शेयर मूल्यमा सर्किट तहमा सुधार आएको छ। आत्मनिर्भर र कर्पोरेट डेभलपमेन्टको शेयर मूल्यमा भने गिरावट देखिएको छ।
पछिल्लो समय मौद्रिक नीतिमा आएको लचकता, बैंकिङ प्रणालीमा पर्याप्त तरलता, ब्याजदर न्यून स्तरमा रहनु तथा सरकारको पूँजीबजारप्रतिको सकारात्मक प्रतिबद्धताले पनि बजारलाई थप बल पुर्याएको विश्लेषण गरिएको छ। त्यसमाथि प्रधानमन्त्री स्वयंले सरोकारवालासँग प्रत्यक्ष संवाद थालेपछि लगानीकर्ताले सरकार पूँजीबजार सुधारप्रति गम्भीर रहेको सन्देश लिएका छन्।
बजार विश्लेषकहरूका अनुसार संवादलाई ठोस नीतिगत निर्णयमा रूपान्तरण गर्न सकिए आगामी दिनमा बजारको सकारात्मक लय अझ बलियो बन्न सक्छ। यद्यपि दीर्घकालीन सुधारका लागि नियामकीय स्थायित्व, लगानीमैत्री नीतिगत व्यवस्था तथा बजार विस्तारसम्बन्धी सुधारहरू पनि आवश्यक रहने उनीहरूको धारणा छ। अझै पनि सरकारले बोलिरहेको हो कि व्यवहारमा पनि सकारात्मक शैली अपनाउने हो भन्ने तर्फ पनि शंका कायमै छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया