सानिमा, एनएमबी र सिद्धार्थ बैंकका कर्मचारीले पाए दुई महिनाको अग्रिम बोनस
- BFIS News
- 2026 Jul 23 13:05
काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई अग्रिम बोनस वितरण गर्न थालेका छन्। चालु आर्थिक वर्षको सुरुआतसँगै केही बैंकहरूले कर्मचारीलाई बोनसको पहिलो किस्ता उपलब्ध गराएका हुन्।
यसक्रममा सानिमा बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकले आफ्ना कर्मचारीलाई गत आर्थिक वर्षको नाफाबाट दुई महिनाको तलबबराबरको अग्रिम बोनस वितरण गरेका छन्। बैंक स्रोतका अनुसार यी तीन वाणिज्य बैंकले साउनको पहिलो साताभित्र कर्मचारीको खातामा अग्रिम बोनस जम्मा गरिसकेका छन्।
बैंक स्रोतका अनुसार अन्तिम नाफाको आधारमा कर्मचारीले थप बोनस पनि पाउने सम्भावना रहेको छ। तर हालका लागि कुल बोनसको केही अंश मात्र वितरण गरिएको हो। बाँकी बोनस भने नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भई वार्षिक साधारणसभा (एजीएम)मा पेश गर्ने अनुमति प्राप्त भएपछि वितरण गरिनेछ।
यस्तै, ज्योति विकास बैंकले पनि गत आर्थिक वर्षको नाफाबाट आफ्ना कर्मचारीलाई तीन महिनाको तलबबराबरको अग्रिम बोनस उपलब्ध गराएको छ। बैंकले पनि साउनको पहिलो सातामै बोनस वितरण गरेको हो।
ज्योति विकास बैंकका कर्मचारीले पनि बैंकको अन्तिम नाफाका आधारमा थप बोनस पाउन सक्नेछन्। यद्यपि अहिलेका लागि बोनसको एक हिस्सा मात्र वितरण गरिएको बैंक स्रोतले जनाएको छ। बाँकी बोनस राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि वार्षिक साधारणसभाको प्रक्रियासँगै वितरण गरिनेछ।
नेपालको बोनस ऐन अनुसार नाफा कमाउने प्रत्येक संस्थाले कर्मचारी बोनसका लागि आफ्नो खुद नाफाको निश्चित हिस्सा छुट्याउनुपर्ने व्यवस्था छ। ऐनको दफा ५ ले प्रत्येक नाफामूलक संस्थाले एक आर्थिक वर्षमा आर्जित खुद नाफाको १० प्रतिशत रकम कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ।
यही कानुनी व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष समाप्त भएपछि कर्मचारीलाई बोनसको एक हिस्सा अग्रिम रूपमा वितरण गर्ने र बाँकी रकम वित्तीय विवरण स्वीकृत भई वार्षिक साधारणसभा सम्पन्न हुने चरणमा उपलब्ध गराउने अभ्यास रहँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया