यस वर्ष पाँच वाणिज्य बैंकका कर्मचारी साउनमै अग्रिम बोनस पाउनबाट बञ्चित
- BFIS News
- 2026 Jul 23 11:49
काठमाडौं । चालु आर्थिक वर्षको सुरुआतमै कर्मचारीलाई अग्रिम बोनस वितरण गर्ने विगतको अभ्यासलाई यस वर्ष पाँच वाणिज्य बैंकले निरन्तरता नदिने भएका छन्। एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट साउनको पहिलो सातामै अग्रिम बोनस वितरण नगर्ने तयारी गरेका हुन्।
नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा आर्थिक वर्ष समाप्त भएपछि कर्मचारीलाई बोनसको केही हिस्सा अग्रिम रूपमा वितरण गर्ने र बाँकी रकम वार्षिक साधारणसभा सम्पन्न भएपछि उपलब्ध गराउने प्रचलन रहँदै आएको छ। तर यस वर्ष ती पाँच बैंकले उक्त अभ्यास स्थगित गर्ने निर्णय गरेका छन्।
बोनस ऐन अनुसार नाफा आर्जन गर्ने प्रत्येक प्रतिष्ठानले आफ्नो वार्षिक खुद नाफाको १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ। ऐनको दफा ५ ले नाफा कमाउने प्रत्येक संस्थाले आर्थिक वर्षको खुद नाफाको १० प्रतिशत कर्मचारी बोनसका लागि विनियोजन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ।
यही कानुनी व्यवस्थाका आधारमा बैंकहरूले आर्थिक वर्ष सकिएलगत्तै बोनसको केही अंश अग्रिम वितरण गर्दै आएका थिए भने बाँकी रकम वार्षिक साधारणसभा सम्पन्न भएपछि वितरण गर्ने अभ्यास थियो।
तर यस वर्ष सम्बन्धित बैंकहरूले बाह्य लेखापरीक्षण सम्पन्न भई वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्र आफ्नो वित्तीय क्षमता मूल्याङ्कन गरेर बोनस वितरण गर्ने निर्णय गरेका छन्।
विशेषगरी हिमालयन बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएको तथा कर्जा नोक्सानी व्यवस्थापनका लागि उच्च प्रोभिजन गर्नुपर्ने अवस्था रहेकाले बोनस वितरणमा सावधानी अपनाइएको बताइएको छ। केही बैंकमा सञ्चित नोक्सानीको अवस्था समेत देखिएकाले अन्तिम वित्तीय विवरण स्वीकृत नहुँदासम्म अग्रिम बोनस वितरण नगर्ने नीति लिइएको स्रोतले जनाएको छ।
यता, प्राइम कमर्सियल बैंक विगतदेखि नै कर्मचारीलाई तुलनात्मक रूपमा आकर्षक बोनस उपलब्ध गराउने बैंकका रूपमा परिचित छ। यस वर्ष पनि उल्लेख्य बोनस वितरण गर्ने सम्भावना रहे पनि हालसम्म बैंकले कर्मचारीलाई अग्रिम बोनस वितरण नगरेको कर्मचारी स्रोतले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया