बीमा क्षेत्रमा अनुसन्धानको दायरा फराकिलो बनाउँदै 'रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्स'
- BFIS News
- 2026 Aug 23 17:44
काठमाडौं। रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्स (RISI)को प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। गएको पुसमा दर्ता भई मोहनपुरुष ढकालको संयोजकत्वमा गठन भएको तदर्थ समितिले संस्थाको पहिलो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैद्धवार, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी, प्राधिकरणका निर्देशक साम्बराज लामिछाने, सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषिराम कोइराला, निर्माका उपाध्यक्ष उदय अधिकारी लगायतको उपस्थिति थियो।
बीमा क्षेत्रलाई अनुसन्धानमुखी बनाउन सर्भेयरको पहल महत्वपूर्ण : फत्तबहादुर केसी
नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रलाई थप परिमार्जित, विश्वसनीय र उन्नत बनाउन अनुसन्धानमा आधारित निर्णय र कार्यसम्पादन आवश्यक रहेको बताएका छन्।
अधिवेशनलाई सम्बोधन गर्दै केसीले बीमा क्षेत्रको विकाससँगै यसका विभिन्न पक्षमा अनुसन्धानको आवश्यकता बढ्दै गएको बताए। सर्भेयरहरूको पहलमा स्थापना भएको RISI ले बीमा क्षेत्रका समस्या, चुनौती र अनुसन्धानमा आधारित विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
“बीमा क्षेत्रलाई अझै परिमार्जित, विश्वसनीय र उन्नत बनाउन हरेक क्षेत्रबाट उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ,” केसीले भने, “सर्भेयर साथीहरूको लामो समयको अनुभव र यस क्षेत्रमा देखिएका अवरोध तथा चुनौतीलाई आधार बनाएर अनुसन्धानतर्फ अघि बढ्ने प्रयास आफैँमा प्रशंसनीय छ।”
उनले RISI को उद्देश्य सफल बनाउन सर्भेयरहरूको पहल मात्र पर्याप्त नहुने भन्दै नेपाल बीमक संघ, बीमा कम्पनीहरू र नेपाल बीमा प्राधिकरणको पनि समान रूपमा महत्वपूर्ण भूमिका रहने बताए। प्राधिकरण, बीमक संघ र सर्भेयर संघबीच समन्वय गरी RISI लाई परिचालन गर्न सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने उनको धारणा छ।
केसीले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन पनि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। सीमित स्रोतसाधनलाई उपलब्धिमूलक बनाउन अनुसन्धानका विषयलाई प्राथमिकताका आधारमा छनोट गरी अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
उनका अनुसार नेपालको बीमा क्षेत्रले समग्रमा राम्रो काम गरिरहेको भए पनि आकस्मिक रूपमा आउने केही घटनाले पूरै क्षेत्र आलोचनामा पर्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा तथ्यमा आधारित अनुसन्धान र विश्लेषणले समस्या पहिचान तथा समाधानमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
केसीले २०७२ सालको भूकम्पलाई नेपालको बीमा क्षेत्र र सर्भेयरका लागि महत्वपूर्ण परीक्षाका रूपमा स्मरण गरे। त्यसबेला सर्भेयर तथा बीमा कम्पनीहरूको सहयोगमा दाबी भुक्तानी प्रक्रिया अघि बढाउँदा नेपालको बीमा क्षेत्रले आफ्नो क्षमता र विशिष्ट पहिचान स्थापित गर्न सफल भएको उनले बताए।
“भविष्यमा पनि त्यस्ता भवितव्य घटना नपर्लान् भन्न सकिँदैन। त्यसैले अनुसन्धान नियमित रूपमा भइरहनुपर्छ,” उनले भने।
नेपालको बीमा क्षेत्रलाई अनुसन्धानमुखी बनाउन नियामक निकाय, बीमा कम्पनी र स्वतन्त्र अनुसन्धान संस्थाहरू सबैले प्राथमिकता दिनुपर्नेमा केसीले जोड दिए। अहिले नियामक, बीमा कम्पनी तथा स्वतन्त्र अनुसन्धान संस्थासमेत अनुसन्धानको प्राथमिकतामा केही हदसम्म कमजोर रहेको उनको टिप्पणी छ।
अनुसन्धानमा आधारित निर्णय र कार्यान्वयनलाई संस्थागत गर्न सके बीमा क्षेत्रको समग्र कार्यसम्पादनमा सुधार आउने उनले विश्वास व्यक्त गरे। “रिसर्च बेस्ड डिसिजन र रिसर्च बेस्ड एक्सन भयो भने यसले पक्कै पनि सुधार ल्याउँछ,” केसीले भने।
बीमा सर्भेयरको क्षमता विकास र अनुसन्धानमा जोड दिन साम्बराज लामिछानेको आग्रह
नेपाल बीमा प्राधिकरणका निर्देशक साम्बराज लामिछानेले बीमा क्षेत्रको प्रभावकारी विकासका लागि बीमा सर्भेयरको व्यावसायिक क्षमता, दक्षता र अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सर्भेयर बीमा व्यवसायका लागि महत्वपूर्ण स्वतन्त्र विशेषज्ञ रहेको बताए। सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका दक्ष जनशक्तिलाई बीमा कम्पनीहरूले आफ्नो व्यवसायिक प्रणालीमा विशेषज्ञ सेवाका रूपमा उपयोग गर्दै आएको उनको भनाइ थियो।
“बीमा सर्भेयरको महत्व इन्स्योरेन्स सेक्टरमा महत्वपूर्ण छ भन्ने कुरामा दुईमत हुन सक्दैन,” उनले भने। पुस्ता परिवर्तन भए पनि बीमा सर्भेयरको आवश्यकता र भूमिकामा कमी नआएको उनले बताए। कार्यक्रममा अनुभवी तथा नयाँ पुस्ताका सर्भेयरहरूको सहभागिताले पेशाको निरन्तरता र महत्वलाई समेत देखाएको लामिछानेको भनाइ थियो।
उनका अनुसार सर्भेयरको पेशालाई थप मर्यादित र व्यवस्थित बनाउन विगतमा ‘निसा’ लगायतका संस्थामार्फत पहल हुँदै आएको थियो। बीमा प्राधिकरणसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले रिसर्च इन्ष्टिच्युट अफ इन्स्योरेन्स सर्भेयर स्थापना भएको र अहिले संस्था स्थापनाको एक वर्ष पूरा भएको उनले बताए।
अब संस्थालाई औपचारिक इन्स्टिच्युटका रूपमा प्रभावकारी ढंगले अघि बढाउनुपर्नेमा लामिछानेले जोड दिए। विशेषगरी सर्भेयरको लाइसेन्स प्राप्त गर्नुअघि आवश्यक परीक्षा, तालिम तथा अन्य प्रक्रियामा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो।
उनले सर्भेयरको व्यावसायिक दक्षता अभिवृद्धिका लागि पाठ्यक्रम विकास, तालिम सञ्चालन तथा अनुसन्धानलाई संस्थाको प्राथमिकतामा राख्न सुझाव दिए। बीमा नियमावलीमा समेत प्राधिकरणबाट मान्यता प्राप्त निकाय वा संस्थाबाट तालिम प्राप्त गरेको हुनुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए।
लामिछानेले बीमा सर्भेयरसँग सम्बन्धित विद्यमान विसंगति र अन्योल हटाउन पनि अनुसन्धान आवश्यक रहेको बताए। विशेषगरी सर्भेयरका चारवटा पोर्टफोलियो भए पनि कुन पोर्टफोलियोका लागि कस्तो जनशक्ति आवश्यक हुन्छ भन्ने विषयमा अझै स्पष्टता आवश्यक रहेको उनले उल्लेख गरे। यस विषयमा अनुसन्धान गरी प्राधिकरणलाई नीतिगत सुझाव दिन संस्थाले भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
त्यस्तै, मोटर बीमामा तेस्रो पक्षको कभरेज सीमा वृद्धि भइसकेको सन्दर्भमा त्यसको बीमा शुल्कमा पर्ने प्रभावबारे तथ्यमा आधारित अध्ययन गर्नुपर्ने उनले बताए। उपचार खर्च तथा मृत्यु भएमा प्रदान गरिने रकम बढेकाले त्यसको प्रभाव बीमा शुल्कमा कस्तो पर्छ भन्ने विषयमा तथ्यांक र विगतको दाबी इतिहासका आधारमा अनुसन्धान गर्नुपर्ने उनले उल्लेख गरे।
“यस्ता रिसर्चका प्रतिवेदनका आधारमा प्राधिकरणले नीतिगत निर्णय लिन सक्छ,” लामिछानेले भने। बीमा क्षेत्रका वास्तविक समस्या पहिचान गरी तथ्यमा आधारित सुझाव र अनुसन्धान प्रतिवेदन तयार गर्न सके त्यसले नियामक निकायको नीति निर्माणमा समेत सहयोग पुग्ने उनले बताए। यसका लागि रिसर्च इन्ष्टिच्युटले सर्भेयरको क्षमता विकाससँगै अनुसन्धानलाई पनि संस्थागत प्राथमिकता बनाउनुपर्नेमा उनले जोड दिए।
नेपाली सर्भेयरलाई हवाई बीमाको संयुक्त सर्भेमा सहभागी गराउनु पर्छ: बैद्धवार
नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैद्धवार क्षेत्रीले नेपालको बीमा क्षेत्रलाई थप व्यवस्थित, सक्षम र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन नियामक निकाय, बीमा कम्पनी, सर्भेयर, एक्चुअरी तथा सम्बन्धित संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै बैद्धवारले बीमा क्षेत्रमा विभिन्न संस्था स्थापना भइसकेकाले अब तिनको सामूहिक ज्ञान, सीप र अनुसन्धानलाई उपयोग गर्नुपर्ने बताए।
उनले बैंकिङ क्षेत्रपछि नेपालको वित्तीय क्षेत्रमा बीमा क्षेत्रले महत्वपूर्ण स्थान बनाउँदै गएको उल्लेख गर्दै आगामी दिनमा क्षेत्रको विकाससँगै नयाँ चुनौतीसमेत थपिने बताए। ती चुनौतीको सामना गर्न नियामक निकाय, बीमक, सर्भेयर, अभिकर्ता, एक्चुअरीलगायत सबै सरोकारवालाबीच सहकार्यको आवश्यकता रहेको उनको भनाइ थियो।
नेपाली सर्भेयरको क्षमता
बैद्धवारले नेपालका सर्भेयरहरूले ठूला विपद्का समयमा आफ्नो दक्षता प्रमाणित गरिसकेको बताए। भूकम्प, बाढी, कोभिड–१९ महामारी तथा जाजरकोट भूकम्पजस्ता विपद्का समयमा सर्भेयरहरूले जोखिम मूल्यांकन गरी बीमा दाबी फर्स्यौटमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।
उनका अनुसार कतिपय ठूला जोखिममा पुनर्बीमा सम्झौताका प्रावधानका कारण विदेशी सर्भेयरसँग संयुक्त रूपमा काम गर्नुपर्ने अवस्था आए पनि नेपाली सर्भेयरहरू ठूलो स्तरका जोखिम मूल्यांकन गर्न सक्षम भइसकेका छन्।
उनले हवाई बीमासम्बन्धी दुर्घटनामा समेत नेपाली सर्भेयरलाई सह-सर्भेयर वा संयुक्त सर्भेयरका रूपमा सहभागी गराउने व्यवस्था गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरे।
“यति सक्षम क्षेत्रलाई हवाई बीमाको दुर्घटना हुँदा नेपाली सर्भेयरलाई को-सर्भेयर वा जोइन्ट सर्भेयरका रूपमा किन संलग्न गराउन नसक्ने?” उनले प्रश्न गरे। यस्तो व्यवस्था गरिए नेपाली सर्भेयरको दक्षता अझ बढ्ने र देशभित्रै विशेषज्ञता विकास हुने उनको भनाइ थियो।
नेपालमै विपद् जोखिमको मोडल विकास गर्नुपर्ने
बैद्धवारले नेपाल भूकम्प र बाढीको उच्च जोखिममा रहे पनि यी जोखिमको मूल्यांकन र मूल्य निर्धारणका लागि आफ्नै वैज्ञानिक मोडल विकास गर्न नसकिएको बताए।
विदेशी सम्मेलन तथा कार्यक्रममा विभिन्न देशले आफ्ना जोखिमका आधारमा तयार गरेका मोडल प्रस्तुत गर्ने गरेको उदाहरण दिँदै उनले नेपालले पनि भूकम्प, बाढी तथा अन्य प्राकृतिक विपद्का लागि आफ्नै जोखिम मोडल विकास गर्नुपर्नेमा जोड दिए।
हाल विदेशी एक्चुअरीले गरेको अनुमान तथा प्रक्षेपणका आधारमा बीमा दर र पुनर्बीमा सम्बन्धी व्यवस्था गर्नुपर्ने अवस्था रहेको भन्दै उनले नेपालमै अनुसन्धानमा आधारित मोडल विकास गर्न सके बीमा कम्पनी र नियामक दुवैलाई फाइदा पुग्ने बताए।
यसका लागि अनुसन्धान संस्थाहरूलाई नेपाल बीमा प्राधिकरणले गम्भीर र व्यापक अध्ययनका लागि प्रोत्साहन गर्नुपर्ने उनको सुझाव थियो। अनुसन्धानमा लाग्ने खर्च बीमा क्षेत्रका विभिन्न संस्था र सरोकारवालाले सहकार्य गरेर व्यहोर्न सकिने उनले बताए।
विपद् व्यवस्थापन निकायसँग सहकार्यको प्रस्ताव
बैद्धवारले बीमा क्षेत्रसँग सम्बन्धित अनुसन्धानलाई विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसँग जोड्नुपर्ने बताए। विपद् भइसकेपछि क्षति मूल्यांकन र दाबी फर्स्यौट मात्र नभई विपद् आउनुअघि नै जोखिम तथा सम्भावित क्षति न्यूनीकरणका उपाय पहिचान गर्नुपर्ने उनको भनाइ थियो।
यसका लागि अनुसन्धान संस्थाले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसँग सम्बन्धित सरकारी तथा अन्य संस्थासँग सहकार्य गरी अध्ययन अघि बढाउन सक्ने उनले बताए।
उनले बीमक संघ, सर्भेयर एसोसिएसन, एक्चुअरीलगायत संस्थालाई एउटै अनुसन्धानमुखी संरचनामा जोडेर बीमा क्षेत्रका साझा समस्या पहिचान र समाधानका लागि काम गर्नुपर्नेमा समेत जोड दिए।
बीमा नीति निर्माणमा अनुसन्धानको आधार आवश्यक
बीमा नीति, बीमा उत्पादन तथा दाबी मूल्यांकनका विषयमा अनुसन्धानमा आधारित सिफारिस आवश्यक रहेको बैद्धवारले बताए।
इन्जिनियरिङ बीमामा अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै उनले प्राविधिक संस्थाहरूको अध्ययन तथा सिफारिसका आधारमा बीमा नीति र क्लज विकास गर्न सकिने बताए। नेपालमा पनि यस्ता अनुसन्धानमार्फत प्राधिकरणलाई बीमा पोलिसी डिजाइन, दाबी मूल्यांकन तथा अन्य प्राविधिक विषयमा सिफारिस गर्न सकिने उनको भनाइ थियो।
यस्तो अनुसन्धानले नियामक निकायलाई नीति निर्माणमा सहज बनाउने र सरोकारवालाबाट सुझाव लिनसमेत आधार तयार गर्ने उनले बताए।
बीमक संघमा प्राविधिक समिति गठन
बैद्धवारले नेपाल बीमक संघले बीमा क्षेत्रका विभिन्न प्राविधिक विषयमा अध्ययन तथा सुझाव दिन प्राविधिक समिति गठन गरेको जानकारी दिए।
उनका अनुसार संघमा अन्डरराइटिङ, एनएफआरएस तथा वित्तीय विषय, दाबी र पुनर्बीमालगायत विषयमा प्राविधिक उपसमिति गठन गरिएको छ। ती समितिले सम्बन्धित विषयमा अध्ययन गरी संघलाई आवश्यक सुझाव तथा प्रतिवेदन उपलब्ध गराउँदै आएको उनले बताए।
थर्ड पार्टी बीमाको प्रिमियम निर्धारणसम्बन्धी विषयमा समेत संघको प्राविधिक उपसमितिले अध्ययन गरी प्रतिवेदन तयार गरिसकेको उनले जानकारी दिए।
त्यस्तै, नेपाल सरकारले गठन गरेको बीमा सुधार कार्यदललाई संघले करिब २४–२५ बुँदामा सुझाव दिएको उनले बताए। अनुसन्धान केन्द्रमा तयार भएका अध्ययन, प्रतिवेदन र तथ्यांकलाई भविष्यमा नीति निर्माण तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुतीकरणका लागि समेत उपयोग गर्न सकिने उनको भनाइ थियो।
जलविद्युत बीमाको चुनौती
बैद्धवारले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको जलविद्युत क्षेत्रको बीमा र पुनर्बीमाका लागि पर्याप्त तथ्यांक तथा जोखिम अध्ययनको अभाव रहेको बताए।
नेपालमा हाल करिब ४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता विकास भइसकेको र आगामी पाँच वर्षमा १० हजार मेगावाट पुर्याउने सरकारी लक्ष्य रहेको उल्लेख गर्दै उनले यति ठूलो पूर्वाधारको बीमा व्यवस्थापनका लागि पर्याप्त जोखिम तथ्यांक आवश्यक रहेको बताए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरू जलविद्युत क्षेत्रमा ठूलो लगानी गर्न तयार भए पनि जलविद्युत आयोजनाको जोखिम मूल्यांकन, पुनर्बीमा र जोखिम हस्तान्तरणका लागि आवश्यक विस्तृत तथ्यांकको अभाव छ। यही कारण कतिपय जोखिम तेस्रो मुलुकका गैररेटेड पुनर्बीमा बजारमा राख्नुपर्ने अवस्था रहेको उनले बताए।
ठूलो प्राकृतिक विपद्का कारण क्षति भएमा यस्ता पुनर्बीमा व्यवस्थाबाट दाबी रकम असुल गर्न चुनौती हुन सक्ने भन्दै उनले यसलाई बीमा क्षेत्रका लागि गम्भीर विषयका रूपमा प्रस्तुत गरे।
हाइड्रोपावर पूलको बहस
जलविद्युत क्षेत्रको जोखिम व्यवस्थापनका लागि हाइड्रोपावर पूल गठन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए। तर त्यसका लागि आयोजनासम्बन्धी विस्तृत तथ्यांक आवश्यक रहेको उनले बताए।
बीमा कम्पनीसँग आयोजनाको बीमाङ्क र दाबीसम्बन्धी तथ्यांक भए पनि आयोजना कति मेगावाटका छन्, कुन उचाइमा अवस्थित छन्, कस्तो भौगोलिक संरचनामा छन्, कुन ढलानमा छन् तथा हिमनदीबाट प्रभावित हुने नदी प्रणालीसँग कति सम्बन्धित छन् भन्नेजस्ता विवरण पर्याप्त रूपमा उपलब्ध नभएको उनले बताए।
यस्ता तथ्यांक संकलन गरी वैज्ञानिक अध्ययन गर्न सके जलविद्युत जोखिमको उचित मूल्य निर्धारण गर्न र बीमा उत्पादनलाई मानकीकरण गर्न सहज हुने उनको भनाइ थियो।
अध्यक्ष बैद्धवारले अनुसन्धान संस्थाहरूलाई यस्ता विषयमा विस्तृत अध्ययन गरी नीति तथा जोखिम व्यवस्थापनका लागि सिफारिस गर्न आग्रह गरे। अनुसन्धानका लागि आवश्यक स्रोत र खर्चमा नेपाल बीमा प्राधिकरण, बीमक संघ तथा सम्बन्धित उद्योगले सहकार्य गर्न सक्ने उनले बताए।
“अनुसन्धानमा आधारित निष्कर्षले बीमा क्षेत्रको नीति निर्माण, जोखिम मूल्यांकन, पुनर्बीमा व्यवस्थापन र नयाँ बीमा उत्पादन विकासमा दीर्घकालीन आधार तयार गर्छ,” उनले भने।
उनले बीमा क्षेत्रको दिगो विकासका लागि नियामक, बीमक, सर्भेयर, एक्चुअरी, अनुसन्धान संस्था र अन्य सरोकारवालाबीच हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई संबोधन गर्दै NIRMA का उपाध्यक्ष उदय अधिकारीले गैरनाफामूलक संस्थाका लागि वित्तीय स्रोत जुटाउनु प्रमुख चुनौती रहेको बताए। संस्थालाई दिगो रूपमा अघि बढाउन उपयुक्त रणनीतिक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै उनले NIRMA ले हरेक वर्ष अनुसन्धान जर्नल प्रकाशन गर्दै आएको र आगामी दिनमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
NISA का अध्यक्ष ऋषिराम कोइरालाले सर्भेयर पेशालाई अनुसन्धानसँग जोड्दै अघि बढाउन रिसर्च इन्ष्टिच्युटले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। संस्थालाई सफलतापूर्वक अघि बढाउने क्रममा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै निरञ्जन खकुरेलले बीमा क्षेत्रमा जोखिम व्यवस्थापनसम्बन्धी अनुसन्धानलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यले रिसर्च इन्ष्टिच्युट स्थापना गरिएको बताए। संस्थाले सर्भेयर तथा बीमा क्षेत्रसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गर्नुका साथै अनुसन्धान जर्नल प्रकाशन गर्न सक्ने उनले उल्लेख गरे।
अनुसन्धानका लागि नेपाल बीमा प्राधिकरण र इन्ष्टिच्युटबीच द्विपक्षीय सहमति गरेर अघि बढ्ने पहल भइरहेको खकुरेलले जानकारी दिए। विशेषगरी ‘लो एसेसमेन्ट’ तथा ‘रिस्क डिस्प्युट’ जस्ता विषयमा अनुसन्धान आवश्यक रहेको उनको भनाइ थियो।
यसैगरी, NISA का निवर्तमान अध्यक्ष तथा रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्सका संस्थापक अध्यक्ष मोहनपुरुष ढकालले संस्थाको स्थापनादेखिको पृष्ठभूमिबारे जानकारी गराएका थिए। बीमा प्राधिकरणले लामो समयदेखि अनुसन्धानमूलक संस्थाको आवश्यकता औंल्याउँदै आएको र बुटवलमा आयोजित एक कार्यक्रम पछिको छलफल पछि संस्थाको स्थापनाको प्रक्रिया अघि बढाइएको उनले बताए।
ढकालका अनुसार त्यसपछि विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेर संस्थाको संरचना निर्माण गरिएको हो। उनले संस्थालाई ‘जन्म दिने’ काम पूरा भएको र अब यसको पालनपोषण तथा विकास गर्ने जिम्मेवारी सम्बन्धित सबै पक्षको रहेको बताए।
संस्थाले सर्भेयरसँग सम्बन्धित विषयमा अनुसन्धान, प्रोजेक्ट वर्क तथा आवश्यक रणनीति विकास गर्ने तयारी गरिरहेको उनले जानकारी दिए। संस्थाको सदस्यता विस्तारका लागि समेत आवश्यक संयन्त्र विकास भइरहेको र सर्भेयर तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको आवश्यकता र इच्छाअनुसार सदस्यता अभियान अघि बढाइने उनले बताए।
सर्भेयरहरू विभिन्न विषयका विज्ञ भए पनि व्यावहारिक काम र अनुसन्धानका बीच केही अन्तर रहेको उल्लेख गर्दै ढकालले त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए। विभिन्न क्षेत्रमा सर्भेयरहरूले हासिल गरेको अनुभव र परीक्षणलाई दस्तावेजीकरण गर्दै अनुसन्धानका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।
संस्थाले आगामी दिनमा अनुसन्धान, तालिम, प्रकाशन तथा परियोजना कार्यमार्फत सर्भेयर पेशाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। साथै, बीमा प्राधिकरण, सर्भेयरसँग सम्बन्धित संघ संस्था तथा अनुसन्धानमूलक संस्थासँग सहकार्य विस्तार गर्दै बीमा क्षेत्रमा जोखिम मूल्यांकन र व्यवस्थापनसम्बन्धी अनुसन्धानलाई थप व्यवस्थित बनाउने तयारी गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)







.jpg)

प्रतिक्रिया